हेटौंडा/बागमती प्रदेश सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छाप्न ५ वटा मुद्रण मेसिन खरिद गरी स्थापनासमेत गरिसकेको छ । एउटा मेसिनले प्रतिघण्टा करिब १ सय ५० वटा सवारीचालक अनुमतिपत्र छाप्नसक्ने क्षमता भएका मेसिन हाल प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयमातहतको यातायात कार्यालय एकान्तकुना ललितपुरमा थन्किएका छन् ।
असारमा खरिद गरिएका मेसिन सुरक्षण मुद्रण विभागको अनुमति नआउ“दा प्रयोगमा आउन सकेको छैन । बागमतीका यातायात मन्त्री जयराम थापाका अनुसार सवारीचालक अनुमति परीक्षा उत्तीर्ण गरेका तथा नवीकरणका लागि राजस्व तिरेका हजारौं नागरिक अझै लाइसेन्सको पर्खाइमा छन् । बागमती प्रदेशको १२ लाख बढी सवारीचालक अनुमतिपत्र छाप्न बा“की रहेको मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयले गत आर्थिक वर्ष २०८१/०८२ को ४ बैशाखमा टेण्डर खोलेर करिब पा“च करोड रुपिया“मा मेसिन खरिद गरेको मन्त्री थापाले बताए । मन्त्रालयले गत साउनभित्र लाइसेन्स छपाइ सुरु गर्ने लक्ष्य लिएको थियो । यसअघि यातायात व्यवस्था विभागले लाइसेन्सको डिजिटल कार्ड छापेर सम्बन्धित यातायात कार्यालयहरुमा पठाउने गरेको थियो ।
विभागले समयमै लाइसेन्स छापेर यातायात कार्यालयहरुलाई उपलब्ध गराउन नसकेको कार्यालयहरुको गुनासो थियो । ॅआवश्यक राजस्व तिरेर कानुनी प्रक्रिया पूरा गरे पनि लाइसेन्स समयमै नपाउ“दा सेवाग्राहीले असुबिधा भोग्नुपरेको छ,’ मन्त्री थापाले भने–जेनजी प्रदर्शनका क्रममा मन्त्रालय र जिल्लास्थित केही कार्यालयहरु क्षति भएपनि हामीस“ग प्राविधिक तयारी पूरा भइसकेको छ । तर, सुरक्षण मुद्रण विभागको स्वीकृतिबिना कानुनी अड्चन आउने भएकाले लाइसेन्स छपाइ सुरु गर्न नसकिएको हो । सुरक्षण मुद्रण ऐन, २०८१ को दफा ९ को उपदफा ३ मा भएको व्यवस्था बमोजिम प्रदेश सरकारले जनतामुखी सेवाप्रवाहलाई सुदृढ बनाउने लक्ष्यसहित मेसिन खरिद गरेर काम अगाडि बढाएको मन्त्री थापाले जानकारी दिए ।
बागमती प्रदेश सरकारले संघीय सरकारलाई आवश्यक स्वीकृतिका लागि पटकपटक पत्राचार गरे पनि हालसम्म स्पष्ट निर्देशन र निर्णय नआएको मन्त्रालयले जनाएको छ । बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव वीरेन्द्रदेव भारतीले भने–जनताको हितका काममा हामी प्रतिबद्ध छौं । आवश्यक अनुमतिप्राप्त भएलगत्तै छपाइ प्रक्रिया सुरु गर्ने गरी तयारी गरिएको छ । लाइसेन्स छपाइका लागि प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ मा ६ करोड ७५ लाख बजेट विनियोजन गरेको छ ।









