21.7 C
Makwānpur
Homeमुख्य समाचारन्याय पाइने आश सर्वोच्च पुग्यो किशोर फुटबलरहरु अस्ताएको घटना
spot_img

न्याय पाइने आश सर्वोच्च पुग्यो किशोर फुटबलरहरु अस्ताएको घटना

spot_img
हेटौंडा/२०८१ असोज १२ गते सिस्नेरी खोलाको पहिरोमा हेटौंडा–१२ का अनुपम घलान, मकवानपुरगढी गाउँपालिकाका साइमन योञ्जन, मकवानपुरकै सिस्नेरी टेकरका दिवस बानिया’, सर्लाहीका आदित्य बलम्पाखी र काठमाडौंका प्रियान्स आचार्यसहितको ज्यान गयो । मकवानपुरगढी गाउँपालिका घर भएका साइमन भानु माविमा पढ्दै थिए । परिवारमा उनकी दिदी पनि जिल्लास्तरीय फुटबल खेलाडी भएकाले उनी पनि फुटबलतिर आकर्षित भए ।
स्कुलस्तरमै राम्रो खेल्ने भएकाले शिक्षकहरुले पनि उनका बाबु हेमलाई एकेडेमी पठाउन आग्रह गरे । सोहीअनुसार २०८१ बैशाखमा उनले हेटौंडामा छनौट खेल खेलेर छनौट भए । त्यसपछि पुनः सिस्नेरीमा खेल्दा एकेडेमीमा बस्ने गरी छनौट भए । ‘घटना हुनुभन्दा ५ महिनाअगाडि ट्रायल दियो । सिस्नेरीमा गएर पनि छनौट खेल खेलेको थियो । त्यसपछि ऊ छनौटमा पर्‍यो अनि एकेडेमीमा बस्न थालेको थियो,’ परिवार भन्छन्‌–राम्रो खेल्ने भएकाले शिक्षकहरुले फुटबल खेल्न प्रेरणा दिएका थिए । सरहरुले नै सल्लाह गरेर उसलाई एकेडेमीमा पठाउनुपर्छ भन्नुभयो । दिदीहरु पनि जिल्लास्तरीय फुटबल खेलिसकेकाले पारिवारिक माहोल पनि खेलतिरै थियो ।
हेटौंडाका अनुपम पनि जिल्ला, प्रदेशमा छनौट भए तर केन्द्रको छनौट प्रतियोगितामा छानिएनन् । तर, पछि एन्फाले टिममा लियो । पारिवारिक माहोल नै फुटबल रहेको घलान परिवारमा अनुपमकी आमासमेत खेलाडी हुन् भने मामा प्रशिक्षक हुन् । अनि छोराले पनि खेलाडी बन्ने सपना देखेको उनका बाबु ललित घलानले बताए ।
‘जिल्ला, प्रदेशमा छनौट भए पनि केन्द्रमा छनौट भएको थिएन । पछि छनौट लिस्टमा नाम आयो । अनि हामीले पठाइदिएको । परिवारमा आमा खेलाडी र मामा कोच थिए । यसरी पठाएको केटा गएको ५ महिनामा पहिरोमा पुरियो भन्ने खबर आयो,’ उनले भने ।
कक्षा–७ मा पढिरहेका दिवस बानियाँ सिस्नेरी टेकरका स्थानीय थिए । सिस्नेरी एकेडेमीमै २०८१ बैशाखमा भएको छनौट प्रतियोगिताबाट छनौट भएका दिवसले घटनाको दिन नै आफ्‌ना बुबालाई फोन गरेर एकेडेमीबाट निकालिएको बताएको उनका दाइ विवस बानियाँले बताए । भाइले बाबालाई फोन गरेर हामी त निस्कन लागेको भनेको थियो । वार्डेनहरुले पुरै पानीमा उनीहरुको झोलासमेत बोकाएको रहेछ,’ उनी भन्छन्‌–खोला बढेपछि भाग्‌भाग् भनिदिएछन् । राम्रो बाटो जान लाग्दा वार्डेनले पहिरो झरेको अप्ठ्यारो जान भनेछन् ।
त्यसरी जाने क्रममा भाइहरुलाई पहिरोले खिच्यो । विवस बानियाँलाई घटना भएलगत्तै सुरक्षा गार्डले फोन गरेर घटनाबारे जानकारी दिएका थिए । सुनेलगत्तै घरबाट आधा घण्टा दुरीमा रहेको घटनास्थल पुगेर पहिरो पन्छाए । भाइ जिउँदै छ कि भनेर पहिरो पन्छाउन लागे । गाउँका सहयोगीहरु थपिए । केही सहयोगी पहिरोमा पर धन्न उनी बाँचे ।
बाराकी कमला रेग्मीलाई लागिरहन्छ–छोराले भनेको मानेको भए । उनले फुटबल नखेल, पढाइमै ध्यान देउ भनिरहिन् । तर, ११ वर्षदेखि खेलिरहेको खेल विकल रेग्मीले छाड्न सकेनन् । फुटबल मोहले कलिलैमा ज्यान गुमाए विकलले । कमलाको मनमा नभरिने घाउ बस्यो । यसमा गल्ती न आमाको हो न छोराको । कारण, अखिल नेपाल फुटबल संघको बदमासी । ॅछोरालाई पढाइ गर, फुटबलमा भविष्य छैन भन्दा छोराले राष्ट्रिय खेलाडी हुन्छु ममी, पढाइलाई पनि अघि बढाउँछु भनेको थियो । तर, पहिरोमा पर्‍यो,’ छोरा सम्झँदै कमलाले भनिन् ।
एन्फाले आयोजना गरेको अन्डर–१३ मा विकल छानिए । २०८१ बैशाख १२ गते छनौट भएका रेग्मी बारा जिल्ला हुँदै मधेश प्रदेश र केन्द्रमा छनौट भएका थिए । एन्फा एकेडेमीमा नाम निकालेका विकल कक्षा–८ मा पढ्दै थिए । देशभरका ७ हजारमा छानिएपछि जेठ ६ गते उनीसहित ४० जना खेलाडी मकवानपुरको सिस्नेरीमा सञ्चालित एन्फाको एकेडेमीमा पुगेका थिए । २०८१ को अविरल वर्षापछि कुलेखानी ड्यामको पानी खोलियो । सुरक्षित स्थानमा जाँदाजाँदै उनीसहित ६ जना पहिरोमा पुरिए । कमलामात्र होइन, २०८१ सालको बाढीका कारण आमाको काखका ६ सन्तान गुमे ।
११ वर्षका प्रियान्स एन्फा एकेडेमीमा फुटबल सिक्दै थिए । घरबाट टाढा पठाउन मन नलागेर उनलाई छनौटमा नपार्न बाबु टीका आचार्यले प्रयास गरे । एन्फाकै दीपक खतिवडाले राम्रो खेल्ने भएकाले एकेडेमीमा पठाउन अनुमति मागे । बारम्बारको आग्रहपछि सिस्नेरी पठाउन राजी भए । ॅबाबु ११ वर्षको थियो । कोचहरुले सेलेक्सन गर्दा पनि मैले पठाउन मानिरहेको थिइन“ । कोचलाई सेलेक्सन नगर्नु भनेको थिएँ,’ उनले भने–पछि एन्फाकै खतिवडा दाइले बाबुले राम्रो खेल्छ, भविष्य बन्छ भनेपछि मैले इन्कार गर्न सकिनँँ ।
सर्लाहीका आदित्य बलम्पाखीकी आमा क्यान्सरको उपचारमा छन् । आफ्‌नो बासस्थानसमेत नभएका बलम्पाखी परिवारलाई भरतबहादुर थापाले आश्रय दिएका छन् । उनको खेतीपाती हेर्छन् । थापा परिवार नै आदित्यको संरक्षक थिए । राष्ट्रिय खेलाडी भएर बाबुआमालाई सुख दिने सपना बोकेका आदित्य पनि सिस्नेरी पहिरोमा बिलाए । आदित्यका संरक्षक रहेका थापाका अनुसार आदित्य जिल्ला, प्रदेश हुँदै केन्द्रमा छनौट भएका थिए । २०८१ बैशाखमा मात्र उनी एन्फा एकेडेमीका लागि छनौट भएको संरक्षक थापा बताउँछन् । ॅपढ्दै, खेल्दै थियो । स्कुलमा पनि राम्रो खेल्ने, टिममा पर्ने । स्कुल, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म पुगेको थियो । छनौट भएको ५ महिनामा यस्तो घटना घट्यो,’ भावुक हुँदै उनले भने ।
‘म जाँदा त भाइहरु पुरिइसकेका थिए । कसैले पहिरो पन्छाएको थिएन । हामीले नै पहिरो पन्छाउन लाग्यौं,’ उनले भने–३ वटा लास देखिसकेका थियौ्र । फेरि पहिरो आएर हामीलाई पनि थिच्यो । १५ जनाजति गएकाले अरुले हामीलाई निकाले । सातदोबाटोमै एन्फा एकेडेमी छ । तर, २०८० चैतमा एन्फाले सिस्नेरीमा एकेडेमी सञ्चालनमा ल्याएको थियो । एकेडेमीसँगै रहेको वत्सलादेवी मावि सिभिल इञ्जिनियरिङ शिक्षालयबीच सम्झौतापछि खेलाडीलाई प्रशिक्षणका लागि २०८१ जेठबाट सिस्नेरी लगियो ।
संविधानसभा सदस्य रहिसकेका सुवासचन्द्र ठकुरी वत्सलादेवी माविको अध्यक्ष र एन्फा एकेडेमी संयोजक हुन् । उनको जोडबलमा एकेडेमी त्यहाँ गएको थियो । एकेडेमीमा छनौट भएका युवा खेलाडी राखिएका थिए । निरन्तर पानी परिरहेपछि कुलेखानी जलविद्युत् केन्द्रले कुलेखानी ड्याम तलको नदीआसपास स्थानीयलाई सतर्कता अपनाउन सूचना निकाल्यो । २०८१ असोज १२ गते ड्याम भरिएपछि केन्द्रले साँझ ५ बजे ड्यामको ढोका खोल्यो ।
पहिल्यै खोलाको जलसतह बढिसकेको थियो । ड्यामको पानी खुलेपछि एकेडेमी भएको घरसमेत असुरक्षित भयो । बालबालिकालाई सुरक्षित स्थान लैजान ढिला भयो । हतारहतार सामान बोकेर हिँडेका बालबालिकामध्ये ६ जना पहिरोमा पुरिए । घटनाको मुख्य कारण जोखिमपूर्ण स्थानमा एकेडेमी राख्नु, पानी पर्न थालेपछि विपद् जोखिमको तयारी नगर्नु, जलविद्युत् केन्द्रको सूचनाको बेवास्ता र जोखिम भएपछि योजनाबद्धरुपमा बालबालिकालाई सुरक्षित स्थानमा नलैजानु देखियो । लगातारको वर्षापछि इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी जलविद्युत् केन्द्रको जलाशय भरिएको थियो । जलविद्युत् केन्द्रले ११ गते राति नै जानकारी गराएको थियो । जलविद्युत् केन्द्रले बागमती नदीकिनारमा बसोबास गर्ने स्थानीयलाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान आग्रह गरेको थियो ।
केन्द्रले जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रमा भनिएको छ–अविरल वर्षाका कारण कुलेखानी जलविद्युत् केन्द्रको ड्याममा पानीको सतह बढी स्फिल हुनसक्ने साथै चखेल, सिम, मुख्य ड्यामको ढोका पनि खोल्नु पर्नसक्ने हुनाले बागमती खोलाको बहाव बढ्न गइ तटीय क्षेत्रमा कुनै पनि समयमा डुबानमा पर्ने सम्भावना रहेको व्यहोरा जानकारी गराउँदै सो क्षेत्रवरिपरिका स्थानीयलाई समयमै सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन आवश्यक जानकारी गराइदिनुहुन अनुरोध छ ।
२०८१ असोज १२ गते विहान ५ बजे जलविद्युत् केन्द्रले ड्याम खोल्दा सिस्नेरी खोला उर्लिएर आउँदा सिस्नेरी बजार नै बगायो । इन्द्रसरोवर गाउँपालिकाले समेत सूचना जारी गर्दै २ र ३ नम्बर वडामा सतर्कता अपनाउन भनेको थियो । तर, एकेडेमी संयोजकजस्तो जिम्मेवार व्यक्ति रहेका ठकुरीले घटनाको अघिल्लो दिन सामाजिकसञ्जाल फेसबुकमा जलविद्युत् केन्द्रको सूचनालाई बेवास्ता गरेको देखियो । सूचनापछि आवश्यक तयारीको साटो उनले असोज ११ गते शुक्रबार साँझ कुलेखानीको सूचनालाई जनमानसमा ॅआतंकितँ पार्ने बताएका थिए ।
ठकुरीले असोज ११ गते शुक्रबार साँझ कुलेखानीको सूचना आएपछि फेसबुकमा लेखेका थिए–निरन्तर वर्षा भइरहे पनि अझै भरिन बाँकी छ । अघिल्ला वर्षमा राख्दै आएको बोराको चाङ हटाएकाले ओभरफ्‌लो भइ तल्लो तटीय क्षेत्रमा बग्ने छ । साइरन बजाउने, माइकिङ गर्ने सूचना पनि छ त । फेसबुके सूचना गरेपछि पुग्यो त ? जोखिम बढे सेना, प्रहरी सबै छन् त । सही सूचना मात्र सम्प्रेषण गरौं । जब खेलाडीहरुको मृत्यु भयो, तब उनले फेसबुकमा लेखेको स्टाटस हटाएका थिए । ठकुरीले घटना भएको भोलिपल्ट सामाजिकसञ्जालमा पूर्वतयारीबिना इन्द्रसरोवर तालको पानी खोल्दा पीडादायी घटना भएको भन्दै दोष जलविद्युत् केन्द्रलाई लगाए ।
अन्धाधुन्ध कुदाएका थिए खेलाडी
प्राप्त भिडियोमा कुलेखानी जलविद्युत् आयोजनाले पानी खोलेपछि एकेडेमीले खेलाडीलाई कुदाएको देख्न सकिन्छ । भिडियोमा झमझम पानी परेको अवस्थाबीच खेलाडीहरुलाई अन्धाधुन्ध कुदाएको देखिन्छ । यस विषयमा ठकुरीसँग जिज्ञासा राख्दा ‘उनले एकेडेमीको कुनै गल्ती नभएको, बरु जलविद्युत् आयोजनाका कर्मचारीले रक्सी खाएर पानी खोलेको दाबी गरे । ॅजलविद्युत् केन्द्रले एक्कासी पानी खोल्दा खेलाडीको ज्यान गयो । पानी कति खोल्ने, जिम्मेवार व्यक्ति नबसेर सहयोगीको भरमा पानी खोलेको छ,’ उनले भने–२०५० सालमा नआएको बाढी त्यो दिन आयो ।
कति पानी खोल्ने भन्ने ख्याल गर्नुपर्थ्यो उनीहरुले । जलविद्युत् केन्द्रले सचेत गराउँदासमेत किन ध्यान नदिएको भन्ने प्रश्नमा उनले हेटौंडाको कुनै पत्रिकामा सूचना टाँसेर नहुने गैरजिम्मेवार जवाफ दिए । के जलविद्युत् केन्द्रले सूचना ढिलो दिएको हो त ? यस विषयमा स्थानीय शिव नगरकोटीसँग बुझ्दा ९ गतेदेखि नै प्रहरीले माइकिङ गरेर सचेत रहन र सुरक्षित स्थानमा जान सूचना दिएको खुल्यो ।
उनले ठकुरीको अति आत्मविश्वासका कारण खेलाडीको ज्यान गएको बताए । ‘प्रहरीले माइकिङ गरेको थियो । सबैलाई सुरक्षित स्थानमा जान र सचेत रहन भनेको थियो । उहाँले नै फेसबुकमा केही नहुने भनेर स्टाटस लेख्नुभएको थियो । तर, जब खेलाडीहरुको मृत्यु भयो, बजार बगाएर लग्यो अनि उहाँले स्टाटस डिलिट गर्नुभयो,’ उनले भने । यसरी हेर्दा खेलाडीको जिम्मेवारी लिएका व्यक्तिको कमजोरी र अव्यवस्थाले खेलाडीको ज्यान गएको देखियो ।
पुरिए ६ खेलाडी
२०८१ असोज १० देखिको लगातार वर्षा भएको थियो । १२ गते शनिबार विहान ६ बजे सिस्नेरीस्थित वत्सलादेवी माविको एन्फा एकेडेमीमा रहेका ४० जना बालकसहित टोलीलाई सुरक्षित स्थानतर्फ जान भनियो । त्यहाँबाट टेकर बजारतिर हिँड्नुअघि आवश्यक सामान पोको पार्न भनियो । टेकर बजारसम्म जान २ वटा बाटो थियो, तर छोटो भनेर असुरक्षित बाटो हुँदै लगियो ।
ॅजुन बाटोबाट उनीहरु गए, त्यो बाटो व्यवस्थित नै थिएन । अर्को बाटो लामो भए पनि अलि व्यवस्थित थियो । छिट्टो पुगिने भएर पनि त्यो बाटोबाट गएका होलान्,’ स्थानीय नगरकोटीले भने । यस विषयमा ठकुरीसँग बुझ्दा दुवै बाटोबाट बच्चाहरु लगेको दाबी गरे । ‘हामीले दुवै बाटोबाट बच्चाहरु लगेका हौं । केही बच्चा छोटो बाटो हुँदै जाँदा पनि बजार पुगिसकेका थिए । तर, तिनै ६ जना हिँड्दै गर्दा पहिरो आयो,’ उनले भने । मृतक खेलाडीसँग हिँडेका ९ जना खेलाडी बेलैमा माथि पुगेर जोगिए । बीचमा रहेका ६ जना पहिरोमा पुरिए । १ जना घाइते भए । प्राप्त भिडियोमा समेत बच्चाहरु अन्धाधुन्ध कुदेजस्तो देख्न सकिन्छ । भिडियोमा जिम्मेवार व्यक्ति कोही देखिँदैनन् । खेलाडी अन्योलकै बीच झोला बोकेर कुदेको देख्न सकिन्छ । जिम्मेवार व्यक्ति किन नदेखिएको भन्नेबारे ठकुरीले घटनास्थलमा आफू नभए पनि कोचलगायत जिम्मेवार व्यक्तिहरु गएको दाबी गरे । ॅकोचलगायत जिम्मेवार व्यक्तिहरुकै जिम्मामा उनीहरुलाई सुरक्षित स्थानमा लगेको हो,’ उनले दाबी गरे ।
एन्फाको कमजोरीले बच्चा मारियो
छ पीडितका परिवारसँग सिस्नेरी घटनाका विषयमा कुरा गर्दा अधिकांशले एन्फाको गैरजिम्मेवारीका कारण बच्चा मारिएको बताए । विकल रेग्मीकी आमा कमला रेग्मी, प्रियान्स आचार्यका बुबा टीका आचार्य, साइमन योन्जनका बुबा हेम, आदित्य बलम्पाखीका संरक्षक थापा, दिवस बानियाँका दाइ विवस एन्फाकै कमजोरीले घटना भएको दाबी गर्छन् । कमला रेग्मीले आफ्‌नो छोराले घटना हुनुभन्दा केही घण्टा अघिसम्म कुरा गरेको बताइन् ।
‘छोराले विहानै फोन गरेर पानी परिरहेको बताएको थियो । मैले तिमी त्यहाँबाट कतै नजाऊ है भनेकी थिएँ । नजिक को छ भन्दा पाले अंकल छन् भनेको थियो,’ उनले रुँदै भनिन्‌–उनसँग कुरा गर्दा पनि हामी छौं चिन्ता नलिनु भनेका थिए । मैले पालेसँग कुरा गरेपछि ‘छोराँ भनेर बोलाएकी थिएँ । उसले ‘हजुरँ भनेको थियो । त्यो नै मेरो छोराको अन्तिम बोली थियो । त्यसपछि मैले बारम्बार फोन गरे तर फोन अफ आयो । पछि त समाचारमा पहिरोमा परेको खबर सुने ।
थापाले समेत एन्फाको गैरजिम्मेवारीले बच्चा मारिएको बताए । ‘बच्चालाई विहानै गधाजसरी झोला बोकाएर लगेको भिडियोमै देखिन्छ । बच्चा मरेपछि पनि हामीले लास पाउन सकेनौं । तीन दिनपछि लास पायौं,’ थापाले भने–सर्लाहीमा पूर्वपश्चिम राजमार्ग जाम गरेपछि तीन दिनपछि रामेछाप, सिन्धुली हुँदै शव सर्लाही ल्याए हेलिकोप्टरबाट । उनले आफूहरुलाई राजनीति गर्नु नपरेको तर बच्चा कसरी मारियो छानबिन होस् भनेर सर्वोच्चमा रिट हालेको बताए । न्याय पाइएला कि,’ उनले भने ।
टीका आचार्य र हेमले पनि एन्फाले एकेडेमी सुरक्षा गार्डको भरमा छाडेर जाँदा यस्तो भएको बताए । ४० खेलाडी एक सुरक्षा गार्डको भरमा छाडी बाहिरबाट ढोका लगाएर जिम्मेवार व्यक्ति एकेडेमीमा नबस्दा घटना भएको उनको दाबी छ । ‘घटना घटेपछि एकदिन भेट्न आएका थिए । किरियाको अन्तिम दिन चेक लिएर आएका रहेछन्,’ उनले भने–हामी लिँदैनौं भनेर पठायौं । त्यसपछि हालसम्म मुख देखाउन आएका छैनन् । एन्फा प्रवक्ता सुरेश शाहसँग कुरा गर्दा उनले ‘हाल उक्त विषयमा अदालतमा गएको छ, अदालतमा विचाराधीन विषयमा नबोल्नँ भन्दै पन्छिए ।
प्रधानमन्त्रीको बेवास्ता
पीडित परिवारले निष्पक्ष छानबिन आयोग बनाउन माग गर्दै प्रधानमन्त्री केपी शर्माओली र गृहमन्त्री रमेश लेखकसम्म पुगे । तर, उनीहरुले कुनै चासो नदिएको पीडित परिवारको गुनासो छ । राज्यका जिम्मेवार निकाय र व्यक्ति नै गैरजिम्मेवार बनेपछि अदालतमा रिट दायर गर्नुपरेको अभिभावक थापा बताउँछन् । पीडित परिवारले हालेको रिट सर्वोच्चमा विचाराधीन छ । ‘हामी प्रधानमन्त्री, गृहमन्त्रीसम्म पुग्यौं तर केही भएन अन्त्यमा अदालत गएका हौं,’ उनले भने ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि