हेटौंडा÷ शनिबार (हिजो) देखि धादिङमा राष्टिूय स्वतन्त्र पार्टी (रास्वपा) की आशिका तामाङ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता राजेन्द्र पाण्डेबीच बिवाद चुलिएको छ । धादिङ–१ मा उम्मेदवार बनेका पाण्डे र तामाङ चुनावी प्रचारप्रसारका क्रममा नेकपाका कार्यकर्ताहरुले आफ्नो सवारी तोडफोड गरेको आरोप आशिकाले लगाएकी छिन् ।
उनले गाडीको तस्बिर सार्वजनिक गर्दै सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छिन्, ‘गाडी घेराउ गर्ने, गाडी भित्र भएका लाई मुख छाड्ने, अराजक गतिविधि गर्ने, गाडीमा हालेको झन्डा चोरेर लाने अनि लातै लात्तीले हानी गाडी कुच्याइ दिने, सिसा फुटाइदिनेलाई कारबाही हुन्छ कि नाइँ ?’
आशिकाको सचिवालयका अनुसार उनी चढेको गाडी अगाडि र उक्त तोडफोड भएको गाडी पछाडि थियो । रास्वपाको प्रचार टोली र नेकपाको प्रचार टोली भेट भएपछि सबैभन्दा लास्टमा रहेको गाडीमा नेकपाका कार्यकर्ताले तोडफोड गरेका बताइएको छ। ५०÷६० जना रहेकोमा ४÷५ जनाको समूह आएर गाडीमा तोडफोड गरेको आशिकाको सचिवालयको दाबी छ ।
यता, नेकपाबाट यसै क्षेत्रका लागि उम्मेदवार बनेका राजेन्द्र प्रसाद पाण्डेले उकालोमा गाडी नचढेका कारण धकेरलेर सहयोग गरिएकोमा उल्टै तोडफोडको आरोप लगाएको बताउँछन् । पाण्डेका अनुसार धादिङको थाक्रे गाउँपालिका(८ मा रास्वपाको टोलीसँग भेट भएको स्वीकार गरेका छन् ।
थाक्रे गाउँपालिका(३ को सुनुवार गाउँबाट हाम्रो प्रचारप्रसार सुरु गरेका थियौं, वडा नम्बर ४, ५, ७ को गाउँहरु हुँदै वडा नम्बर ८ मा आइपुग्दा हाम्रो प्रचार टोलीको संख्या निकै ठुलो थियो, उनले भने, ‘गाउँगाउँका टोलीहरु जम्मा भएका थियौं । त्यहीबेला रास्वपाकी उम्मेदवारलाई पनि भेट भयो । उनको गाडीमा कुनै समस्यै थिएन । उनको सहयोगीको गाडी उकालोमा अड्किएर उक्लन नसकेको अवस्था थियो। हाम्रो कार्यकर्ता साथीहरुले बाइकबाट झरेर धकेलेर सहयोग गरेका हुन् । त्यो भन्दा बाहेक केही घटना घटेको छैन ।’
निर्वाचनको माहोल बिगार्न रास्वपाले फण्डा बनाएको पाण्डेको आरोप छ। यत्तिकै फण्डा बनाएर सिडियोलाई उजुरी गर्ने, निर्वाचन अधिकृतलाई उजुरी गर्ने काम भएको उनको भनाइ छ । कोही कसैले कसैलाई नराम्रो शब्द समेत नबोलेको पाण्डेको दाबी छ । दुवैजनाले सामाजिक सञ्जालमार्फत आरोप प्रत्यारोप लगाइरहेका छन् । धादिङ(१ मा नेकपाका पाण्डे, रास्वपाकी तामाङ सहित २४ उम्मेदवार चुनावी मैदानमा छन् ।










