हेटौंडा/ राष्ट्रियसभा निर्वाचन माघ ११ गतेका लागि तय भएको छ । देशभरबाट १८ जना नया“ राष्ट्रियसभा सदस्य निर्वाचित भएर जानेछन् । १८ जनाका लागि हुने निर्वाचनमा बागमती प्रदेशबाट भने २ पदमा निर्वाचन हुने भएको छ । हाल राष्ट्रियसभामा रहेका २ सदस्यहरुको पदावधि सकिन लागेपछि रिक्त पदका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो । बागमती प्रदेशबाट महिला कोटाकी एमालेकी इन्दिरादेवी गौतम र तत्कालीन माओवादी केन्द्रकी गंगाकुमारी बेलवासेको पदावधि फागुनमा सकि“दैछ ।
बागमतीका २ सदस्यसहित देशभर १८ जनाका लागि निर्वाचन तोकिएको हो । यसस“गै राजनीतिक दलहरुमा चुनावी सरगर्मी बढेको छ । दलहरुले राष्ट्रियसभा निर्वाचन र फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेद्वार सिफारिसलाई तीव्रता दिएका छन् । बागमती प्रदेशबाट राष्ट्रियसभामा जाने सदस्यहरुका लागि राजनीतिक दलहरुले उम्मेद्वारी छनौट प्रक्रियालाई तीव्रता दिएका छन् ।
पुस २३ गते राष्ट्रियसभा सदस्यका लागि उम्मेद्वारी दर्ता गर्ने निर्वाचन आयोगको तालिका छ । जसअनुसार दलहरुले आआफ्नो तयारी थालेका हुन् । बागमती प्रदेशका लागि हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयलाई निर्वाचन केन्द्र तोकिसकिएको छ । प्रदेश सांसद् र स्थानीय तहका प्रमुख/उपप्रमुखले मतदान गर्ने राष्ट्रियसभा निर्वाचनमा बागमतीमा कुन दलको पल्लाभारी पर्छ भन्ने विषयले सबैको ध्यान खिचेको छ । राजनीति दलहरुको गठबन्धन नभएको खण्डमा भने हाल प्रदेशमा नेपाली कांग्रेस पहिलो स्थानमा छ । बागमती प्रदेशसभामा ३७ सिट रहेको कांग्रेसको प्रदेशको स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी १ सय ८ सिट छ ।
एमालेको प्रदेशसभामा २७ सिट भने स्थानीय तहमा ६० सिट छ । तत्कालीन नेकपा माओवादी केन्द्रको प्रदेशका २१ छ भने स्थानीय तहमा ५७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदेशसभामा १३ सिट छ भने स्थानीय तहमा १, तत्कालीन नेकपा (एकीकृत समाजवादी) को प्रदेशसभामा ७ सिट हु“दा स्थानीय तहमा ९ सिट छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को प्रदेशसभामा ३ सिट छ भने स्थानीय तहमा २, हाम्रो नेपाली पार्टी (हानेपा) को प्रदेशसभामा २ सिट र एक स्थानीय तहमा १ स्वतन्त्र गरी प्रदेशसभातर्फ १ सय १० सदस्य र स्थानीय तहतर्फ २ सय ३८ प्रमुख/उपप्रमुख मतदाताका रुपमा सहभागी हुनेछन् ।
जसमा दलीय मतभारको अंकगणितमा कांग्रेस सबभन्दा अघि छ । राष्ट्रियसभा निर्वाचनमा प्रदेश सांसद्को मतभार अर्थात् एक मत बराबर ५३ र स्थानीय तहको प्रमुख/उपप्रमुखको एक मत बराबर १९ मतभार हुन आउ“छ । जसमा प्रदेश सांसद् ३७ र स्थानीय जनप्रतिनिधि १ सय ८ गरी नेपाली कांग्रेसको ४ हजार १३ मतभार रहन्छ ।
बागमती प्रदेशमा कुल मतभार १० हजार ३ सय ५२ मध्ये कांग्रेसको ४ हजार भन्दा बढी मतभार रह“दा कांग्रेसपछि दोस्रोमा वर्तमान नेपाली कम्युनिष्ट पार्टी (नेकपा) देखिएको छ । तत्कालीन माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को गरी प्रदेशसभामा नेकपाको २८ सिट हुन आउ“छ । स्थानीय तहतर्फ पनि ६६ सिट हुन्छ । जसकारण नेकपा कांग्रेसपछि दोस्रो शक्तिका रुपमा छ । नेकपाको २ हजार ७ सय ३८ मतभार रहन्छ भने एमालेको मतभार २ हजार ५ सय ७१, राप्रपाको मतभार ७ सय ८, नेमकिपाको मतभार १ सय ९७, हाम्रो नेपाली पार्टीको १ सय ६ मतभार हुन्छ ।
यस अंकगणित हेर्ने हो भने एमाले र तत्कालीन माओवादी केन्द्रले राष्ट्रियसभामा बागमतीतर्फको साख जोगाउन मुस्किल देखिन्छ । दलहरु एकलरुपमा निर्वाचनमा होमिने हो भने बागमतीबाट रिक्त हुने २ सिटमै नेपाली कांग्रेसको पल्लाभारी हुने देखिन्छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते उम्मेद्वारी दर्ताको तालिका छ । स्वीकृत निर्वाचन कार्यक्रमअनुसार पुस १९ गते मतदाता नामावली प्रकाशन हुनेछ भने मतदाता नामावलीउपरको दाबीविरोध तथा निवेदन/उजुरीमाथि छानबिन गरी पुस २२ अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । माघ ११ गते विहान ९ बजेदेखि दिउ“सो ३ बजेसम्म सम्बन्धित मतदानकेन्द्रमा मतदान हुने तालिका छ ।









