हेटौंडा/नेपाल विद्युत् प्राधिकरणको ठेक्का विवादमा बागमती प्रदेशसभा सदस्य डम्बर तामाङविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सहन इञ्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङको जाहेरीमा ललितपुर जिल्ला अदालतले तामाङसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागमती प्रदेशसभा सदस्य रहेका तामाङ राप्रपा नेता बुद्धिमान तामाङका भाइ तथा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङका काकाससुरा हुन् । बुद्धिमान भने घिसिङका ससुरा हुन् । धादिङ–२ (ख) बाट निर्वाचित तामाङ प्रदेशको सहकारी मन्त्री पनि भएका थिए ।
घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हु“दा उनले दबाब दिएर आफ्ना काकाससुरा तामाङको कम्पनीलाई दिलाइदिएको सबस्टेसन निर्माणसम्बन्धि विवादमा तामाङलाई पक्राउ पुर्जी जारी भएको स्रोतले जानकारी दियो । ललितपुर जिल्ला अदालतले ५ फागुन २०८१ मै पक्राउ पुर्जी जारी गरेकोमा त्यसविरुद्ध तामाङ लगायतले उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन दिएका थिए । उच्च अदालतले पनि गत ९ असारमा उनीहरुको निवेदन खारेज गरिदिएको छ ।
के हो विवाद ?
चिलिमे–त्रिशुली २२० केभी प्रसारण लाइनअन्तर्गत् चिलिमेको २२० केभीएको जीआईएस सबस्टेशन र त्रिशुलीको २२० केभीएको हाइव्रीड सबस्टेशन निर्माणको ठेक्का कात्तिक २०७४ मा चीनको पिगांओ ग्रुप अफ कम्पनिजले १ अर्ब ११ करोडमा पाएको थियो । ठेक्काको सबकन्ट्रयाक्ट सहन इञ्जिनियरिङ कन्सर्न प्रालिले पाएको थियो ।
प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक घिसिङले दबाब दिएर सहन इञ्जिनियरिङबाट पनि लेबर कन्ट्राक्ट भने आफ्ना कान्छाससुरा बागमती प्रदेश सांसद् डम्बर तामाङको प्रोसोलुसन्सलाई दिलाएका थिए । ठेक्कामा सहन कन्स्ट्रक्सनले करिब ६६ करोड लगानी गरिसकेकोमा करिब ३८ करोड भुक्तानी पाएको स्रोतले जनायो । पिंगाओले सहनलाई पैसा भुक्तानी गरेपछि उसले तामाङको प्रोसोलुसन्सलाई दिनुपर्नेमा घिसिङको दबाबमा कामको रकम पिगांओमार्फत् सोझै प्रोसोलुसन्सलाई दिइएको थियो । तर, उसले सहन कन्स्ट्रक्सनलाई उसले पाउनुपर्ने रकम नदिएको स्रोतले बतायो । यही विवादमा आपराधिक विश्वासघातको आरोपमा तामाङलगायत विरुद्ध पक्राउ पुर्जी जारी भएको स्रोतको भनाइ छ । पक्राउ पुर्जी जारी हुनेहरुमा प्रोसोलुसन्सका संस्थापक सन्तोष पौडेल, सञ्चिता श्रेष्ठ, राजेन्द्र अवस्थी, सरोज शाही र दिनेशकुमार यादब छन् ।