Homeटप न्युजचलेका होटलहरु नै २५ हजार जरिवानामा

चलेका होटलहरु नै २५ हजार जरिवानामा

– मनिता राना

हेटौंडा– दशैं, तिहार, छठलगायत महत्वपूर्ण चाडपर्वमा मात्र होइन, अन्य समयमा पनि दैनिक उपभोग्य बजारको चरम मारमा उपभोक्ता पर्ने गरेका छन् ।

विशेषगरि चाडपर्वको मौका पारेर व्यापारी उपभोक्तालाई महंगो मूल्यमा वस्तु तथा सेवा बिक्री गर्न तल्लिन हुन्छन् । उपभोक्ता पनि स्वयम् जागरुक र जिम्मेवार नबन्दा गुणस्तरहीन खाद्यवस्तु र सामग्री उपभोग गरेर कालोबजारी गर्नेलाई बल पुगिरहेको छ । वस्तु र सेवाप्रदायक उपभोक्ताप्रति इमान्दार नबन्दा बजारमा एकातिर कालोबजारी र महंगी मौलाएको छ भने अर्कोतर्फ बजार अनुगमन गर्ने निकायको प्रभावकारिता पनि नदेखिएको उपभोक्ता अधिकारकर्मीको गुनासो छ ।

उपभोक्ता आफैं पनि सचेत नभएसम्म बजारमा उपभोग्य सामग्रीको महंगी र कालोबजारी नियन्त्रण नहुने निश्चित छ । उनीहरु भन्छन्–उपभोक्ताको मुहार हेरेर व्यापारीले मूल्य निर्धारण गर्छन् । अनुगमनकारी निकाय मूकदर्शक बनिरहेको अवस्था छ र त्यसैले व्यवसायीलाई अनुशासित तुल्याएर उपभोक्तामैत्री नबनाएसम्म बजार स्वच्छ रहन सक्दैन । त्यसमा उपभोक्त स्वयम् पनि जागरुक र जिम्मेवार बन्नु जरुरी छ ।

दशैं, तिहारललगायत पर्वमा मात्र नभइ बजार अनुगमनलाई निरन्तर अभियानका रुपमा सञ्चालन गरिनुपर्ने अधिकारकर्मीको धारणा छ । बजारको प्रभावकारी अनुगमन हुन सकेको छैन । व्यापारीले उपभोक्तालाई चर्को मूल्यमा वस्तु तथा सामग्री खरिद गर्न बाध्य तुल्याइरहेका छन् । खाद्य उपभोग्य वस्तुमात्र नभइ चाडपर्वमा गाउँघर जाने यात्रुलाई सडक तथा हवाई यातायातमा महंगो भाडाले पिरोलेको छ ।

चर्को मूल्य तिरेर भए पनि उपभोक्ताले सहजरुपमा सेवा पाउन नसकेको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । महंगोमा वस्तु तथा सामान खरिद गर्दा गुणस्तरीय सामान पाउन उपभोक्तालाई मुस्किल छ । विद्यमान अनुगमन प्रणालीमा विशेषज्ञसहित अनुगमन नहुँदा उपभोक्ताको स्वास्थ्यमाथि नै जोखिमको सम्भावना बढेको छ ।

उपभोक्ता अधिकारकर्मीले प्रभावकारी बजार अनुगमन नभएको गुनासो गरिरहँदा सरकारी निकायले भने दैनिक उपभोग्य बजारको प्रभावकारी अनुगमन गरी आपूर्तिलाई सहज बनाउन सक्रियढंगले लागेको बताएको छ । हाल आपूर्ति सहज गरी उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण तथा सामग्रीको गुणस्तर कायम गर्न सरोकारवाला निकाय समन्वयात्मकढंगले सक्रियरुपमा परिचालन भएको बताइएको छ । उनीहरुले आपूर्ति सहजीकरणसँगै मूल्यवृद्धि नियन्त्रण गर्न आफूहरु लागिपरेको बताएका छन् ।

‘नागरिकको सेवालाई चुस्तदुरुस्त बनाउन र उपभोग्य वस्तुको मूल्य स्थिर र गुणस्तरीय खाद्य सामग्री सुनिश्चित गर्न हामी क्रियाशील भएर लागेका छौं,’ हेटौंडा उपमहानगर उद्योग, पर्यटन, सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेलले बताए । बजार अनुगमनको नेतृत्व नगरपालिकाले गरिरहेको र त्यसलाई सहजीकरण गर्न आवश्यक सुरक्षाकर्मीको व्यवस्थापन गरिएको उनले जानकारी दिए ।

दशैं, तिहार, छठलगायत चाडपर्वमा हुने सम्भावित जोखिम नियन्त्रण गर्न चाडपर्वकेन्द्रित सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको उनले जानकारी दिए । चार वटै सुरक्षा अंगको समन्वय गरी एकीकृत योजना कार्यान्वयनमा ल्याइएको उनको भनाइ थियो ।

हेटौंडा उपमहानगरपालिकाको नेतृत्वमा चाडपर्वलक्षित बजार अनुगमन सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, खाद्यप्रविधि तथा गुणनियन्त्रण कार्यालय, घरेलु उद्योग वाणिज्य कार्यालय र उपभोक्ता हित संरक्षण मञ्चको संयुक्त बजार अनुगमन सुरु भएको हो ।

यसपालिदेखि बजार अनुगमनलाई विगतमा भन्दा प्रभावकारी बनाइएको छ । सरोकारवाला निकायले बजार अनुगमनलाई आक्रामक बनाउँदै कमजोरी देखिए ठाउँको ठाउँ कारबाही गरेर जरिवाना तिराइने भएको छ । विगतमा बजार अनुगमनबाट फर्किएर कार्यालयमा कमजोरीका दृष्टिले कस्तो कारबाही गर्ने भन्ने निर्णय हुने गरेको थियो । यसो हुँदा कमजोर कारबाही र बजार अनुगमनको प्रभावकारितामाथि प्रश्न उठ्ने गरेको थियो ।

यसअघि विभिन्न निकायसँग समन्वय गरेर गर्ने बजार अनुगमन नाममात्रको हुने गरेको पाइएको उपभोक्ताहरुले गुनासो गर्ने गरेका थिए । अनुगमनका क्रममा ब्यापारी तथा व्यवसायीलाई दिइएको निर्देशन कार्यान्वयन नभएपछि नाममात्रको बजार अनुगमनमा सीमित हुने गरेको उपभोक्ताको भनाइ थियो ।

तर, बिहीबारबाट सुरु बजार अनुगमनले भने कमजोरी देखिए ठाउँको ठाउँ कारबाही गर्दै जरिवाना तिराएको हो । हेटौंडामा वर्षौदेखि सञ्चालनमा आएको हेटौंडा–४, पारिजातपथस्थित दाजुभाइ फाष्टफुडलाई संयुक्त बजार अनुगमनका क्रममा उपमहानगरपालिकाले २५ हजार जरिवाना गराएको छ । चितवनको शाखाका रुपमा रहेको पारिजातपथकै वैष्णव होटललाई पनि २५ हजार जरिवाना गराइएको छ । यी दुई होटललाई सात दिनभित्र उपमहानगरपालिका कार्यालयमा जरिवाना तिर्न पत्र काटिएको छ ।

दाजुभाइ फाष्टफुडमा भान्सा फोहोर भएको, मम बनाउन ल्याइएको बन्दा कुहिएको अवस्थामा अव्यवस्थितसँग राखिएकोलगायत कमजोरी फेला परेको थियो । दाजुभाइ फाष्टफुड सञ्चालक राजकुमार गौतमलाई शुक्रबार १० बजे कार्यालयमा अनिवार्य उपस्थित हुन अनुगमन समितिले निर्देशन दिएको थियो । दाजुभाइको भृकुटीपथमा रहेको मिठाइको भान्सामा फोहोरको ढल निकास नगरी नजिक मिठाइ बनाइरहेको अनुगमन टोलीले फेला पारेको थियो । भान्सासुधार गर्न निर्देशन दिइएको उपमहानगर उद्योग, पर्यटन, सहकारी शाखा प्रमुख पौडेलले जानकारी दिए ।

वैष्णव होटलले ढुसी परेको पाउरोटी बिक्रीका लागि राखेको अनुगमन टोलीले फेला पारेको थियो । वैष्णवमा भान्सा सरसफाइ नगरिएको, उद्योग वाणिज्य कार्यालयमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको, बिक्रीका लागि राखिएका खाद्यवस्तुको लेबलिङ उपयुक्त तरिकाले नराखेको भेटिएको थियो । वैष्णव होटलले चितवनबाट ममलगायत तयारी खाद्यवस्तु हेटौंडा ल्याएर बिक्री गर्ने गरेको खुलेको छ । पारिजातपथमा अनमोल होटलको भर्खर सञ्चालनमा आएको भनिएको नयाँ होटललाई सचेत गराइएको छ ।

बजार अनुगमनको नेतृत्व उपमहानगरको आर्थिक विकास महाशाखाअन्तर्गत् उद्योग, पर्यटन, सहकारी शाखा प्रमुख पौडेलले गरेका थिए । अनुगमनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका दीपक पौडेल, खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक दीपक घिमिरे, घरेलु उद्योग कार्यालय प्रमुख रामप्रसाद भुसाल, उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च केन्द्रीय उपाध्यक्ष बासु खतिवडा, मकवानपुर उद्योग वाणिज्य संघका पवन कार्कीलगायतको उपस्थिति थियो ।

‘अब हामी अनुगमनकै क्रममा जरिवाना तिराउँछौं । यसो हुँदा अनुगमनको पनि प्रभावकारिता हुन्छ । यसअघि धेरै पटक सचेत गराउँदा पनि होटल सञ्चालकहरु अटेरी बनिरहेका छन् । उपमहानगर कारबाहीलाई पनि झन् बलियो बनाएर जान्छ,’ पौडेलले भने । उपभोक्तालाई ढुक्कसँग खाद्यवस्तु उपभोग गर्नसक्ने वातावरण निर्माणका लागि उपमहानगरपालिका लागिपरेको पौडेलले बताए । उनले बजार अनुगमनलाई तीव्रता दिइने बताए ।

‘बजारमा देखिने गैरव्यावसायिक क्रियाकलाप, उपभोक्ता ठगी, अनुचित व्यापारिक क्रियाकलाप, बिलविजक जारी नगर्ने, न्यून गुणस्तरीय वस्तुको बिक्री–वितरणलगायत क्रियाकलाप न्यूनीकरण गर्न तथा स्वच्छ बजार कायम गरी उपभोक्ताको अधिकार संरक्षण गर्न नगर क्रियाशील छ,’ उनले भने । उनले भने–अन्य समयको तुलनामा भन्दा चाडपर्वमा विशेष कालोबजारी हुने भएकाले अहिलेदेखि नै रणनीति बनाएर जान लागेका हौं । भने–अब दैनिक टोलीले बजार अनुगमन गर्नेछौं, चाडपर्वमा जनशक्ति बढाएर जाने तयारी छ ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here