24.6 C
Makwānpur
Homeटप न्युजबढ्दै प्रेस स्वतन्त्रतामाथिका चुनौती

बढ्दै प्रेस स्वतन्त्रतामाथिका चुनौती

हेटौंडा । नेपालमा पछिल्लो समय प्रेस स्वतन्त्रतामाथि विभिन्न प्रकारका चुनौती बढ्दै गएको छ । राजनीतिक पद्धतिको अभ्यासलाई मापन गर्ने मुख्य कसी प्रेसको स्वतन्त्रतामाथि आक्रमणहरु दिनदिनै बढ्दै गएका छन् । अघिल्ला वर्षहरुको तुलनामा गत आर्थिक वर्ष प्रेस स्वतन्त्रता हनन्का घटना बढेको पाइएको हो ।

प्रेस स्वतन्त्रताको स्तरले राजनीतिक पद्धतिको अभ्यासको स्थितिलाई प्रष्ट पारेर अधिनायकवादी र निरंकुश व्यवस्था तथा एकदलीय व्यवस्थामा प्रेस स्वतन्त्रता हुँदैन, लोकतन्त्रमा प्रेस स्वतन्त्रता हुन्छ भन्ने मान्यता रहेको अवस्थामा केही अभ्यासबाट लोकतान्त्रिक शासन व्यवस्था हुँदैमा प्रेस स्वतन्त्रता सुनिश्चित हुँदैन भन्ने देखिएको छ ।

प्रेस स्वतन्त्रतामाथिको आक्रमणका कारण सञ्चारगृह सञ्चालक र श्रमजीवी पत्रकारमा चुनौतीसँगै नैराश्यता पनि बढ्दै गएको छ । बढ्दै गएको प्रेस स्वतन्त्रता हनन्का घटनाका कारण पत्रकारिता क्षेत्रमा निराशा उत्पन्न हुँदै गएको प्रतीत हुन्छ । प्रेस काउन्सिल नेपालीका अनुसार आव २०८०–०८१ मा प्रेस स्वतन्त्रता हनन्का ७९ घटना भएको पाइएको छ । तीमध्ये धम्की–दुव्र्यवहारका घटना सबभन्दा बढी ३७ छन् । प्रेस स्वतन्त्रता हनन्का घटनासँग कुनै न कुनै रुपमा हिंसा जोडिएको हुन्छ । हिंसालाई मूलतः तीन प्रकार शारीरिक, मानसिक र भौतिक वस्तुमाथिको आक्रमणका रुपमा लिने गरिन्छ । आमसञ्चार माध्यममाथि गरिने आक्रमणमध्ये सबभन्दा खतरनाक शारीरिक हिंसा नै हुन्छ । जसअन्तर्गत् हत्या, कुटपिट र अंगभंग तुल्याइने अवस्थालाई लिइन्छ । मानसिक हिंसाअन्तर्गत् पत्रकारले दुव्र्यवहार, दुरुत्साहन वा सेन्सरसिपको अवस्था सामना गर्नुपर्दछ । धम्की यसअन्तर्गत् पर्छ ।

पेसागत् असुरक्षाका घटना १६, कुटपिट–आक्रमण १२, कब्जा–अवरोध ५, शंकास्पद् मृत्यु २ र लैंगिकसम्बन्धि १ घटना छन् । प्रदेशको तथ्यांक हेर्दा सबभन्दा बढी वागमती प्रदेशमा ३८ घटना भएका छन् । कब्जा–अवरोधअन्तर्गत् जफत, साधन लुटपाट, संस्था नियन्त्रण, सञ्चार संस्था अवरुद्ध, रिपोर्टिङमा अवरोध, प्रकाशन, प्रसारण वा वितरणमा अवरोध रहने गरेका छन् ।
मधेस प्रदेशमा २०, कोशीमा १०, गण्डकीमा ५, लुम्बिनीमा ३, सुदूरपश्चिममा २ र कर्णाली प्रदेशमा १ वटा प्रेस स्वतन्त्रता हनन्का घटना भएका छन् । आर्थिक वर्ष २०७९–०८० को तथ्यांक हेर्दा प्रेस स्वतन्त्रता हनन्का ६७ घटना थिए । प्रेस काउन्सिल नेपालले कानुनले दिएको जिम्मेवारीअनुरुप देशभर सञ्चारमाध्यम र सञ्चारकर्मीको अवस्थाबारे नियमित अनुगमन गरिरहेको छ । प्रेस स्वतन्त्रता रक्षा गरी मिडिया प्रवद्र्धनमा सघाउन विभिन्न क्रियाकलाप गर्दै आएको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालले जानकारी दिएका छन् । प्रेस स्वतन्त्रता दुरुपयोग हुन नदिन सदैंव सचेत गराउँदै आएको उनले बताएका छन् ।

सञ्चार क्षेत्र र प्रेस स्वतन्त्रतामाथिको आक्रमण पछिल्लो समय बढ्दै जानु सञ्चारकर्मी र सम्पूर्ण सञ्चार क्षेत्रकै लागि चिन्ताको विषय बनेको पत्रकार महासंघ वागमती प्रदेश सचिव कृष्ण सारुमगरले बताएका छन् । राज्य र अन्य विभिन्न क्षेत्रबाट सञ्चार क्षेत्रमा आक्रमण भइरहेको बताउँदै उनले केही सञ्चारमाध्यमका पनि कमीकमजोरी हुने गरेको दाबी गरे ।
प्रेस स्वतन्त्रताको अवधारणाले पूर्ण प्रेस स्वतन्त्रताको परिकल्पना गरेको हुन्छ । सत्यतथ्य कुरा बाहिर ल्याउनुपर्छ भन्ने मान्यता राखिएको हुन्छ । जवाफदेहीताले प्रेस स्वतन्त्रता भनेको स्वेच्छाचारी हुँदैन, मूल्यमान्यता र सामाजिक दायित्व तथा जवाफदेहीताबाट प्रेस निर्देशित हुन्छ भन्ने मान्यता राख्छ । पछिल्लो समय जुनसुकै विषयमा समाचार आए पनि तत्काल प्रतिक्रिया जनाउने र सञ्चारमाध्यमले सत्य समाचार प्रकाशन गर्दा पनि गलत बनाउन खोज्ने प्रविधि बढ्दै गएको उनले बताए । सञ्चारगृहका मालिकहरुबाट पेसागत् असुरक्षाका समस्या पनि पछिल्लो समय उत्तिकै रहेको उनको भनाइ छ ।

सञ्चारमाध्यमले विश्वासनियता बढाउनेतर्फ सचेत हुनुपर्ने अनि राज्य र सबै सरोकारवाला निकाय प्रेस स्वतन्त्रता रक्षाका लागि जिम्मेवार हुनुपर्ने उनले बताए । ‘राज्यले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई दबाउन जुन नीतिनियम बनाउँछ, त्यसको सदैंव आलोचना गर्दै आएका छौं,‘ उनले भने ।

उनका अनुसार प्रेस स्वतन्त्रता हनन्का घटनाको अनुगमन गर्न नेपाल पत्रकार महासंघले संस्थागत् ढाँचासम्बन्धि साझा मानदण्ड तयार पारेको छ । जसमा १० वटा मुख्य र त्यसअन्तर्गत् सहायक मापदण्ड कायम गरिएका छन् । मृत्यु–हत्याअन्तर्गत् लक्षित हत्या, लक्षित नगरी भएका हत्या, शंकास्पद् मृत्यु, दुर्घटनाबाट मृत्यु, आत्महत्या राखिएको छ । जसअन्तर्गत् घटनादर्ता गर्दा त्यस्ता घटना पत्रकारिता पेसासँग जोडिएको छ कि छैन भन्ने हेर्ने गरिन्छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here