हेटौंडा/बागमतीमा चालु आर्थिक वर्ष २०८२/०८३ को प्रथम त्रैमासिकमा १ हजार भन्दा बढी नयाँ उद्योग दर्ता भएका छन् । बागमती प्रदेशको उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका अनुसार यस अवधिमा कुल १ हजार ८ सय २९ वटा नयाँ उद्योग दर्ता भएको बताइएको हो । मन्त्रालयका सूचना अधिकारी सुनिल बञ्जाराका अनुसार बागमती प्रदेशमा अधिकांश उद्योगहरू काठमाडौँ उपत्यकामा दर्ता भएका छन् । सो बाहेक चितवन, मकवानपुर र काभ्रेमा धेरै उद्योग दर्ता भएको मन्त्रालयको तथ्यांक छ ।
यस अवधिमा काठमाडौँमा मात्रै ६ सय ७२ वटा उद्योग दर्ता भएका छन् । काठमाडौँपछि धेरै उद्योग दर्ता भएको जिल्ला नुवाकोट रहेको छ । नुवाकोटमा २ सय २८ नयाँ उद्योग दर्ता भएका छन् । मकवानपुरमा १ सय २३ वटा उद्योग दर्ता भएका छन् भने काभ्रेमा २ सय १० वटा उद्योग दर्ता भएको मन्त्रालयको तथ्यांक छ । त्यस्तै ललितपुरमा १ सय ६९ वटा, भक्तपुरमा ९४ वटा, चितवनमा ८९, सिन्धुलीमा ५७, रामेछापमा ३२, दोलखामा ३९, सिन्धुपाल्चोकमा २७, रसुवामा १२ र धादिङमा ७६ उद्योग दर्ता भएको मन्त्रालयका सूचना अधिकारी बञ्जाराले बताए ।
मन्त्रालयका अनुसार यस अवधिमा वाणिज्य तर्फ मात्रै कुल ८ सय ३८ वटा उद्योगहरु दर्ता भएका छन् । वाणिज्यतर्फ पनि सबैभन्दा धेरै काठमाडौँमा २ सय ६६ वटा उद्योग दर्ता भएका छन् । वाणिज्य तर्फ सबैभन्दा कम रसुवामा ५ वटा उद्योग दर्ता भएको मन्त्रालयले दिएको तथ्याकंमा उल्लेख छ । त्यस्तै, मकवानपुरमा १ सय ९, ललितपुरमा ४०, भक्तपुरमा ६१, चितवनमा १ सय २, काभ्रेमा ९७, सिन्धुलीमा ५२, सिन्धुपाल्चोकमा १६, रामेछापमा १०, धादिङमा २०, नुवाकोट ४६, र दोलखामा ३१ वटा नयाँ उद्योग दर्ता भएका छन् ।
यस अवधिमा नयाँ उद्योग, दर्ता, बन्द, संशोधन लगायतबाट कुल ७ करोड २३ लाख ७० हजार २३८ रुपियाँ राजस्व संकलन भएको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बागमतीका सूचना अधिकारी रमेश पौडेलले जानकारी दिए । जसमा सबैभन्दा धेरै काठमाडौँका उद्योगहरुबाट २ करोड ५७ लाख ५० हजार १२ रुपैयाँ राजस्व संकलन भएको छ ।
यस्तै मकवानपुरका उद्योगहरुबाट ५८ लाख ५५ हजार १ सय २५ रुपैँया, चितवनमा ८४ लाख ३४ हजार ७ सय ७५ रुपैयाँ, ललितपुरमा ७७ लाख २३ हजार ९ सय ६९ रुपैँया, काभ्रेमा ६० लाख ५६ हजार ९ सय रुपैयाँ, भक्तपुरमा ३९ लाख ९८ हजार १ सय ५५ रुपैयाँ, नुवाकोटमा ३४ लाख ९६ हजार ४ सय २५ रुपैयाँ, धादिङमा ३० लाख १३ हजार ४१ रुपैयाँ, सिन्धुलीमा १८ लाख ९० हजार २ सय १० रुपैयाँ राजस्व संकलन भएको हो ।
त्यस्तै, सिन्धुपाल्चोकमा १७ लाख ६७ हजार ४ सय २५ रुपैयाँ, दोलखामा १६ लाख ३७ हजार ८ सय २५ रुपैयाँ, रामेछापमा १२ लाख ४६ हजार ६ सय ५० रुपैयाँ, दोलखामा १६ लाख ३७ हजार ८ सय २५ रुपैयाँ र रसुवामा ४ लाख ८४ हजार ३७ रुपैयाँ राजस्व संकलन भएको पौडेलले जानकारी दिए ।
यस अवधिमा उद्योग तथा वाणिज्यबाट भएको बजार अनुगमनबाट नियम विपरित सञ्चालन भएका उद्योग तथा फर्मबाट कुल १२ लाख १३ हजार रुपैयाँ जरिवाना संकलन गरिएको बताइएको छ । प्रदेशमा दर्ता भएका प्रमुख उद्योगहरूमा कपडाका सामान, जीवजन्तुको आहार, छालाका जुत्ता, ऊनको तयारी पोसाक, सुतिको तयारी पोसाक, गलैँचा, पश्मिना, फेल्टका सजावटका सामान, चाउचाउ, पेय पदार्थ, बिस्कुट, इँटा, औषधी र सिमेन्ट उद्योगहरू रहेका छन् ।
बागमती प्रदेशमा गत आर्थिक वर्ष २०८१/०८२ मा औद्योगिक गतिविधि सकारात्मक देखिएको नेपाल राष्टू बैंकले गरेको अध्ययनले देखाएको छ । अघिल्लो साता मात्रै नेपाल राष्टू बैंकले गरेको बागमती प्रदेशको आर्थिक वर्ष २०८१/०८२ को आर्थिक गतिविधि अध्ययनको वार्षिक प्रतिवेदनअनुसार २०८१ साउनदेखि २०८२ को अन्तिम सम्मको अवधिमा प्रदेशमा उद्योग दर्ता, राजस्व संकलन लगायत अन्य औद्योगिक गतिविधि सकारात्मक देखिएको हो । प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षमा उद्योगहरूले कुल ७१ अर्ब ९७ करोड रुपैयाँ बराबरको पुँजी प्रस्ताव गरेका छन् भने २४ हजार ९३ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने अपेक्षा गरिएको छ ।









