हेटौंडा/अनलाइनमार्फत् हुने बाल यौनशोषण रोक्न परिवार, समाज र राज्य सबैको संयुक्त प्रयास अपरिहार्य रहेको हेटौंडामा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । बालअधिकारका क्षेत्रमा क्रियाशील संस्था सिबिन नेपालको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
बढ्दो अनलाइन यौनशोषण तथा दुर्व्यवहारका घटनाप्रति चिन्ता व्यक्त गर्दै उनीहरुले यसलाई रोक्न अभिभावक, विद्यालय, समाज, गैरसरकारी संस्था र राज्य सबैको साझा जिम्मेवारी र सामूहिक प्रयास हुनुपर्ने बताएका छन् । इन्टरनेटमा बालबालिकाले कलिलै उमेरमा पहु“च पाउ“दा उनीहरु गम्भीर जोखिमको नजिक पुगेको भन्दै सहभागीको सकेसम्म सामाजिकसञ्जाल प्रयोगबाट बालबालिकालाई टाढा राख्नुपर्ने बताएका छन् । उनीहरुले अनलाइन यौनशोषण तथा दुर्व्यवहारका घटना रोक्न विशेषगरि समुदाय र परिवार तहमा साइबर सुरक्षासम्बन्धि सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल प्रहरी साइबर ब्युरोका प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीले अनलाइनमार्फत् हुने बाल यौनशोषणको समस्या नेपालमा तीव्रगतिमा बढिरहेको बताए । साइबर ब्युरोको तथ्यांक सार्वजनिक गर्दै उनले पछिल्ला वर्षहरुमा अनलाइनमार्फत् हुने बाल यौनशोषणसम्बन्धि मुद्धामा चा“डै वृद्धि भएकोप्रति चिन्ता व्यक्त गरे । उनका अनुसार आव २०७५/०७६ मा १० मात्र दर्ता भएका नाबालिका पीडितसम्बन्धि मुद्धा २०८१/०८२ सम्म आइपुग्दा ७ सय नाघिसकेको छ । महिला नाबालिका बढी पीडित बनेका छन् भने पुरुष नाबालकको संख्यामा पनि पछिल्ला वर्षहरुमा उल्लेखनीय वृद्धि भएको छ ।
प्रहरी उपरीक्षक अवस्थीले प्रस्तुत गरेको तथ्यांकअनुसार आव २०७६/०७७ मा ८८, आव २०७७/०७८ मा १ सय ५२, आव २०७८/०७९ मा १ सय ४२, आव २०७९/०८० मा १ सय ३०, आव २०८०/०८१ मा ३ सय ८२ र आव २०८१/०८२ मा ७ सय ७२ नाबालिकासम्बन्धि मुद्धा दर्ता भएका छन् ।
यसमध्ये महिलाको संख्या बढी भए पनि पुरुष पीडितको संख्यामा पनि हाल तीव्र वृद्धि भएको छ । प्रतिवेदनमा अनलाइन शोषणका स्वरुपमा बाल अश्लील सामग्री उत्पादन र वितरण, ग्रुमिङ (फकाएर प्रेमसम्बन्धमा ल्याउने), वेबक्याम वा च्याटमार्फत् प्रत्यक्ष प्रसारण, अश्लील सन्देश आदानप्रदान प्रमुख छन् । यस्ता गतिविधि प्रायः सामाजिकसञ्जाल, च्याटरुम र मेसेजिङ एपमार्फत् हुने गरेको बताइएको छ ।
प्रहरी उपरीक्षक अवस्थीको प्रतिवेदनमा अनलाइन शोषणका कारण बालबालिका दीर्घकालीन मानसिक आघातमा पर्ने उल्लेख छ । लज्जा, अपराधबोध, डर र आत्महत्याको प्रवृत्ति देखिनुका साथै धेरैले पढाइ छाड्ने वा समाजस“ग टाढा हुने गरेको पाइन्छ । साइबर ब्युरोका अनुसारकतिपय अवस्थामा पीडितले परिवार वा प्रहरीलाई भन्न नसक्दा अपराधीले अझ सजिलै शोषण गर्ने वातावरणसमेत बनेको छ ।
्
उनले प्रस्तुत गरेको प्रतिवेदनमा समावेश केही घटनाले समस्या कति गहिरो छ भन्ने देखाउ“छन् । मलेसियामा बस्ने २२ वर्षीय युवकले सामाजिकसञ्जालमार्फत् नेपाली नाबालिकालाई शोषण गरे र अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परे । नवलपरासीमा ११ वर्षीया बालिकालाई प्रयोग गरी छिमेकीले अश्लील सामग्री उत्पादन गरे । पोखरामा हाडनाताकै २२ वर्षीय युवकले फुपूकी छोरीलाई अनलाइनमै शोषण गरेर सामग्री सेयर गरेपछि पक्राउ परे ।
प्रहरी उपरीक्षक अवस्थाकी अनुसार नेपालमा अनलाइन यौनशोषण तथा दुर्व्यवहारका घटना रोक्न कानुनी प्रावधान र चुनौतीसमेत रहेको बताए । नेपालको संविधान २०७२, बालबालिकासम्बन्धि ऐन २०७५, मुलुकी अपराधसंहिता २०७४ र विद्युतीय कारोबार ऐन २०६३ ले बाल यौनशोषणलाई अपराधका रुपमा पारिभाषित गरेको छ । दोषीलाई कैददेखि जरिवानासम्मको सजाय हुने व्यवस्था भए पनि प्रविधिजन्य जटिलता, सामाजिकसञ्जाल अनियन्त्रित प्रयोग, सीमापार अपराध र अनुसन्धानका लागि स्रोतको कमीलाई उनले प्रमुख चुनौतीका रुपमा औंल्याएका छन् ।
अनलाइन बाल यौनशोषण अब केवल अपराधमात्र नभइ सामाजिक संकट बनेको भन्दै यसलाई रोक्न परिवार, समाज र राज्य सबैको सामूहिक प्रयास अपरिहार्य रहेको प्रहरी उपरीक्षक अवस्थीले बताए । कार्यक्रममा मकवानपुरका विभिन्न स्थानीय तहका अध्यक्ष, उपाध्यक्षलगायत जनप्रतिनिधि, महिला तथा बालबालिका शाखाका कर्मचारी, जिल्लास्थित सरकारी तथा गैरसरकारी संघसंस्था प्रमुख एवम् प्रतिनिधि, प्रहरीलगायत सरोकारवालाको सहभागिता रहेको सिविन नेपाल मकवानपुर प्रमुख झविन्द्र ज्ञवालीले बताए ।









