हेटौंडा/डिभिजन बन कार्यालय राप्ती, मनहरीको आयोजनामा राष्ट्रिय बन संरक्षण तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत् सबडिभिजनस्तरीय योजना तर्जुमा गोष्ठी भएको छ । कैलाश गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा डिभिजन बन कार्यालय राप्ती प्रमुख हेमबहादुर थापाको सभाध्यक्षता तथा पालिका उपाध्यक्ष बालकुमार मल्लठकुरीको प्रमुख आतिथ्यता थियो ।
कार्यक्रममा उपाध्यक्ष मल्लले कैलाशको भुगोल, वातावरण र त्यहाँको वस्तुस्थिति हेरेर योजना निर्माण गर्नुपर्ने बताए । ‘हिजोको अवस्था भन्दा हालको अवस्था अलि फरक छ । उपभोक्ता समिति परिचालन गरी बनक्षेत्रको काम गर्नुपर्छ,’ उनले भने । प्रत्यक्ष बन समूहका समितिलाई जोडेर योजना तर्जुमा गरिए अझ सहजता रहनेमा उनले जोड दिए ।
पालिकाले बनऐन निर्माण गरिसकेको छ । पालिकाले आवश्यकताअनुरुप बनक्षेत्र, कृषि, उद्यमका कार्यक्रम योजनामा समेट्दै काम गरिने प्रतिवद्धता उनले जनाए । पालिकाले डिभिजन बनसँगको सहकार्य र समन्वयमा योजनाहरु बनाइ कार्यान्वयन गर्ने उनले बताए । कार्यक्रममा बन कार्यालय प्रमुख थापाले आफ्नो कार्यक्षेत्रमा ८ वटा सबडिभिजन कार्यालय रहेको बताए । ॅक्षेत्रभित्र सामुदायिक, धार्मिक, कबुलियत र निजी बनहरु छन् । उनीहरुसँग गोष्ठी गरी योजना संकलनसहित आगामी दिनहरुमा योजना बनाउने गरेका छौं,’ उनले भने । बनमा चोरीशिकारी र वन्यजन्तु शिकारीहरु पनि बढ्दो अवस्था रहेको बताउँदै पालिकासँगको सहकार्यमा डिभिजन बन कार्यालय तत्पर रहेको बताए । दाउराको प्रयोग कमीले बनक्षेत्र अब काठका लागि उद्योगसँग मात्र जोडिएको उनले बताए ।
कार्यक्रममा सबडिभिजन बन कार्यालय कैलाशका बन अधिकृत वीरबहादुर योञ्जनले योजना तर्जुमाका उद्धेश्यहरु, डिभिजनबाट सञ्चालित मुख्य कार्यक्रमहरु र आगामी आव २०८३/०८४ का लागि सम्भावित/प्रस्तावित कार्यक्रमहरुबारे जानकारी गराएका थिए । कार्यक्रममा पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत समीर जोशी, योजना शाखा प्रमुख विक्रमबहादुर थिङलगायत विभिन्न शाखाका प्रमुख, सामुदायिक बन उपभोक्ता समूह अध्यक्ष एवम् प्रतिनिधिहरुको सहभागिता थियो । कैलाशमा ३ कबुलियत बनसहित २४ वटा सामुदायिक बन छन् । गोष्ठीमा विभिन्न समूह बनाइ बनसँग जोडिएका विभिन्न योजनाहरु तय गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस









