हेटौंडा/नेपाल सरकारले पहिलो पटक विदेशलाई उपहार दिने घोषणा गरेका दुई हात्तीहरुलाई बिदाइ गरिएको छ । कतार सरकारलाई उपहारस्वरुप प्रदान गर्न तय भएका खगेन्द्रप्रसाद र रुद्रकली हात्तीलाई चितवनबाट बिदाइ गरिएको छ ।
खगेन्द्रप्रसाद र रुद्रकलीलाई सोमबार माला र खादा लगाएर बिदा गरिएको हो । ती दुवै हात्ती चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका हुन् । ती हात्तीहरुलाई कतारको अलखोर चिडियाखानामा पठाइनेछ । आप्mनो बथान छाडेर सुटुक्क अर्को कुनै नौलो भूमिमा जानुपर्दा हात्तीको आर्तनाद हाउभाव हरेक मानिसका लागि स्पात पगाल्ने आगोका तेजिलो लप्काझैं भएको छ ।
पठाउन लागिएकामध्ये खगेन्द्रप्रसाद भनिने भाले हात्ती र रुद्रकली भनिने पोथी हात्ती हुन् । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा जन्मेका दुवै हात्ती त्यहीं हुर्काइएका हुन् । १ हजार ५ सय किलो तौलको रुद्रकली ७ वर्ष २ महिना उमेरकी छ भने १ हजार ६ सय किलो तौलको खगेन्द्रप्रसाद ६ वर्ष १ महिना उमेरको छ । रुद्रकली निकुञ्जको हात्ती पुजाकलीको र खगेन्द्रप्रसाद कोशीकली हात्तीका सन्तान हुन् । तर, दुवैका पिता भने जंगली भाले हात्ती हुन् ।
कार्यक्रममा रत्ननगर नगरपालिका मेयर प्रह्लाद सापकोटा, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललगायत विभिन्न व्यक्तिहरु उपस्थित थिए । दुवै हात्तीलाई चितवनबाट ट्रकमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याएर त्यहा“बाट पुस २ गते कतार एयरवेजको चार्टर्ड विमानबाट खोरसहित हात्तीहरुलाई विमानमा चढाएर कतार लगिने बताइएको छ । हात्तीलाई आवश्यक पर्ने हावापानी अनुकूलता र ढुवानीसमेतलाई मध्यनजर गरी हात्तीलाई भैरहवाबाट हस्तान्तरण गर्न लागिएको हो । पुस २ गते विहान भैरहवामा नेपाल सरकारले कतार सरकारलाई औपचारिकरुपमा हात्ती हस्तान्तरण गर्ने जनाइएको छ ।
हात्ती लोपोन्मुख वन्यजन्तुअन्तर्गत् पर्ने भएकाले यस्ता वन्यजन्तुको ओसारपसार गर्दा दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) पालना गर्नुपर्दछ । यी सबै प्रक्रिया पूरा गरेर हात्ती पठाउन लागिएको निकुञ्जले जानकारी दिएको छ । नेपालले अन्य विभिन्न मुलुकलाई गैंडा उपहार दिएको भए पनि हात्ती दिन लागिएको यो पहिलो पटक हो । सरकारले हालसम्म चीनसहित भारत, अमेरिका, जर्मनी, बंगलादेश, बेलायत, जापान, अस्ट्रियालगायत देशलाई २६ वटा गैंडा उपहार दिइसकेको छ ।
२०८१ बैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको औपचारिक भ्रमणका बेला नेपाल सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने जनाएको थियो । नेपालले साइटिसलगायत प्रक्रिया पूरा गरी २०८१ कात्तिक २ गते मन्त्रिपरिषद्बाट एक जोडी हात्ती उपहारस्वरुप प्रदान गर्ने निर्णय गरेको थियो । त्यही बेला कतार पठाउनका लागि नेपालका तर्फबाट तयारी भए पनि कतारका तर्फबाट कानुनी तथा प्राविधिक कुरा नमिलाइएका कारण कतारका राजा शेखस“ग हात्तीहरु लगिएको थिएन । किनकि, हात्ती दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) को अनुसूचीमा सूचीकृत छ । महासन्धिमा नेपालले पनि हस्ताक्षर गरेको छ ।
कतारमा हात्ती हुर्काउनका लागि हात्तीस“गै नेपालले एक जना भेटरिनरियन प्राविधिक र दुई जना माउतेसमेत एक महिनाका लागि पठाउन लागिएको छ । उनीहरु एक महिनामा हात्ती हुर्काउने तरिका सिकाएर फर्किनेछन् । निकुञ्जले रुद्रकलीका माहुते बुद्धि श्रेष्ठ र खगेन्द्रप्रसादका माहुते पा“चु खा“थारु तथा पशु स्वास्थ्य प्राविधिक दिनेश ढकाललाई पनि कतार पठाउ“दैछ । कतारमा हात्तीको रहनसहन, आहार र हावापानी अनुकूलनबारे नेपालबाट प्राविधिक टोली यसअघि नै पुगेर स्थलगत् अध्ययन गरिसकेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले जानकारी दिए । नेपालमा घरपालुवा हात्ती ७२ छन् भने चितवन राष्ट्रिय निकुञ्जमा ५४ वटा हात्ती छन् । जंगली हात्ती ६५ वटाको हाराहारीमा रहेको अनुमान छ ।









