हेटौंडा/नेकपा एमालेको ११ औं महाधिवेशनमा बागमती प्रदेशका ३ सांसद् केन्द्रीय सदस्यमा पराजित भए । एमाले अध्यक्ष केपी शर्माओली निकटका ३ सांसद्, जसलाई ओलीले आफ्नो प्यानलमा नराख्दा पराजित भएका हुन् । बागमतीका पूर्वमन्त्रीद्वय प्रकाश श्रेष्ठ र केशबप्रसाद पोखरेल ओलीनिकट हु“दाहु“दै पनि साथ नपाएपछि दुवैजनाले हार व्यहोर्नुपर्यो ।
अध्यक्ष ओलीकै कारण दुई पटकसम्म मन्त्री बनेका श्रेष्ठ र पोखरेललाई महाधिवेशनमा भने आफ्नो प्यानलमा अटाउन सकेनन् । ओली प्यानलमा नअटाएपछि उनीहरु दुवैले प्यानलविहीन अर्थात् स्वतन्त्रतर्फबाट खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेद्वारी दिए । प्यानलबाहिरका उम्मेद्वारीका कारण श्रेष्ठले ४ सय १४ मतमात्र प्राप्त गरे भने पोखरेलको पक्षमा ५ सय ४४ मत खस्यो । दुवैजना केन्द्रीय सदस्यमा पराजित भए ।
एमाले अध्यक्ष ओलीकै निर्देशनमा यही कार्यकालभित्र श्रेष्ठ एकपटक उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री र अर्कोपटक कृषि तथा पशुपक्षी विकास मन्त्री नियुक्त भएका थिए । काठमाडौं २ (९) बाट निर्वाचित श्रेष्ठ ओलीको विश्वासपात्र मानिन्छन् । तर, आफ्नो प्यानलबाट केन्द्रीय सदस्यको टिकट नदिइएपछि पार्टीको केन्द्रीय कमिटीमा डेब्यु गर्ने उनको आकांक्षामा ब्रेक लागेको छ ।
पोखरेल पनि बागमती क्याबिनेटमा दुईपटक मन्त्री बनिसकेका छन् । एकपटक कृषि मन्त्री र अर्कोपटक वन तथा वातावरणमन्त्री बनेका पोखरेल पनि ओलीनिकट नेता मानिन्छन् । २०७९ को आमनिर्वाचनमा काठमाडौंबाट निर्वाचित पोखरेल ओलीकै कारण छोटो समय भए पनि दुई पटकसम्म मन्त्री बन्ने अवसर प्राप्त गरे । तर यी दुवै विश्वासपात्र ओली प्यानलमा नअटाएका कारण प्रदेशका ८ सांसद् केन्द्रीय कमिटीमा पुग्दा २ सांसद् भने पराजित हुनुपरेको हो ।
काठमाडौंका समानुपातिक सांसद् ज्ञानबहादुर तामाङ भने ईश्वर पोखरेल प्यानलबाट समावेशी आदिबासी जनजाति क्लष्टरबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका थिए । उनको पक्षमा ७ सय ५२ मात्र मत खस्दा पराजित भए । तामाङ पनि ओलीनिकट हुन् । तर, केन्द्रीय सदस्यको टिकट नपाएपछि पोखरेल प्यानलबाट उम्मेद्वार बनेको एमाले नेताहरु बताउ“छन् । ओली प्यानलमा अटाएका ८ सांसद् केन्द्रीय कमिटीमा अटाएका छन् भने प्यानल बाहिरबाट र पोखरेल प्यानलबाट उम्मेद्वार बनेका ३ जना पराजित भएका हुन् । एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलिया, प्रमुख सचेतक एकालाल श्रेष्ठ, पूर्वमन्त्री भारती पाठक, सांसद् उर्मिला सुनुवार, शकुन्तला श्रेष्ठ र अमन मास्के केन्द्रीय सदस्य विजयी भएका हुन् । पूर्वमन्त्री कृष्णप्रसाद सिलवाल केन्द्रीय अनुशासन आयोग सदस्यमा निर्वाचित भएका हुन् भने अर्का पूर्वमन्त्री रामेश्वर श्रेष्ठ केन्द्रीय लेखा आयोग सदस्य निर्वाचित भएका हुन् ।









