सुनिता बिष्ट
हेटौंडा/जेनजी आन्दोलनका क्रममा मंगलबार हेटौंडाका धेरै सरकारी संरचनाहरुमा क्षति भयो । बागमती प्रदेशसभाको नवनिर्मित सभाहल पनि जोगिएन । करिब ४ वर्ष लगाएर १२ करोड २९ लाख लागतमा बनेको बागमती प्रदेशसभाको नवनिर्मित भवन जलेर खरानी भयो ।
प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानिया“ले सदनबाट विश्वासको मत लिने दिन अर्थात् २७ साउनबाट औपचारिक उद्घाटन गरी सञ्चालनमा ल्याइएको थियो । सोपश्चात् प्रदेशसभा भवनबाट जम्मा तीन वटा बैठकमात्र सञ्चालन गरिएको थियो । सधैं सा“घुरो बैठककक्षमा बैठक बसेका सांसद्हरुले बल्ल सुबिधासम्पन्न भवनमा बैठक सञ्चालन गर्ने अवसर प्राप्त गरेका थिए । तर, उद्घाटन भएको महिना दिन पनि नपुग्दै जेनजी आन्दोलनका क्रममा आजगनीबाट भवन पूर्णरुपमा क्षति भयो ।
जेनजी आन्दोलनको दिन प्रदर्शनकारीले भवनमा तोडफोड र आगजनी गरेका थिए । दिनभर आन्दोलन भइरह“दा जोगिएको भवनमा अपराह्नतिरमात्र आगजनी भएको थियो । प्रदर्शनकारीहरुले आगजनीमात्र गरेनन्, भवनभित्रका फर्निचर, क्यामेरा, ल्याप्टप, कम्युटरदेखि टेलिभिजनसम्म चोरी गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीका अनुसार प्रदेशसभा भवनमा रहेका सामग्रीसमेत चोरी भएका हुन् । उनका अनुसार ठूलो संख्यामा आएका प्रदर्शनकारीले सुरुमा नाराबाजी गर्दै ईंटा र ढुंगाप्रहार गरेका थिए । प्रदर्शन उग्र बन्दै गएपछि आन्दोलनकारी पर्खाल र गेट फोडेर प्रदेशसभा भवनभित्र प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए । प्रदेशसभाको नया“ र पुरानो दुवै भवनमा पूर्णरुपमा क्षति पुगेको छ । कांग्रेस संसदीय दलको कार्यालयबाहेक अन्य दलका कार्यालयमा आगजनी र तोडफोड गरिएको छ ।
आगजनीबाट प्रदेशसभाको नया“ भवनको संरचना पूर्णरुपमा ध्वस्त भएको छ । पुरानो भवनको भित्री संरचना, त्यहा“ रहेका सम्पूर्ण फर्निचर, कागजात र भौतिक सामग्री जलेर नष्ट भएका छन् । आगजनीबाट केकति क्षति भयो भन्ने यकिन गर्न नसकिने सचिव दर्जीको भनाइ छ । १० मंसिर २०७७ मा शिलान्यास गरी १८ महिनामा सम्पन्न गर्नुपर्ने भवन निर्माण व्यवसायीको ढिलासुस्तीका कारण साढे चार वर्ष लागेको थियो । दुई चरणमा ठेक्का लगाएर भवनको काम सम्पन्न गरिएको हो ।
निर्माण सम्पन्न भएस“गै भवन २७ साउनबाट सञ्चालनमा आएको थियो । २ सय ५० जना अट्ने सभाहल ईपीएस स्याण्डवीच प्रविधिबाट निर्माण हुने गरी सहरी विकास तथा भवन कार्यालय हेटौंडाको समन्वयमा अर्घाखा“ची–सगुन–पारामाउन्ट जेभीले निर्माण गरेका थिए । उक्त भवन निर्माण नहु“दासम्मको अवस्थामा तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालयको भवनबाट सञ्चालित प्रदेशसभा सचिवालयकै भवनमा बैठककक्ष थियो । प्रदेश स्थापनाको ८ वर्षमा बनेको नया“ भवन सञ्चालनको महिना दिन पनि टिक्न पाएन । त्यतिमात्र होइन, प्रदेशसभाको पुरानो भवन पनि जलेर पूर्णरुपमा क्षति भएको छ । प्रदेशसभा परिसरमा रहेका राजनीतिक दलको संसदीय कार्यालयसमेत क्षति भएको छ ।
प्रदेशसभा सचिवालयका एउटै भवनमा रहेको कांग्रेस संसदीय दलको कार्यालय, त्यसको माथिल्लो तलामा रहेको नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भने क्षति पुगेको छैन । पहिलो तलामा आगलागीका कारण भवनका भित्ताहरु चर्किएको छ । कार्यालयका केही सवारीहरुमा समेत आगजनी भएको प्रदेशसभा सचिवालयका सचिव दर्जी बताउ“छन् । उनका अनुसार केही कर्मचारीको निजी तथा सरकारी सवारीसमेत आगजनीमा परेर ध्वस्त भएका छन् । प्रदेशसभा परिसरमा रहेको चमेना गृहदेखि सबै संरचनाहरुमा क्षति पुगेको बताइएको छ ।









