दिवाखाजाका लागि ३० रुपियाँ माग

हेटौंडा/शिक्षाक्षेत्रका असल अभ्यास र आगामी दिनमा गर्न बाँकी सुधारको माग राख्दै एकीकृत अखिल नेपाल शिक्षक संगठन नगर कार्यसमिति हेटौंडाले उपमहानगर प्रमुख मीनाकुमारी लामालाई ध्यानाकर्षणपत्र बुझाएको छ । शुक्रबार संगठन अध्यक्ष विष्णुहरि गौतमसहित टोलीले नगर प्रमुख लामालाई पालिकामा ध्यानाकर्षणपत्र बुझाएको हो ।

दिवाखाजाका लागि प्रतिविद्यार्थी ३० रुपियाँ उपलब्ध गराउन र १–८ कक्षासम्म व्यवस्था गर्न, ‘एक शिक्षक–एक ल्यापटप’, शिक्षक, कर्मचारीलाई पेशागत् तथा क्षमता विकास तालिम व्यवस्था, आधारभुत विद्यालयमा स्वास्थ्यकर्मी तथा औषधि व्यवस्था, स्थायी दरबन्दीसहित तहगत् प्रधानाध्यापक व्यवस्था, शिक्षकलाई उचित खाजाभत्ता, ४ कक्षादेखि ९ र ११ कक्षाको सम्पूर्ण परीक्षा तथा कक्षा–१० र १२ को त्रैमासिक तथा अर्धवार्षिक परीक्षाको प्रश्नपत्र निर्माण तथा उत्तरपुस्तिका छपाइ उपमहानगरपालिकाको लागतमा हुनुपर्नेलगायत माग राख्दै नगर प्रमुलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।

आगामी दिनमा पालिकाका कुनै एक सामुदायिक विद्यालयलाई नमूना घोषणा, भौगोलिक कठिनाइका कारण पठनपाठनमा असुबिधा भएका बालबालिकालाई आवासीय सुबिधासहित छात्रावास वा बस व्यवस्था, खेलकुद शिक्षक व्यवस्था, ईसीडी शिक्षकलाई प्राथमिक शिक्षकसरह सेवासुबिधा उपलब्ध गराउन माग गरिएको छ । संगठनले शिक्षक महिला सुत्केरी बिदामा रहँदा सट्टा शिक्षकको व्यवस्था गर्नु, शिक्षक बैंक व्यवस्था, न्यून विद्यार्थी भएका विद्यालय मर्ज, एसईईमा ननग्रेडेड विद्यार्थीका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्नुलाई उपमहानगरको असल अभ्यासको रुपमा औंल्याइएको छ ।