हेटौंडा/सामाजिकसञ्जालमाथि लगाइएको प्रतिवन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले हेटौंडामा पनि सोमबार प्रदर्शन गरेको छ । देशव्यापी आन्दोलनको क्रममा हेटौंडामा विद्यार्थीहरु विद्यालय/क्याम्पसका औपचारिक पोशाकमै सडकमा उत्रिएका थिए ।
हेटौंडा उपमहानगरपालिका चोक र हुप्रचौरबाट निस्किएको प्रदर्शन बुद्धचोक, सीमाचोक हु“दै बागमती प्रदेशसभासम्म पुगेको थियो । करिब दुई घण्टासम्म बुद्धचोक क्षेत्र बन्द पार्दै विद्यार्थीहरुले भ्रष्टाचार बन्द गर’, सामाजिकसञ्जाल खोल’, युवाले चाहेको परिवर्तन दे’ जस्ता नाराबाजी गरे ।
जुलुस प्रदेशसभा भवनअगाडि पुगेपछि प्रदर्शनकारीले कर प्रणालीको दुरुपयोग, सरकारी अकर्मण्यता र सामाजिकसञ्जाल प्रतिवन्धलाई लोकतान्त्रिक मूल्यविपरीत भन्दै नाराबाजी गरे । एक विद्यार्थीले भने–हामीले तिरेको करको सदुपयोग हुनुपर्छ । तर, सरकारले दुरुपयोग गरिरहेको छ । भ्रष्टाचार रोक्ने, आवाज उठाउने माध्यम नै बन्द गर्ने निर्णय अस्वीकार्य छ । प्रदर्शनमा सहभागी विद्यार्थीहरुले परिवर्तन सम्भव छ तर त्यसका लागि युवालाई अवसर र स्वतन्त्रता चाहिने बताए । ॅहामी भविष्य खोजिरहेका छौं । तर, सरकारले हाम्रो आवाज सुन्ने माध्यम नै बन्द गरिदियो । यस्तो दमनविरुद्ध हाम्रो आन्दोलन निरन्तर अगाडि बढ्छ,’ अर्का विद्यार्थीको भनाइ थियो ।
जुलुस बुद्धचोकमा पुनः भेला भएर शान्तिपूर्णसभामा परिणत भयो । सहभागीहरुले आन्दोलन निरन्तर जारी राख्ने चेतावनी दि“ंदै सामाजिकसञ्जाल प्रतिवन्ध फिर्ता लिन र भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्न माग गरे ।
आज भदौ २४ गते मंगलबार हुने भनिएको नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर–१ प्रदेशसभा (ख) समितिको कार्यक्रम विशेष कारणवस स्थगित भएको छ । क्षेत्रीय सभापति राजेश बानिया“ले उक्त जानकारी दिएका हुन् ।
भरतपुरमा १५ राउण्ड अश्रुग्यास
भरतपुर महानगरपालिका कार्यालयअगाडि सोमबार दिउ“सोदेखि भएको युवाको प्रदर्शनमा प्रहरीले अश्रुग्यास र हवाइफायर गरेको छ । प्रदर्शनका क्रममा ६ जना प्रदर्शनकारी र ४ प्रहरी घाइते भएको प्रशासनले जानकारी दिएको छ । घाइतेको अवस्था सामान्य रहेको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
भरतपुरमा केही प्रदर्शनकारी गोली लागेर घाइते भएको चर्चा चले पनि प्रमुख जिल्ला अधिकारी अर्यालले त्यसो नभएको बताए । भरतपुर महानगरपालिकाभित्र रहेका प्रहरीलाई बाहिर आउन रोकेपछि प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास प्रहार भयो । त्यसपछि पनि अवरोध नहटेपछि दुई राउन्ड हवाइफायर भएको प्रमुख जिल्ला अधिकारी अर्यालले भने । उनले १५ राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको बताए ।
काठमाडौंमा रगतको खोला
जेन–जीका नाममा सोमबारदेखि सुरु भएको प्रदर्शनमा ज्यान गुमाउनेहरुको संख्या २ दर्जन हाराहारी पुगेको छ । प्रदर्शनकारीका नाममा उत्रिएको समूहले नया“ बानेश्वरस्थित संसद् भवन कब्जा गर्न खोजेपछि प्रतिकारमा उत्रिएका सुरक्षाकर्मीले गोली चलाउ“दा हालसम्म ज्यान गुमाउनेको संख्या १६ पुगेको हो ।
यसरी ज्यान गुमाउनेमा सबभन्दा धेरै राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएकाहरु छन् । ट्रमा सेन्टरमा मात्र उपचारका लागि लगिएकामध्ये ६ जनाले ज्यान गुमाएका छन् । घाइतेमध्ये एक जना हेटौंडाका २२ वर्षीय समिर लामा रहेको खुलेको छ । ट्रमा सेन्टरका मेडिकल सुपरीटेन्डेन्ट बद्री रिजालले दिएको जानकारीअनुसार उपचारका लागि ल्याइएका ५० जना घाइतेमध्ये ६ जनाले ज्यान गुमाएका हुन् । रिजालका अनुसार त्यहा“ तीन जनाको आईसीयुमा उपचार भइरहेको छ । दुई जनाको ओटीमा अपरेसन भएको छ । रिजालका अनुसार घाइते ल्याउने क्रममा जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने सम्भावना छ ।
निजामती अस्पतालमा ३ जनाको मृत्यु भएको छ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा एक जना, त्रिवि शिक्षण अस्पतालमा एक जना र बानेश्वरस्थित एभरेष्ट अस्पतालमा पनि एक जनाले ज्यान गुमाएका हुन् । टिचिङमा १ जना जनाको मृत्यु भएको छ । संसद् भवन क्षेत्रमा भएको झडपका क्रममा घाइते भएकाहरुलाई विभिन्न अस्पतालमा लागिएको छ ।
इटहरीमा २ जनाको मृत्यु
इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ । प्रदर्शनकारीले सुनसरीस्थित इटहरी उपमहानगरपालिका कार्यालयमा आगजनी गरेपछि बढेको तनावबीच प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मृतकको पहिचान भने खुल्न सकेको छैन ।
चार पत्रकार घाइते
जेनजी पुस्ताको प्रदर्शनमा समाचार संकलनमा खटिएका चार पत्रकार घाइते भएका छन् । सोमबार नया“ बानेश्वर क्षेत्रमा विरोध प्रदर्शनको समाचार संकलन गर्न खटिएका पत्रकारहरु श्याम श्रेष्ठ, दीपेन्द्र ढुंगाना, उमेश कार्की र शम्भु दंगाल घाइते भएको नेपाल पत्रकार महासंघले जनाएको छ । घाइते पत्रकारको ट्रमा सेन्टर, पाटन अस्पताल र सिभिल अस्पतालमा उपचार भइरहेको छ । महासंघका महासचिव रामप्रसाद दाहालले घाइते पत्रकारको अवस्थाबारे जानकारी लिइएको बताए ।
उपचार निःशुल्क
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलनमा घाइते भएका नागरिकको ज्यान बचाउने जुनसुकै पनि उपचार निःशुल्क गर्न मातहतका सबै संघीय अस्पताललाई सर्कुलर गरेको छ । स्वास्थ्य तथा जनसख्या मन्त्री प्रदीप पौडेलको अग्रसरतामा मन्त्रालयले संघीय अस्पतालमा आउने आन्दोलनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी शीघ्र उपचारको व्यवस्था गर्न भनिएको छ । मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानमा सहज उपलब्ध गराउन पनि निर्देशन दिएको छ । काठमाडौं उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट रिफर हुने बिरामीलाई अर्को अस्पातलमा लिएर जान सहजीकरणका लागिसमेत आह्वान गरिएको छ । सम्पूर्ण चिकित्सक एवम् स्वास्थ्यकर्मीलाई एकजुट भइ घाइतेको उपचारमा जुट्न मन्त्रालयले भनेको छ ।
थप क्षेत्रमा कफ्र्यू
काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौं उपत्यकाका थप विभिन्न स्थानमा कफ्र्यू आदेश जारी गरेको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले विज्ञप्तिमार्फत् शीतल निवास (राष्ट्रपति कार्यालय) महाराजगञ्ज क्षेत्रको उत्तरपूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म, पूर्वदक्षिणतर्फ सामाखुसी जाने मोडदेखि १ सय मिटर दक्षिणसम्म र दक्षिण पश्चिमतर्फ सामाखुसी जाने मोडदेखि सामाखुसी खोलासम्म कफ्र्यू आदेश जारी गरिएको जनाएका छन् ।
हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्रको केशरमहल चोकदेखि लैनचौर मोड हु“दै मल्ल होटलको सिमानासम्म, नारायणहिटी दरबार संग्र्रहालय क्षेत्र, केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्र्रहालय दक्षिण गेट हु“दै जयनेपाल मोडसम्म, नारायणहिटी दरबार संग्र्रहालय दक्षिण गेटदेखि महेन्द्र सालिकसम्म पनि कफ्र्यू आदेश जारी गरिएको थियो ।
प्रशासन कार्यालयले सिंहदरबार क्षेत्रको भद्रकाली मन्दिर (तीनकुने आइल्याड) को पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूल गेटसम्म, सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय माविको मोडसम्म, पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालयअगाडि हु“दै अनामनगरतर्फ जाने सिंहदरबारको उत्तरपूर्वी मोड र उक्त मोडदेखि सिंहदरबार पूर्वी गेट हु“दै हनुमानस्थान मन्दिरसम्म र सिंहदरबार मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हु“दै पुरातत्व विभागको चोकसम्म कफ्र्यू आदेश जारी गरिएको थियो ।
प्रशासन कार्यालयले २३ गते अपराह्न १ देखि राति १० बजेसम्म कफ्र्यू आदेश जारी गरेको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाभित्र चार किल्ला तोकी सो सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्यू आदेश जारी गरिएको जनाएको थियो । यसअघि प्रशासन कार्यालयले नया“ बानेश्वर आसपास क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको थियो ।
सुरक्षा परिषद्को बैठक
भ्रष्टाचारको विरोधमा जेनजीले सोमबार गरेको प्रदर्शनले हिंसात्मकरुप लिएपछि राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा परिषद्को बैठक बोलाइएको हो । सुरक्षा परिषद्को अध्यक्ष प्रधानमन्त्री केपी शर्माओली छन् । परिषद् सदस्यमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणादेउवा, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल छन् । परिषद्को सचिवमा रामेश्वर दंगाल छन् ।
मुख्य दोष सर्वोच्चलाई १
सरकारको सूचनामा पहिलो हरफमै सामाजिकसञ्जाल बन्द गर्नुपर्ने कारण र यसको मुख्य दोष सर्वोच्च अदालतको पूर्णइजलासका न्यायाधीशको फैसलामाथि थोपरिएको छ । सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमानसिंह राउत, सपना प्रधानमल्ल, प्रकाशकुमार ढुंगाना, बिनोद शर्मा, नहकुल सुबेदी, बिनोद शर्मा, हरिप्रसाद फुया“ल, बालकृष्ण ढकाल, महेश शर्मापौडेलको इजलासले उक्त फैसला गरेको हो ।
फैसलामा सर्वोच्च अदालतले स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिकसञ्जाल प्लेटफर्महरुलाई सञ्चालनपूर्व अनिवार्यरुपमा साधिकार निकायमा दर्ता गर्न भनेको थियो । सामाजिकसञ्जालमा प्रकाशन/प्रसारण हुने अनिच्छित सामग्रीको मूल्यांकन, अनुगमन, जिम्मेवार बनाउन, दुरुपयोगलाई निरुत्साहितसमेत बनाउनलाई कानुनी प्रवन्ध गर्न भनेको हो । तर, सर्वोच्चले यस्तो गर्नुपूर्व कानुनी प्रवन्ध गर्न भनेको छ । यद्यपि, सरकारले कुनै कानुनको प्रवन्ध भने गरिसकेको छैन । सामाजिकसञ्जालसम्बन्धि विधेयक भने राष्ट्रियसभामा छलफलको क्रममा छ ।
दमनमा राष्ट्रसंघको चासो
नेपालमा भएका जेन–जी प्रदर्शनका क्रममा ज्यान गुमाएका तथा घाइते भएकाप्रति संयुक्त राष्ट्रसंघका नेपालस्थित आवास संयोजक हना सिंगर हम्दीले गहिरो दुःख व्यक्त गरेकी छन् । सामाजिकसञ्जाल फेसबुकमा लेख्दै उनले मृतकका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै सबै पक्षलाई अधिकतम् संयमता र सतर्कता अपनाउन आग्रह गरेकी छन् । हम्दीले नागरिकले आफ्ना लोकतान्त्रिक अधिकारहरु सुरक्षित र शान्तिपूर्णढंगले प्रयोग गर्नसक्ने वातावरण सुनिश्चित गर्न सरकारस“ग आग्रहसमेत गरेकी छन् ।









