हेटौंडा/इन्द्रबहादुर बानियाँ नेतृत्वको बागमती प्रदेशमा नियुक्त भएका ५ जना मन्त्रीले सपथ लिएका छन् । बानियाँ नेतृत्वको सरकारमा नेपाली कांग्रेसको ५ जना मन्त्रीले सपथ लिएसँग प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । सरकारमा एमालेका ६ र कांग्रेसका एक मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् ।
प्रदेशमा कांगेसबाट कञ्चनचन्द्र बादे, प्रभात तामाङ, उर्मिला नेपाल, सुरेश श्रेष्ठ र विनु रायमाझीपौडेल मन्त्री बनेका छन् । उनीहरुलाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देबकोटाले शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको सपथग्रहण गराएका छन् । कांग्रेसका तर्फबाट मन्त्री बनेका बादेलाई सामाजिक विकास मन्त्रालय, तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, श्रेष्ठलाई सँस्कृति तथा पर्यटन मन्त्रालय, नेपाललाई युवा तथा खेलकुद मन्त्रालय र रायमाझीपौडेललाई सहकारी तथा गरिबी निवारण मन्त्रालय र यसअघि नियुक्त भएका बिनाविभागीय मन्त्री शिवराज अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
मधुसूदन पौडेल कृषि तथा पशुपक्षी विकास, किरण थापामगर स्वास्थ्य, डा. दिनेशचन्द्र देबकोटा भौतिक पूर्वाधार विकास मन्त्री छन् । भरतबहादुर केसी वन तथा वातावरण, जयराम थापा श्रम, रोजगार तथा यातायात, कृष्णकुमार तामाङ खानेपानी, ऊर्जा तथा सिंचार्इं, विन्दु श्रेष्ठ उद्योग, वाणिज्य, भूमि तथा प्रशासन छन् ।
मुख्यमन्त्री बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । शुक्रबार नेपाली कांग्रेसबाट ५ मन्त्री थप गर्दै उनले आफ्नो नेतृत्वको मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । यसअघि कांग्रेसबाट तीन र सत्तासाझेदार नेकपा एमालेबाट छ जना मन्त्री सहभागी थिए । मन्त्रिपरिषद् विस्तारपछि १४ सदस्यीय बनेको सरकारमा विभिन्न मन्त्रालयको कार्यविभाजनसमेत गरिएको छ ।
मुख्यमन्त्री बानियाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारीमा छन् भने कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार, उद्योग, पर्यटन, वन, खानेपानी, श्रम, युवा, सहकारीलगायत मन्त्रालयमा नयाँ मन्त्रीको जिम्मेवारी तोकिएको छ । पार्टीको आन्तरिक निर्वाचन प्रणालीपछि हटेका मुख्यमन्त्री बहादुरसिंह लामाको पक्षका कसैलाई पनि मन्त्री बनाइएन । सभापति शेरबहादुर देउवासमेतको सहमतिमा लामा पक्षका तीन मन्त्री बनाउने सहमति रहेको दाबी गरिएको छ ।
तत्कालीन मुख्यमन्त्री बहादुरसिंह लामा नेतृत्वको प्रदेश सरकार ढाल्न आफ्नै दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका मुख्यमन्त्री बानियाँले लामा समूहका १४ मध्ये एक जनालाई पनि मन्त्रिपरिषद्मा सहभागी गराएनन् । मन्त्री बन्नका लागि लामा समूहले निकै कसरत गरे । तर, मुख्यमन्त्री बानियाँले भने उनीहरुलाई ‘बायस’ गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिए पनि सबै एउटै पक्ष रहेको दाबी गर्छन् । दलका नेताले गरेको कामलाई लामा समूहले ‘नो अब्जेसन’ का रुपमा लिनुपर्ने मुख्यमन्त्री बानियाँ बताउँछन् । सभापति शेरबहादुर देउवासामु उनले लामाले नियुक्त दिएका मन्त्रीहरुलाई निरन्तरता दिने ‘सहमति’ गरेको दाबी गरिन्छ । पूर्वमुख्यमन्त्री लामाले गीता गुरुङ, गोबिन्द लम्साल र माया श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए ।
मुख्यमन्त्री बानियाँले मन्त्रिपरिषद् पुनर्गठनले प्रदेश सरकारको कार्यक्षमता बढाउने विश्वास व्यक्त गरेका छन् । सपथग्रहण कार्यक्रममा सभामुख भुवनकुमार पाठक, मुख्यमन्त्री बानियाँ, बागमती प्रदेशका मन्त्री, बागमती प्रदेशका प्रमुख सचिव भुपाल बराल, मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।









