माधब न्यौपाने
हेटौंडा/एमालेका संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराष्ट्रपतिहरु पुनः राजनीतिमा फर्किने अभ्यास गलत रहेको धारणा व्यक्त गरेका छन् ।
मकवानपुरका प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले हेटौंडा सन्देशसँगको सम्वादमा राष्ट्रपति र पूर्वराष्ट्रपतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियजगत्मा साझा व्यक्तिका रुपमा हेरिने र यस्ता व्यक्तिहरुलाई विवादित बनाउन नहुने बताएका हुन् । राष्ट्रपति संस्थालाई पार्टी र पार्टीभित्रको अन्तरसंघर्षबाट पृथक् राख्नुपर्ने उनको भनाइ छ । राष्ट्रपति एवम् पूर्वराष्ट्रपतिहरु सबै दलहरुको हारगुहार गर्ने चौतारी बन्नुपर्ने उनको धारणा छ ।
‘राष्ट्रपति भनेको यस व्यवस्थाको गौरव हो । हाम्रो संविधानबमोजिम पनि राष्ट्रपति भनेको राष्ट्रिय एकताको प्रवद्र्धक हो । त्यसकारण यो साझा हुन्छ, अभिभावकीय भूमिका हुन्छ । व्यवस्थाको गौरव र प्रतीकका रुपमा संस्थाले काम गर्छ भन्ने विश्वास गरिन्छ । राष्ट्रपतिप्रतिको जे बुझाइ हो, पूर्वराष्ट्रपतिप्रति पनि भूमिकामा नभए पनि त्यही ओज र गरिमासाथ आमजनताले बुझ्दछन्,’ उनले भने–राष्ट्रमा मात्र होइन, अन्तर्राष्ट्रियजगत्मा पनि । कहिलेकाहीं पूर्वराष्ट्रपतिका अन्तर्राष्ट्रिय भ्रमण हुँदा राष्ट्रपति सरहको सम्मान पाइरहेको हामी देख्छौं । यो पद र संस्थालाई साझा संस्थाका रुपमा लैजानुपर्छ । त्यस संस्थाले आफूलाई त्यही ओजमा राख्नु उपयुक्त हुन्छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश वकिलबाट पनि बन्न सक्ने बताउँदै उनले यसरी प्रधानन्यायाधीश बनेको व्यक्ति रिटायर्ड भएपनि पुनः वकालत पेशामा जान नपाउने बताए । राजनीति गरेर आएको व्यक्ति राष्ट्रपति बन्ने र अवधि समाप्त भएपछि पुनः राजनीतिमा फर्किने परम्परा गलत हुने धारणा उनको थियो । उनले पार्टीभित्र विद्यादेवी भण्डारीलाई अध्यक्ष बनाउने वा कसका विरुद्ध को भन्ने बहस हालसम्म नभएको उनले बताए । नेता बर्तौलाले पार्टीमा अध्यक्ष केपी शर्माओलीको विकल्प पूर्वराष्ट्रपति भण्डारी हुन नसक्ने बताए । उनले एमालेको राजनीति त्यो कोर्समा नजाने उनको दाबी छ ।
तर, नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले राजनीतिमा फर्किने विषयमा अचम्मित हुननपर्ने बताएका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिक व्यक्ति राजनीतिमा फर्किनु कुनै नौलो विषय नरहेको बताएका हुन् । ॅपूर्वराष्ट्रपति पोलिटिकल मान्छे हो । त्यसमा रुचि राख्नु उहाँको धर्म हो । के जिम्मेवारी लिने भन्ने कुरा सल्लाहमा हुन्छ,’ उनले भने । यस विषयमा अध्यक्ष ओलीसहित सबैले सल्लाह गर्ने उनले बताए ।
पूर्वराष्ट्रपति भण्डारीले औपचारिक राजनीतिमा फर्किएको घोषणा गरेपछि उक्त विवाद सतहमा आएको हो । मदन भण्डारीको जन्मजयन्तीको अवसरमा शनिबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले आफू एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी हुन् । त्यसका लागि आफूले पार्टी सदस्यता नवीकरण गरेको पनि भण्डारीले बताइन् । ॅपार्टी सदस्यता नवीकरण गरेकी छु । एमालेका एक सदस्यका रुपमा पुनः जोडिएकी छु,’ उनले भनिन् । पार्टीमा फर्केपछि आफ्नो विशिष्ट आकांक्षा नभएको पनि उनले बताइन् ।
पार्टी जिम्मेवारीमा फर्किएको घोषणाअघि भण्डारीले आफू राष्ट्रपतिबाट बाहिरिएको दुई वर्षको अन्तरालमा आफूले देशका विभिन्न भागमा पुगेर मुलुकको सामाजिक–आर्थिक विकासबारे जनतासँग अन्तर्क्रिया र आफ्नै निवासमा पनि विभिन्न क्षेत्रका विज्ञ विशेषज्ञसँग भेटघाट गरेको उनले बताइन् । ॅयसबाट सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझ पूरा भएको छैन भन्ने मेरो निष्कर्ष छ,’ उनले भनिन् । पार्टी राजीनीतिमा फर्किएको घोषणा गर्दै गर्दा भण्डारीले मदन भण्डारीको भनाइ सम्झिइन् । ॅजननेताले भन्ने गर्नुहुन्थ्यो—जनता भनेका भगवान् हुन् । उहाँले भन्नुभएको थियो—राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन । आज तपाईंहरुबीच हुँदा मदनका यी भनाइ मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेकी छु,’ उनले भनिन् । यी भनाइलाई आदर्श मानेर आफू समर्पित बनिरहने पनि भण्डारीले बताइन् ।
‘राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा मलाई राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका छन्, बुझाएका छन् र थप परिपक्वसमेत बनाएका छन् । मलाई जस्तै विगतले अरुलाई पनि महत्वपूर्ण शिक्षा र अनुभव अवश्य दिएको छ । समयको पदचापलाई राम्रोसँग बुझेर र त्यसलाई आत्मसात् गरेर संयमतापूर्वक अग्रसर हुनुपर्दछ,’ उनले भनिन् ।