24 C
Makwānpur
Homeमुख्य समाचारइन्द्रसरोवर र भीमफेदी सकारात्मक काठमाडौंबासीलाई पानी खुवाउँदै सिस्नेरी मुहान
spot_img

इन्द्रसरोवर र भीमफेदी सकारात्मक काठमाडौंबासीलाई पानी खुवाउँदै सिस्नेरी मुहान

spot_img

मनिता राना
हेटौंडा/खानेपानी मन्त्री प्रदीप यादबले मकवानपुरस्थित सिस्नेरी खोलाको खानेपानी आयोजनालाई तीव्रगतिमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । काठमाडौं उपत्यकाको खानेपानी आपूर्तिलाई दीगो र भरपर्दो बनाउने लक्ष्यसहित मन्त्री यादबले सिस्नेरी आयोजनाको मुहान निरीक्षण गर्दै स्थलगत् अवलोकन गरेका थिए । निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आयोजनालाई यथासक्य चाँडो सम्पन्न गर्ने स्पष्ट निर्देशन दिएको जानकारी गराए । ‘वर्षायाममा मेलम्चीमा कुनै अवरोध आए उपत्यकाबासीले खानेपानी अभाव भोग्नु नपरोस् भन्ने हाम्रो उद्धेश्य हो । त्यसैले सिस्नेरी आयोजना तीव्ररुपमा अघि बढाइनेछ,’ मन्त्री यादबले भने ।

उक्त महत्वाकांक्षी आयोजना समयमै सम्पन्न गर्न संघीय, प्रदेश र स्थानीय सरकारको समन्वय अपरिहार्य रहेको मन्त्री यादबको भनाइ छ । उनले अन्तर्राष्ट्रिय विकास साझेदारको प्रविधि, वित्तीय सहयोग र अनुभवबाट परियोजना छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले भने–मैले तीनै तहका सरकार र अन्तर्राष्ट्रिय साझेदारहरुलाई यस आयोजनामा सहयोग गर्न आग्रह गरेको छु । काठमाडौं उपत्यकाका नागरिकलाई भरपर्दो र दीगो खानेपानी उपलब्ध गराउन हाम्रो सामूहिक प्रयास आवश्यक छ ।

- Advertisement - Ad Banner

काठमाडौं उपत्यकाबासी नागरिकलाई बाह्रै महिना पानी वितरण गर्ने एवम् २४ घण्टा पानी धारामा पठाउने योजनाअनुसार सिस्नेरी खोला खानेपानी आयोजनाको कामलाई तीव्ररुपमा अघि बढाउन लागिएको मन्त्री यादबको भनाइ छ । मकवानपुरको सिस्नेरी खोलामा बाँध निर्माण गरी पानी संलन गरिने र आयोजना सम्पन्न भएपछि दैनिक १३ देखि १४ करोड लिटर पानी ललितपुरको भैंसेपाटी सैंबु जलासयमा पठाइ ललितपुर क्षेत्रभित्र वितरण गर्ने योजना रहेको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) का कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले जानकारी दिए ।

सिस्नेरी आयोजना ललितपुरको सैंबु रिजरभायरबाट करिब १९ किलोमिटर दक्षिणमा पर्दछ । आयोजना कुलेखानी खोला, सिस्नेरी खोला र मकवानपुर हुँदै बगेको बागमती नदीनजिक अवस्थित छ । सिस्नेरीमा रहेको कोगटे खोला कुलेखानी खोलाको शाखा हो भने कुलेखानी बागमती नदीको सहायक खोला हो । यस परियोजनालाई दीर्घकालीन महत्वको आयोजनाका रुपमा लिइएको छ ।

सिस्नेरीमा बाँध निर्माण गरी कोगटे खोला र कुलेखानी खोलाको पानी वर्षायाममा संकलन गर्ने योजना बनाइएको र संकलित पानीलाई पम्पिङ प्रणालीमार्फत सैंबु जलासयमा पुर्‍याइनेछ, जसले ललितपुर महानगर क्षेत्रभरि खानेपानी वितरणको सुनिश्चितता गर्नेछ । सरकारको तीव्र पहल र सबै पक्षको सहकार्यले उक्त आयोजना समयमै सम्पन्न भई काठमाडौं उपत्यकाबासी नागरिकहरुको खानेपानी अभाव अन्त्य गर्ने विश्वास गरिएको छ ।

काठमाडौं उपत्यकामा खानेपानीको समस्या समाधानका लागि बैकल्पिकरुपमा मकवानपुरस्थित सिस्नेरी खोलाको पानी आपूर्ति गर्ने आयोजनाको पूर्वसम्भाव्यता अध्ययन सकिएको हो । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले सम्भाव्यता अध्ययन गरी दैनिक १५ करोड लिटर पानी लिफ्‌िटङ गरी राजधानी लैजान सकिने प्रारम्भिक प्रतिवेदन दिएपछि यसअघिका खानेपानी मन्त्रीले पनि उक्त स्थलको स्थलगत् अध्ययन गरेका थिए । स्थलगत् अध्ययनपछि सञ्चारकर्मीसँग कुरा गर्दै यसअघिका खानेपानी मन्त्री उमाकान्त चौधरीले पाइपलाइन बिच्छ्याएपछि पानी राजधानी लैजान सकिने बताएका थिए ।

मेलम्चीको विकल्पका रुपमा उक्त आयोजनालाई अघि बढाउन लागिएको उनले जानकारी दिए । आयोजनाको खर्च मेलम्चीको भन्दा कम लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । राजधानीमा याङ्गी र लार्केको पानी आउनुअघि नै सिस्नेरीबाट पानी ल्याउने गरी विस्तृत परियोजना प्रस्ताव तयारी एवम् वातावरणीय प्रभाव मूल्यांकनको काम अघि बढाउन लागिएको छ ।

आयोजना सम्पन्न गर्न २६ अर्ब लाग्ने सम्भाव्यता अध्ययनले देखाएको छ । विस्तृत परियोजना प्रस्ताव तयारी र वातावरणीय प्रभाव मूल्यांकनको काम सकी आर्थिक वर्ष २०८०/०८१ देखि नै काम सुरु गर्ने लक्ष्य मन्त्रालयले लिएको थियो । २०७२ को संविधानले मौलिक हकमै खानेपानीलाई राखेपछि यसको पूर्तिका लागि पहिलो प्राथमिकता दिएर काम अघि बढाउन लागिएको हो ।

मेलम्चीको पानी बन्द भएका बेला पनि आपूर्ति नरोक्न बैकल्पिकरुपमा अन्य मुहान र स्रोतको पनि बोर्डले अध्ययन गरिरहेको छ । काठमाडौं उपत्यकाका १८ वटै नगरपालिकाका मुहान संरक्षण गरी पानी संकलन गर्न लागिएको बोर्डका कार्यकारी निर्देशक राणाले जानकारी दिए ।

पानीका स्रोत र मुहान संरक्षणको कार्यक्रमलाई पनि मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिएको छ । बोर्डले पानी सुरक्षाका नक्सा बनाएर काम गरेको जनाइएको छ । त्यहाँको पानी लैजान इन्द्रसरोवर र भीमफेदी गाउँपालिकासँग समेत समन्वय भएको मन्त्रालयले जनाएको छ । दुवै पालिकाले राजधानीमा पानी लैजान सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । त्यहाँको पानी राजधानी लैजाँदा प्रभावित स्थलमा कम बस्ती रहेकाले ठूलो प्रभाव नपर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

दुवै खोलाको पानी बाँध निर्माण गरिने स्थानभन्दा करिब २ सय मिटर तल बागमतीमा मिसिने भएकाले पनि पनि कसैलाई प्रभाव पर्दैन । बागमती बेसिनकै पानी भएकाले केही तल रहेकोमध्ये बागमती जलविद्युत् आयोजनामा पनि प्रभाव नपर्ने जनाइएको छ । काठमाडौं उपत्यकामा आएको पानी प्रयोगपछि प्रशोधन गरेर फेरि बागमतीबाट बाहिरिने भएकाले कुनै प्रभाव नपर्ने बोर्डका कार्यकारी निर्देशक राणाले बताए ।

वर्षाका समयमा सुरुङभित्र बाढी छिर्ने त्रासले मेलम्ची आयोजनाको पानी मुहानस्थल सिन्धुपाल्चोकको हेलम्बुमै बन्द गर्नुपरेपछि खानेपानी मन्त्रालयले काठमाडौं उपत्यकामा बैकल्पिक स्रोतको खोजी गरिरहेको थियो । स्रोत खोजी गर्ने क्रममा बोर्डले मकवानपुरका कुलेखानी खोला र सिस्नेरी खोलाको अध्ययन गरेको थियो । उक्त आयोजना स्थल फर्पिङस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पम्पिङ स्टेसनबाट १४ किलोमिटर दुरीमा पर्ने भएकाले पनि पानी ल्याउन सहज रहेको बोर्डका कार्यकारी निर्देशक राणाले जानकारी दिए । कुलेखानी खोलाको शाखा कोगटेको पानी पनि यसमा मिसिन्छ ।

आयोजनाअन्तर्गत् सिस्नेरीमा बाँध निर्माण गरी कोगटे र कुलखानी खोलाको पानी संकलन गरिने छ । लिमिटेडको सैंबु भैंसेपाटीस्थित पानीपोखरीमा बाँधबाट पानी लगेर काठमाडौं उपत्यकामा वितरण गर्ने लक्ष्य राखिएको छ । प्रस्तावित बाँधको लम्बाइ ३ सय ४० मिटर र उचाईं ६० मिटर रहने छ । बाँध निर्माण स्थल समुद्री सतहबाट एक हजार १ सय २० मिटर उचाईंमा छ । सिस्नेरीमा जम्मा गरिने पानीलाई करिब दुई किमी उत्तरतर्फ रहेको दरबनडाँडा भनिने एक हजार १ सय ४० मिटर उचाईंको स्थानमा ल्याइ पानीपोखरी बनाएर प्रशोधन गरी काठमाडौं उपत्यकामा पठाउने लक्ष्य राखिएको छ । पानीपोखरीबाट हाल निर्माणाधीन द्रुतमार्गमा करिब १९ किमी पाइपलाइन बिच्छ्याइएर ग्राभिटी सिस्टमबाट सैंबु पानीपोखरीमा ल्याउने प्रस्ताव गरिएको बोर्डका इञ्जिनियर नवीन तिवारीले बताए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि