मनिता राना\हेटौंडा/हालैको वर्षाको कहरपछि तराईलाई संघीय राजधानी जोड्ने अन्य राजमार्ग अवरुद्ध भइरहँदा देशको पहिलो त्रिभुवन राजपथले भने आफ्नो कर्तव्य र जिम्मेवारी भुलेको छैन । मंगलबारसम्म पनि कयौं राजमार्गमा आवागमन अनिश्चित भइरहँदा पनि राजपथ भने सुचारु रहयो । काठमाडौंका नागरिकको दैनिक जीवन र भान्छासँग सीधा जोडिए पनि राजपथ भने सधैं हेलाको मार्ग बन्दै आएको छ । अत्यन्त बढी घुम्ती सडक भएको हुँदा उक्त राजमार्गलाई पारवहनको दृष्टिकोणले त्यति सहज मानिँदैन । तर, अन्तिममा काम आउने राजमार्ग भनेकै त्रिभुवन राजपथ नै देखिएको छ । यसलाई बेलाबेला मर्मत गनेतर्फ खासै ध्यान पुगेको देखिँदैन ।
यसलाई मर्मतसम्भार तथा सडक फराकिलो पार्नु आवश्यक छ । हाल पनि तीसौं ठाउँमा पहिरोले बाटो साँघुरो बनाएको
छ । तर, पन्छाउने प्रयाससम्म गरेका छैनन्, नेकपा एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान गुनासो गर्छन्-दैनिक सयौं गाडी आवतजावत गर्ने हुँदा दुर्घटनाको जोखिम बढेको छ । बाटो साँघुरो हुँदा मंगलबार साँझ अघोर खण्डमा सवारी जाम देखियो । हेटौंडा-सिस्नेरी, हेटौंडा-कुलेखानी-फाखेल-काठमाडौं छोटो दुरीका दुवै सडकहरु लामो समयका लागि अवरुद्ध हुन पुगेका छन् । तसर्थ, त्यसको चाप त्रिभुवन राजपथ (बाइरोड), बज्रबाराही-बिसिङखेल-चित्लाङ सडकमा बढ्नु स्वभाविक हो । तसर्थ, बजार क्षेत्रका बासिन्दाले सवारी पार्किङ, सामान बेचबिखन गर्दा पर्याप्त सडक भाग छाड्न, सवारीसाधनहरु दौडाउँदा होसियारी अपनाउन, बालबच्चाहरुलाई एक्लै सडकमा नछाड्न, स्कुल पठाउँदा र फर्किने समयमा सडक क्षेत्रमा पुर्याउन र लिन जान, चौपाया सडकमा जथाभावी नछाड्न र सवारीसाधन मुल सडकमा पार्किङ नगर्न उनको आग्रह छ ।
त्रिभुवन राजपथ नेपालको राजधानी काठमाडौंलाई तराईसँग जोड्ने बैकल्पिक राजमार्ग हो । उक्त राजमार्ग काठमाडौंबाट सुरु भएर पर्साको वीरगञ्जसम्म पुगेको छ । राजमार्गको लम्बाइ १८८.७९ किमि छ । उक्त राजमार्ग मकवानपुरको हेटौंडामा महेन्द्र राजमार्गसँग जोडिएको छ । २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्र आएपछि पहिलो विदेशी कुटनीतिक व्यक्तिको भ्रमणका रुपमा २००८ असार २ गते तत्कालीक भारतीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरु नेपाल भ्रमणमा आएका थिए । यही भ्रमणको समय राजा त्रिभुवनले देशमा सडक यातायातको असुबिधा रहेको जानकारी गराएपछि पण्डित नेहरुले छिट्टै राजमार्ग निर्माणमा सहयोग गर्ने आश्वासन दिएर फर्केका थिए ।
नेहरु स्वदेश फर्केको केवल ९ महिनापछि चैत २००८ मा नै भारतीय सेनाका इञ्जिनियरहरुको टोली सर्भेका लागि आइपुगेका थिए । भारतीय सेनाका रिटायर्ड कणर्ेल ग्रान्टको निगरानीमा आएका सैनिक इञ्जिनियरहरुले निकै कठिन रहे पनि राजमार्ग निर्माण गर्न सकिने जानकारी गराएका थिए । सबभन्दा कठिन कार्य ठूला रोड-रोलरलाई थानकोट पुर्याउनुको समस्या थियो । रोड-रोलरलाई खोलेर विभिन्न सामान कुनै भरियाहरुबाट त कुनै रोपवेबाट थानकोट पुर्याइएपछि फेरि जोड्ने कार्य गरियो । अन्ततः २००९ मंसिर ७ गते शनिबार विवाहपञ्चमीको साइत पारेर चन्द्रागिरितर्फबाट डोजरले खनेर राजमार्ग निर्माणको शुभारम्भ गरिएको थियो ।
चन्द्रागिरिदेखि भैंसे दोभानसम्मको केवल ७९ माइल (१ सय २७ किमी) को राजमार्ग निर्माणका लागि तीन भागमा विभाजन गरिएको थियो । पहिलो भाग भैंसे दोभानदेखि सीमभञ्ज्याङसम्मको २९ माइल (४७ किमी), दोस्रो भागमा थानकोटदेखि पालुङखोलाको ३८ माइल (६१ किमी) र तेस्रो पालुङखोलादेखि सीमभञ्ज्याङको १२ माइल (१९ किमी) मा विभाजन गरिएको थियो । सीमभञ्ज्याङ सबभन्दा उचाईंमा रहेकोले पनि निर्माणमा कठिनाइ थियो । सडकको मापदण्डअनुसार सडकलाई सेनाका इञ्जिनियरहरुले क्लास-९ अन्तर्गत् राखेका थिए । ३ टन भन्दा बढी ढुवानी गर्न नसकिने, सडकको चौडाईं समथर स्थानमा २१ फिट र उकालोमा १८ फिट रहने योजना गरिएको थियो । पूरै राजमार्गमा ८ सय ठूला कलभर्ट, ५० वटा साधारण कलभर्ट, ७ वटा पुल तथा १६ स्थानमा सडकमा पानी बग्न मिल्ने गरी ढलान गरेर पक्की सडक बनाउनुपर्ने थियो ।
भारतीय सेनाका इञ्जिनियरहरुको साथ ३ हजार ४ सय ५० नेपाली मजदुर थिए । १ हजार ५ सय ५० मजदुर भैंसे दोभानतर्फ थिए, ८ सय मजदुर पालुङखोलातिर थिए भने १ हजार १ सय मजदुर थानकोटतर्फ थिए । ७१ वटा ठूला मशिनरी इक्विप्मेन्ट (बुलडोजर, रोडरोलर, कम्प्रेसर) निर्माणमा लगाइएको थियो । उद्घाटनको समयसम्ममा यी मशिनले झण्डै १ लाख ७५ हजार लिटर पेट्रोल तथा १ लाख ४४ हजार लिटर डिजल सिध्याएको थियो । ५ सय नेपाली सैनिक जवान पनि निर्माणको क्रममा खटाइएको थियो । चट्टान फुटाउनका लागि २ लाख पाउण्ड विष्फोटक भारतबाट ल्याइएको थियो भने नेपालमै १ लाख ९६ हजार पाउण्ड ब्लाक पाउडर उपयोग गरिएको थियो । निर्माणको क्रममा आठ मजदुरले जीवन गुमाउनुपरेको थियो ।
एक वर्षपछि मंसिर २६, २०१० मा विवाहपञ्चमीकै दिन पारेर जीपमात्र चलाउन सकिने गरि बडामहारानी कान्नि राज्यलक्ष्मीले राजमार्गको उद्घाटन गरिन् । उद्घाटन समारोहमा युवराज महेन्द्र, प्रधानमन्त्री मातृकाप्रसाद कोइराला तथा भारतीय राजदुत बीके गोखलेले सम्बोधन गरेका थिए । यसरी जीपका लागि २०१० मंसिरमा उद्घाटन भए पनि ट्रक गुड्न भने अर्को दुई वर्ष पर्खनुपर्यो । नियमित ट्रकबाट ढुवानीसेवा भने नेपाल ट्रान्सपोर्ट सर्भिस स्थापनापछि २०१५ चैतदेखि बल्ल भयो । असार २०१६ सालबाट नेपाल ट्रान्सपोर्ट सर्भिस नियमित बस सेवा काठमाडौंबाट अमलेखगञ्जसम्म शुरु भएको थियो । पहिले नेपाल गभर्मेन्ट रेलवेले नियमित सेवा दिएको हुँदा काठमाडौंलाई अमलेखगञ्जसम्म मात्र जोडिएको थियो । पछि रेलसेवा बन्द हुन थालेपछि वीरगञ्जबाट अमलेखगञ्जको सडक यातायातले प्राथमिकता पाउन थाल्यो ।
कान्तिलोकपथमा क्षति धेरै अविरल वर्षाका कारण आएको बाढीपहिरोले कान्तिलोकपथ र वागमती पुलमा धेरै क्षति पुगेको छ । मकवानपुर भीमफेदी गाउँपालिका-८, महादेवटार र ललितपुरको वागमती गाउँपालिकाको बगुवास्थित वागमती खोलामा निर्माण गरिएको पक्की पुलमा वागमतीले क्षति पुर्याएको छ । १२ वर्षअघि निर्माण गरिएको पुलको मकवानपुरतर्फको १५ दशमलव ७ मिटर स्ल्याब बगाएको छ भने पुल पुग्ने करिब ४ सय मिटर कालोपत्र सडक खोलाले बगाएको छ । कालोपत्र सडक भएको स्थानबाट वागमती बगिरहेको छ । वागमतीले धार बदलेकाले मकवानपुरतर्फ पुल र पहुँचमार्ग बगाएको हो । हेटांैडाबाट संघीय राजधानी प्रवेश गर्ने राजमार्ग नै बाढीपहिरोले क्षतविक्षत बनाएको छ ।