22.2 C
Makwānpur
Homeमुख्य समाचारउद्यमीहरु एक्यबद्ध भएर अघि बढ्नु आवश्यक
spot_img

उद्यमीहरु एक्यबद्ध भएर अघि बढ्नु आवश्यक

spot_img

हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्योग र उद्यमीहरु एक्यबद्ध भएर अघि बढ्नु आजको मुख्य आवश्यकता भएको बताएका छन् ।

मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं वार्षिक साधारणसभा उद्घाटन समारोहमा प्रमुख अतिथि लामाले उद्योग बजार सम्वृद्धिका लागि सबै निकायहरु एकजुट हुनुपर्ने बताएका हुन् । शुभकामना मन्तव्य राख्दै मुख्यमन्त्री लामाले उद्योगभित्र पनि द्वन्द्व बढ्दै गएकाले समग्र उद्योगको विकासमा एकजुट हुन उनले अनुरोध गरे ।

- Advertisement - Ad Banner

उद्योगहरु फष्टाउन नसक्नुका कारण देशमा युवा पलायन र बेरोजगारी बढेको उनले बताए । उनले भने–औद्योगिक ऐनकानुन निर्माणका लागि यहाँका प्रमुख समस्या केलाउनु आवश्यक छ । उद्योग स्थापना र विकासका लागि पर्याप्त लगानी अभाव छ । लगानीका लागि प्रेरक वातावरण छैन ।

छिमेकी मुलुकलगायत विश्वमै तीव्र गतिसाथ औद्योगिक विकासले एकपछि अर्को फड्को मारिरहेको तर नेपालमा औद्योगिक विकासले अपेक्षाकृत गति लिन नसकिरहेको उनले बताए । देशमा औद्योगिक विकासको पर्याप्त सम्भावना हुँदा पनि उपयुक्त व्यवस्थापन क्षमता अभावमा स्रोत, साधन र सम्भावनाहरुको उचित दोहन गर्न नसक्दा उद्योग उत्पादन घट्नुका साथै बन्द हुने अवस्थामा पुगेको उनको भनाइ थियो ।

मुख्यमन्त्री लामाले लगानी प्राधिकरण बनाउने घोषणा गरे । लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकारले लगानी प्राधिकरण बनाउन लागेको उनको भनाइ छ । मुख्यमन्त्री लामाले औद्योगिक क्षेत्र फष्टाउन लगानीमैत्री वातावरण जरुरी भएको जिकिर गरे । सरकारले नियम, कानुन बनाउँदैमा मात्र लगानीमैत्री वातावरण नबन्ने उनले बताए । नियम, कानुन कार्यान्वयन गर्ने पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने उनको धारणा थियो ।

मुख्यमन्त्री लामाले आधुनिक विधि, प्रविधि सदुपयोग गरी उत्पादनमूलक उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए । उद्योगीहरुले पनि आफूहरुबीचको एकता र सहकार्यलाई जोड दिन मुख्यमन्त्री लामाले आग्रह गरे । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले २२ वर्षदेखि मकवानपुरमा बन्द अवस्थामा रहेको रोपवेको ठाउँमा वैकल्पिक यातायातको पोडवे निर्माण गर्नुपर्ने बताए । प्रधानमन्त्रीले चीन भ्रमणको क्रममा पनि पोडवे स्थापनाको सम्भाव्यता अध्ययन र लगानीको लागि चिनियाँ सरकारसँग छलफल अघि बढाएको उनले बताए । प्रमुख सचेतक बर्तौलाले पोडवे निर्माण हुँदा मकवानपुरको उत्तरी क्षेत्रको पर्यटन व्यवसाय फष्टाउने दाबी गरे ।

पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंहले कर्मचारीतन्त्रका कारण राजनीतिक नेतृत्वलाई जनताले नै विश्वास गर्न छाडेको बताए । सरकारले योजना बनाएर लगानी गरिसकेको हेटौंडाको मयुरधाप औद्योगिक क्षेत्रको प्रगति शून्य भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । वनसचिवको निर्णयको कारण सरकारले गौरवको योजना नै सुरु हुन नसक्ने स्थितिमा पुगेको उनको भनाइ छ । सभापति सिंहले सरकारले गफ नभइ काम गरेर देखाउनुपर्ने बताए । आफू ४० दिन ऊर्जा राज्यमन्त्री हुँदा हेटौंडा औद्योगिक क्षेत्रलाई लोडसेडिङमुक्त गरेको सभापति सिंहले दाबी गरे ।

पत्रकारसहित व्यवसायीलाई सम्मान
साधारणसभाको अवसरमा पत्रकारसहित अग्रज व्यवसायीलाई सम्मान गरिएको छ । कान्तिपुर दैनिकमा कार्यरत् पत्रकार प्रताप बिष्ट र रेडियो मकवानपुर तथा प्रदेश दैनिकका गणेशदर्पण अधिकारीलाई नगदसहित पुरस्कृत गरिएको हो । बिष्टलाई नगद २० हजार र अधिकारीलाई १५ हजारसहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो । पूर्वअध्यक्ष हिटलर विशेत, पल्पसा परिकल्पनाकारबाट निवर्तमान अध्यक्ष कृष्ण कटुवाल, उत्कृष्ट कर्मचारी दुर्गा लामिछानेलाई सम्मान गरिएको छ । समाजसेवातर्फ मामाघर नेपाल र संघसंस्थातर्फ साहित्यसंगम मकवानपुरलाई नगद २५ हजारसहित सम्मान गरिएको छ ।

संघले वाणिज्यतर्फ मोहनकृष्ण श्रेष्ठ, उद्योगतर्फ नरहरिनन्दन उप्रेती, एसोसिएट्सतर्फ इभास लाइफ साइन्सेस हेटौंडा–३ र वस्तुगत्‌तर्फ मोबाइल एसोसिएसन हेटौंडालाई सम्मान गरेको हो । सम्मानित तथा पुरस्कृतहरुलाई कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री लामा र संघ अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाललगायतले नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् ।

संघ अध्यक्ष अग्रवालको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सांसद् राजेन्द्र केसी, विन्दावासिनी कसांकार, बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङ, प्रदेश सांसद् प्रेमबहादुर पुलामी, भारती पाठकलगायत उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरु, उद्योगी/व्यवसायीको उपस्थिति थियो । मकवानपुर उद्योग वाणिज्य संघको साधारणसभा तथा अधिवेशन २७ पुससम्म हुनेछ । साधारणसभाले तीन वर्ष कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल र वर्तमान उपाध्यक्ष प्रमोदसिंह रानाभाट प्यानल बनाएर चुनावी मैदानमा उत्रिँदैछन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि