हेटौंडा/नेपालको संविधानले महिला सहभागिताको कुरालाई प्राथमिकतामा राखेको छ । अझ राष्ट्रपति, प्रधानन्यायाधीश र प्रधानमन्त्रीसमेत महिला बनेको देश नेपाल हो । स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय सरका प्रमुख र उपप्रमुखमध्ये एकजना महिला अनिवार्य तोकिएको छ भने हरेक वडामा एकजना दलित महिला सदस्य हुनुपर्ने प्रावधान नै छ ।
तर, यति समावेशी संविधान जारी भएको दिनलाई उत्सव मान्नका लागि पश्चिम मकवानपुरको मनहरीमा आयोजना भएको कार्यक्रममा महिला सहभागिता लगभग शून्य थियो भन्दा फरक पर्दैन । मनहरी अस्पतालमा फलफुल बितरण गर्ने र त्यसपछि रोटरी मार्केटमा दीप प्रज्ज्वलन गर्ने गरी तीन ठूला पार्टीले आयोजना गरेको कार्यक्रममा धन्न मनहरी गाउ“पालिका उपाध्यक्ष सीता पुलामीमगर, एमाले नेतृ बिमला कार्की, माओवादी नेतृ ईश्वरी सुनारले इज्जत बचाइदिए । माओवादीको छुट्टै कार्यक्रम आयोजना भएकाले ती सहभागीहरु पनि कार्यक्रममा मिसिनाले केही महिला सहभागिता देखिन्थ्यो ।
केही दिनअघि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संविधान दिवस मनाउनका लागि बहुदलीय बैठक मनहरी–७ स्थित मनकामना मन्दिरमा आयोजना गरेको थियो । उक्त कार्यक्रममा निम्त्याइएको नेकपा (एकीकृत समाजवादी) भने प्रतिनिधित्व गर्ने पात्र नहु“दा सहभागी नभएको बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने निम्तो थिएन । यसरी बैठक आयोजना गरी आफ्ना आफ्ना पार्टीका मानिसहरु अधिकतम् बाक्लोरुपमा उपस्थित भएर भव्य कार्यक्रम आयोजना गर्ने भनिए पनि महिला सहभागिता लाजलाग्दो देखिएको हो ।
पार्टीहरुमा महिला नभएर होइन, तयारी पूर्णरुपमा नहु“दा यस्तो अबस्था देखिएको राजनीतिक पार्टीका नेताहरुले प्रतिक्रिया दिएका छन् । आगामी दिनमा यस्तो अबस्थालाई सुधारेर लैजाने उनीहरुले बताएका छन् । कार्यक्रमको तयारी अत्यन्त फितलो देखिएको थियो । राष्ट्रियरुपमा मनाइएको संविधान दिवसका लागि तीन ठूला दलहरुले एउटा ब्यानरसमेत बनाएको देखिएन भने तीनजनाले मन्तव्य व्यक्त गरिरह“दा एउटा स्पिकर, माइकसमेत व्यवस्था गर्न सकेन । अरु त अरु राष्ट्रिय झण्डासमेत दलहरुले सम्झेनन् । कार्यक्रममा राष्ट्रिय गान र सहिदको सम्झनामा मौनधारण भने गरिएको थियो ।
कार्यक्रमको व्यवस्थापकीय पक्ष कमजोर भए पनि जेनजी आन्दोलनको बाछिटामा दलहरुले कार्यक्रम आयोजना गर्न सक्नु र संविधानवादको पक्षमा उभिन सक्नु नै उपलब्धि भएको विश्लेषण गरिएको छ । स्मरणीय कुरा के छ भने भदौ २४ गते रोटरी मार्केटमा रहेको नेकपा एमालेको कार्यालय, मनहरी बजारमा रहेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको कार्यालयमा तोडफोड भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु रञ्जन कालाखेती, प्रकाश बर्तौला, ठाकुरराम तितुङ, पदमबहादुर तितुङ, भीमसेन लामासहित नेताकार्यकर्ता सहभागी थिए । नेकपा एमालेका एकराज उप्रेती, हेमलाल उप्रेती, नवीन सुबेदी, बिमला कार्की, वीरेन्द्र डीसी, गौतम लामालगायत नेताकार्यकर्ता र माओवादी केन्द्रका सीता पुलामीमगर, रामहरि सुबेदी, आनन्द घलान, दिलबहादुर स्याङ्बो, प्रकाश थापालगायत नेताकार्यकर्ताको सहभागिता देखिन्थ्यो ।
बिरामीहरुलाई फलफुल
संविधान दिवसको अवसरमा मनहरीमा तीन ठूला राजनीतिक दलहरुले दीप प्रज्ज्वलन र बिरामीहरुलाई फलफुल बितरण गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्तरुपमा संविधान दिवस मनाएका हुन् । संविधान दिवसका अवसर पारेर उनीहरुले शुक्रबार सा“झ मनहरी अस्पतालका बिरामीलाई फलफुल बितरण गरेका थिए भने रोटरी मार्केटमा दीप प्रज्ज्वलन गरेका थिए ।
दीप प्रज्ज्वलन कार्यक्रममा कांग्रेस सभापति प्रकाश बर्तौला, एमाले अध्यक्ष नवीन सुबेदी र माओवादी अध्यक्ष वीरबहादुर घलान आनन्दले सम्बोधन गरे । उनीहरुले संविधानले आमनेपाली जनतालाई अधिकार दिएको भन्दै संविधान मास्ने गतिविधि कदापि मान्य नहुने धारणा राखे । कार्यक्रममा मनहरी गाउ“पालिका अध्यक्ष तथा नेपाली कांग्रेस प्रदेश (ख) समिति सभापति रञ्जन कालाखेती, नेकपा एमाले बागमती प्रदेश सदस्य तथा निवर्तमान मनहरी गाउ“पालिका अध्यक्ष एकराज उप्रेती, नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य तथा मनहरी गाउ“पालिका उपाध्यक्ष सीता पुलामीमगरलगायत जिल्ला तथा गाउ“तहका नेताकार्यकर्ताको सहभागिता थियो ।
नेकपा माओवादी केन्द्रले मनहरी बजारको मुख्य चोकमा छुट्टै दीप प्रज्ज्वलन गरेको छ । राक्सिराङ गाउ“ कमिटी र मनहरी गाउ“ कमिटीको संयुक्त व्यवस्थापनमा दीप प्रज्ज्वलन आयोजना गरिएको नेकपा माओवादी केन्द्रले जनाएको छ । संयुक्त कार्यक्रम आयोजना गर्ने सहमति भए पनि माओवादीले छुट्टै अर्को कार्यक्रम आयोजना गरेपछि निर्धारित कार्यक्रम केही ढिला भएको थियो ।









