12.1 C
Makwānpur
Homeमुख्य समाचाररजैया–नवलपुर रिङरोडको परिकल्पना
spot_img

रजैया–नवलपुर रिङरोडको परिकल्पना

spot_img

हेटौंडा/चितवनका सात पालिका एवम् छिमेकी दुई पालिकाले शैक्षिक तथा आर्थिक विकासका क्षेत्रमा आवश्यक समन्वय र सहकार्य गर्दै अघि बढ्ने सहमति जनाएका छन् ।
कालिका नगरपालिकाले आयोजना गरेको अन्तरस्थानीय तह समन्वयात्मक बैठक तथा अन्तर्क्रिया कार्यक्रममा सहकार्य गर्दै अगाडि बढ्ने सहमति जनाइएको हो । सहभागी जनप्रतिनिधिहरुबीच संयुक्तरुपमा फोहर व्यवस्थापन गर्ने, चेपाङलगायत विपन्न बालबालिकाको शिक्षादीक्षाका लागि संयुक्तरुपमा काम गर्ने, भूमि वर्गीकरणमा एकरुपता ल्याउने, त्रिशुली डाइभर्सनको काम, शक्तिखोरको औद्योगिक क्षेत्र यथाशीघ्र बनाउन पहल गर्नेलगायत एजेण्डाहरुमा अन्तर्क्रिया गरिएको थियो ।
जिल्ला समन्वय समिति चितवन प्रमुख नारायणप्रसाद अधिकारीले सबै पालिका मिलेर संयुक्तरुपमा काम गर्न सके शैक्षिक, सामाजिक तथा आर्थिक विकासका कार्यहरुमा सहज हुने बताए । कतिपय काम संयुक्तरुपमा गर्दा व्ययभार पनि कम हुने उनको भनाइ थियो । कालिका नगरपालिका प्रमुख बिनोद रेग्मीले जिल्लामा रहेका गौरवका आयोजना सम्पन्न गर्न र थप आयोजना भित्र्याउनका लागि संयुक्त प्रयास गर्नुपर्ने बताए । कृषि उत्पादनको बजारीकरण, पर्यटन क्षेत्रको प्रवद्र्धन तथा समग्र जिल्लालाई जोड्ने गरी रिङरोडको अवधारणाअनुरुप चितवन राष्ट्रिय निकुञ्जमा गैंडा हेर्न आउने पर्यटकको बसाइ लम्ब्याएर ट्रेकिङमार्फत् जिल्लाका पहाडी चेपाङबस्तीसम्म पुर्‍याउन जरुरी रहेको उनको भनाइ छ ।
खैरहनी नगरपालिका प्रमुख शशिकुमार खनियाँले त्रिशुली डाइभर्सनको योजनालाई अगाडि बढाउन सकिए कालिका, रत्ननगर, खैरहनी र राप्तीले पानी र बाटोबाट लाभ लिनसक्ने बताए । पालिकाहरुबीच समन्वय हुनसके भण्डारा–मलेखु मार्ग र रजैया–नवलपुर मार्गमार्फत् रिङरोडको परिकल्पना पूरा गर्न सकिने उनको भनाइ थियो ।
पालिकाहरुले संयुक्तरुपमा फोहर व्यवस्थापन, दमकल र पर्यटनमार्फत् सहकार्य गर्न जरुरी रहेको उनले बताए । खैरहनीमा रहेको कृषि क्याम्पसलाई सञ्चालन तथा व्यवस्थापनका विषयमा पनि सबै पालिकाले पहल गर्नुपर्ने र शक्तिखोरआसपास १ सय ७५ उद्योगलाई पनि शक्तिखोर औद्योगिक क्षेत्रसँग जोड्नुपर्नेमा उनले जोड दिए ।
रत्ननगर नगरपालिका प्रमुख प्रह्‌लाद सापकोटाले आफूहरुले चाहेर पनि राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गर्न नसकिने भन्दै पूरा गर्न सकिने एजेण्डाका विषयमा मात्र छलफल गर्न आवश्यक रहेको बताए । उनले भने–चेपाङ तथा विपन्न बालबालिकालाई आवासीय सुबिधासहित छात्रावास बनाउने विषयमा रत्ननगर नगरपालिकाले अगुवाइ गर्न तयार छ । एकै स्थानमा आवासीय सुबिधासहित विपन्न बालबालिकालाई व्यवस्थापन गर्न सक्यौं भने शिक्षाबाट कोही पनि वञ्चित हुननपर्ने र हरेक पालिकामा देखिएको समस्या पनि हल हुने उनको भनाइ थियो ।
बैठकमा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले पालिकाहरु साझा विकास मोडलका रुपमा जानु आवश्यक रहेको बताए । खाद्यान्न, भुविकास, सिचाईं, पानी, चक्रपथ कनेक्टिभिटी, सिमानामा विकास, खेल, पर्यटन र आर्थिक विकासका विषयमा साझा विकास मोडल उपयुक्त रहेको उनको भनाइ थियो ।
माडी नगरपालिका प्रमुख ताराकाजी महतो, इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, राप्ती नगरपालिका उपप्रमुख देवेन्द्र लामा, धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ललगायत पालिकाका उपप्रमुख, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र पालिकाका महाशाखा प्रमुखहरुले आफ्‌नो धारणासहित सुझाव प्रस्तुत गरेका थिए ।
कालिका नगरपालिकाले दोस्रोपटक पालिकाहरुबीच समन्वयात्मक बैठक गरेको हो । छलफलपश्चात् जिल्लाका पहाडी क्षेत्रमा उत्पादन हुने गाँजाखेतीलाई नष्ट गर्ने काम बन्द गरी कानुनतः खेती गर्न पाउने व्यवस्था गर्न आवश्यक पहल गर्ने विषयमा पनि बैठकमा छलफल भएको कालिका नगरपालिका प्रमुख रेग्मीले जानकारी दिए । कार्यक्रममा उठाइएका विषयहरुलाई दुई महिनाभित्र एकताबद्ध गरी विकासका लागि योजनाबद्ध खाका बनाएर अर्को बैठक रत्ननगर नगरपालिकाको आयोजनामा बस्ने सहमति भएको छ । कालिका नगरपालिका वरिष्ठ लेखा अधिकृत ऋषिप्रसाद कटुवालले सञ्चालन गरेको कार्यक्रममा उपप्रमुख बिमला तामाङ, प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईं, महिला तथा बालबालिका शाखा प्रमुख सम्झना ढकालले मन्तव्य राखेका थिए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि