हेटौंडा/सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतता अभिबृद्धिका लागि अब बागमती प्रदेशभर हेल्मेट नलगाइ इन्धन लिन आए त्यस्तो सवारीलाई इन्धन नदिइने (नो हेल्मेट, नो फ्युल) भएको छ । इन्धनका लागि हेल्मेट अनिवार्य अभियान कार्यान्वयन गर्न/गराउन अनुरोध गरी नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसन बागमती प्रदेशमा पत्राचार गरिने निर्णय भएको हो ।
इन्धनका लागि हेल्मेट अनिवार्य अभियान कार्यान्वयन गर्न तथा उक्त अभियानको निगरानी गर्न/गराउन जिल्ला प्रशासन कार्यालयहरु र सुरक्षा निकायहरुमा पत्राचार गर्ने, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसन बागमती प्रदेशले सम्बन्धित निकायहरुस“ग समन्वय गरी पेट्रोलपम्पहरुमा इन्धनका लागि हेल्मेट अनिवार्यको सन्देशमूलक बोर्ड (निश्चित आकार र त्यसभित्र रहने विषय र बोर्ड राख्ने स्थान एकिन निर्णय गरी) राख्ने व्यवस्था मिलाउने भएका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया“को पहलमा बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरक्षा निकाय र सम्बन्धित सरोकारवाला निकायस“गको छलफलमा यस्तो निर्णय गरिएको हो । मुख्यमन्त्रीले सवारी दुर्घटना न्यूनीकरणका लागि सम्बद्ध सबै निकायहरुलाई समन्वयात्मक तरिकाले परिचालित भइ प्रभावकारीरुपमा काम गर्न निर्देशन दि“दा बागमती प्रदेशभित्र दिनानुदिन बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरण गर्न सवारीचालकको मादकपदार्थ सेवन (मापसे)/लागुपदार्थ सेवन (लापसे) परीक्षणलाई नियमित र प्रभावकारी बनाउने, दुईपांग्रे सवारी प्रयोगकर्ताले हेल्मेट अनिवार्यरुपमा प्रयोग गर्ने कानुनी व्यवस्थालाई कडाइका साथ पालना गर्ने/गराउने निर्णय गरिएको छ ।
छलफलमा नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका तर्फबाट बागमती प्रदेशभित्रका सवारी दुर्घटनाको अवस्था र कारणबारेमा संक्षिप्तरुपमा प्रस्तुतिकरण गरिएको थियो । छलफल तथा निर्देशन कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रमुख सचिव भुपाल बराल, श्रम, रोजगार तथा यातायात मन्त्रालय सचिव वीरेन्द्रकुमार भारती, मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक अरुण पौडेल, प्रदेश सशस्त्र प्रहरी कार्यालयका नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेल, पेट्रोलियम डिलर्स एसोसियसन प्रदेश अध्यक्ष सुदर्शन कार्की, प्रदेश ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुबेदी र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक गायत्रीराज शर्मालगायत थिए ।









