हेटौंडा— मकवानपुरको भीमफेदी गाउँपालिका सुपिङमा एक युवाले सुनसान गाउँलाई नयाँ जीवन दिएका छन् । अधिकांश युवा जनशक्ति पछिल्ला वर्षहरुमा रोजगारीको खोजीमा विदेशिने गरेको बेला उनको प्रयास अनुकरणीय छ ।
गाउँका घरहरु सुनसान हुँदै गएका छन् । तर, मकवानपुरको भीमफेदी गाउँपालिकामा एक युवाले भने सुनसान गाउँमा नयाँ जीवन भरेका छन् । बसाईंसराइले खाली भएका घरहरुलाई पुनः चहलपहलमय बनाउँदै उनले गाउँमै व्यावसायिक पर्यटनको नयाँ सम्भावना उजागर गरेका छन् । थाहा नगरपालिकाका स्थायी घर भएका १९ वर्षीय प्रतीक नेपालले होमस्टे सञ्चालन गरेर देशमै केही गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेका हुन् । मकवानपुरको भीमफेदी गाउँपालिका–५, सुपिङ गाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । चारैतिर डाँडाकाँडा, हरियाली, चिसो हावापानी र मौलिक जीवनशैली छ ।
त्यही गाउँमा घुमफिरका क्रममा पुगेका प्रतीकले सम्भावना देखे । गाउँको मौलिकता र प्राकृतिक सुन्दरता नै पर्यटकको आकर्षण बन्नसक्छ भन्ने विश्वास उनीभित्र जाग्यो । त्यसपछि उनले बसाईं सरेर गएकासँग सम्पर्क गरेर खाली घरहरु प्रयोग गर्न अनुमति मागे । गाउँ फर्कन नचाहेका घरधनीहरुले पनि आफ्नो घरको हेरचाह हुने र केही आम्दानी हुने भएपछि खुशीसाथ सहयोग गरे । प्रतीकले ती पुराना घरहरुको मर्मत गरेर सुन्दर होमस्टेमा रुपान्तरण गरे । १० रोपनी जग्गा भाडामा लिएर ४० देखि ५० जनासम्म अतिथि अटाउनसक्ने होमस्टे सञ्चालनमा ल्याइएको छ ।
पहिले सिस्नो र घाँसले घेरिएको घरवरपर हाल फलफूलका बिरुवा लगाइएको छ । लोप हुन लागेका बुर्इंकलसहित घरहरुको भित्तामा सेतो कमेरो र रातोमाटोले लिपिएको छ । ढुंगेधाराको शैलीमा बनेका पानीका धारा, पुराना सन्दुक, ठेकी, जाँतो, हलोजस्ता परम्परागत् सामग्रीले होमस्टेलाई मौलिकरुप दिएको छ ।
रित्तो बस्ती हाल आकर्षक होमस्टेमा परिणत भएको छ । होमस्टेमा प्रयोग हुने सागसब्जी, गुन्द्रक, दाल, अन्न आदि सबै स्थानीय उत्पादन नै प्रयोग गरिन्छ । यसले गाउँका किसानहरुलाई पनि प्रत्यक्ष लाभ पुगेको छ । होमस्टेमा स्थानीयले रोजगारीसमेत पाएका छन् । धेरै अभिभावकले विदेश पठाउन ऋण लिने बेला प्रतीकका बुबा भने गाउँमै सम्भावना खोज्ने छोराको समर्थनमा उभिए । चित्लाङमा पर्यटन व्यवासाय सञ्चालन गरिरहेका प्रतीकका बुबा देवेन्द्र नेपालले आफंैमा सुन्दर सु्िपङलाई नजिकबाट नियाल्न सकिने सकिने गरी होमस्टे सञ्चालनमा ल्याइएको बताए । सुपिङबाट मनमोहक अस्ताउँदो सूर्यको दृष्य देख्न सकिन्छ ।
यसका साथै प्राचीन भीमफेदी बजार, गुप्तेश्वर गुफा, गुम्बा, चिसापनी गढी र हात्तीसार जस्ता ऐतिहासिक महत्व बोकेका पर्यटकीयस्थल नजिक भएकाले सुपिङ घुम्न चितवन, वीरगञ्ज, हेटौंडा र काठमाडौंबाट पर्यटक आउने क्रम बढ्दो छ । देशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिन चाहने प्रतीकले मौलिकता र प्राकृतिक सुन्दरतालाई पर्यटन क्षेत्रको मुख्य आकर्षण बनाएका छन् । सुपिङमा प्रतीकले सुरु गरेको होमस्टेले हाल गाउँको स्वरुपमात्र बदलेको छैन, वर्षांैदेखि सुनसान बस्ती पुनः चहलपहलमय बनेको छ ।









