सुनिता बिष्ट
हेटौंडा/बुधबारदेखि परेको वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपलिका-२ स्थित कुलेखानी जलविद्युत् केन्द्रको जलाशाय भरियो । १ हजार ५३० मिटर क्षमताको जलाशयमा क्षमताभन्दा बढी पानी भरिएपछि बाँध फुट्ने त्रासले केन्द्रका प्राविधिकहरुले शनिबार विहान ५ः४५ बजेतिर बाँधका दुवै ढोका खोलिदिए । बाँध खोलेपछि हुनसक्ने जोखिम न्यूनीकरणका लागि केन्द्र प्रमुख ई. तारादत्त भट्टले शुक्रबार दिउ“सो नै सरोकारवाला निकायहरुमार्फत् जानकारी गराउन आग्रह गरेका थिए । भट्टद्वारा हस्ताक्षरित पत्रमा बाँध खोल्नपर्ने स्थिति आउनसक्ने भन्दै सुरक्षित रहन आग्रह गरिएको थियो । कुलेखानी ड्याम खोल्दा इन्द्रसरोवर-३ मा पर्ने टेकर, सिस्नेरीलगायत क्षेत्रहरु डुबानमा पर्नेमा दुई मत थिएन । एकातिर भारि वर्षाले बढेको खोला, त्यसमा पनि ठाउँठाउँमा गएको पहिरोले स्थानीय यसै पनि त्रसित थिए ।
कुलेखानीको बाँध फुटे ठूलो क्षति हुने त्रासले मिर्मिरेमै दुवै ढोका खोलियो । जसले विहानै सुरक्षित स्थानतर्फ जान लागेका एन्फा एकेडेमीका विद्यार्थीहरुलाई पहिरोले पुर्यो । इन्द्रसरोवर-३ मा रहेको वत्सलादेवी माविमा सञ्चालित अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीमा फुटबल प्रशिक्षणमा बसेका विद्यार्थीहरु सुरक्षित स्थानमा जान विद्यालयको होस्टलबाट निस्किए । ४० जना विद्यार्थीलाई लिएर विद्यालयका सहायक प्रधानाध्यापक सुदर्शन घिमिरे, होस्टेल वार्डेनलगायत ४ शिक्षकले विद्यार्थीहरुलाई टेकरमा रहेको एक रिसोर्टमा राख्न लैजाँदै गरेका थिए ।
कुलेखानी ड्यामको बाँध खोलेको खबर पाएपछि विद्यार्थीहरु त्रसित भएकै कारण यस्तो घटना घट्न पुगेको एन्फा एकेडेमीका सदस्य रुपेश थापा बताउँछन् । हाम्रो विद्यालयलाई कुलेखानी ड्यामको पानीले कुनै असर गर्ने अवस्था थिएन, उनले भने-यहाँ बसेका बालकका अभिभावकहरुले फोन गरेर ड्यामको पानी खोलेको जानकारी गराइदिए । एक्कासी ड्यामको दुवै ढोका खोलेको सूचनाले विद्यार्थीहरु डराएका थिए । हामी विहानै उक्त रिसोर्टमा जान हिँडेका थियौं । आत्तिएर दुई वटा बाटो भएर छिटो हिँड्न खोज्दा पहिरोले पुर्यो ।
पहिरोले पुरिँदा मकवानपुरका तीन जना र अन्य जिल्लाका तीन बालकले ज्यान गुमाए । मकवानपुर जिल्ला समन्वय समिति प्रमुख ललितकुमार घलानका छोरा अनुपम घलानसहित सिस्नेरीकै दिवस बानियाँ र मकवानपुरगढीका साइमन योञ्जन, सर्लाहीका आदित्य बलम्पाकी, काठमाडौंका रियान्स आचार्य र निजगढका विकल रेग्मीको घटनास्थलमा मृत्यु भयो । शुक्रबारदेखि नै कुलेखानीको बाँध खोल्ने सूचना थियो । सोही दिन विद्यार्थीलाई किन अन्त लगिएन ? प्रश्नमा उनले भने-यदि ताल भरियो भने खोल्ने भनिएको थियो । खोल्नुअघि कुनै सूचना दिइएन । भीरहरु गलेको अवस्था थियो । हामी सुरक्षित स्थानमा जाँदा पहिरो खसेर पुरिएको हो । हामीले विद्यालय छाड्नुपर्ने थिएन । तर, बच्चाहरु डराएकै कारण रिसोर्टमा लैजाऔं भनेर लाँदै थियौं ।
वत्सलादेवी मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा एन्फा एकेडेमी संयोजक सुवासचन्द्र ठकुरीले कुलेखानी जलविद्युत्कै कारण आफ्ना ६ जना विद्यार्थीहरुले ज्यान गुमाउन बाध्य भएको बताउँछन् । कुलेखानीबाट आएको बाढीले विद्यार्थीहरुलाई नभेटे पनि बाढीको खतरा बढेपछि सुरक्षित स्थानमा सार्ने क्रममा अकल्पनिय घटना घट्न पुगेको ठकुरीको भनाइ छ । सामाजिकसञ्जालमा सूचना जारी गरेकै भरमा एकाविहानै ड्यामका दुवै ढोका खोलेर भएभरको पानी ओरालोतिर झारिदिए पछि तलतिर रहेको मान्छे डराएर भाग्नुको विकल्प नै भएन, ठकुरीले भने-५० सालको बाढीले पनि नबगाएको सिस्नेरी बजार बगायो । कुलेखानीका १५ घर डुबानमा परे । खोलानजिकै हाम्रो विद्यालय थियो । विद्यालयका पनि बाढी आउला । रुखहरु ढलेर लाग्ला भन्ने त्रासले ठाउँ सार्दै थियौं । जमिन भासियो । माथिबाट पनि पहिरो खस्दा १०/११ जना विद्यार्थीलाई पुरेको रहेछ । अरुलाई उद्धार गरियो । ६ जनाको दुःखद् निधन हुन पुग्यो ।
यी सबैको जिम्मेवारी विद्युत् प्राधिकरणले नै लिनुपर्ने संविधानसभा सदस्यसमेत रहेका ठकुरी बताउँछन् । एकैपटक ड्यामको दुवै ढोका खोलेर पानी छोड्दा विपत्ति आइपरेको बताउँदै उनले थपे-कम्तिमा पानी खोल्नुअघि साइरन बजाउनुपथ्र्यो । ड्याम भरियो भन्दै एकैपटक पानी खोल्नु नै गलत थियो । कम्तिमा थोरैथोरै गरेर पानी खोलिएको भए यत्तिका विपत्ति सामना गर्नुपर्ने थिएन । यसको भागीदार कुलेखानी जलविद्युत् केन्द्रले लिनुपर्छ । बाँकी विद्यार्थीहरुलाई हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको छ भने हाल ललितपुरस्थित एन्फा अफिसमा राखिएको ठकुरीले जानकारी दिए ।
इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी कुलेखानी जलविद्युत् केन्द्रकै कारण इन्द्रसरोवरले क्षति व्यहोर्नुपरेको बताउँछन् । आफूहरुले धेरै वर्षपहिल्यैदेखि नै कुलेखानी जलविद्युत् केन्द्रलाई ठूलो आवाजमा बज्ने साइरन राख्न भने पनि अटेर गरेको उनी बताउँछन् । एकाविहानै ड्यामको ढोका खोल्दा अझ धेरै क्षति भएको अध्यक्ष पुडासैनी बताउँछन् । पुडासैनीका अनुसार सिस्नेरीका तीन दर्जन घर बाढीले बगाएको छ भने अर्बौंको क्षति भएको छ । कुलेखानी जलविद्युत् केन्द्र प्रमुख भट्ट शनिबार विहान ४ बजेतिरको समयमा ड्याममा पानी भरिएर ओभरफ्लो हुन थालेको बताउँछन् । भट्टले तुरुन्तै मकवानपुरका प्रजिअ तीर्थराज चिलुवाललाई फोन गरे । प्रजिअ चिलुवालले ड्यामको ढोका खोल्न निर्देशन दिए । यतिमात्र होइन, गृह मन्त्रालयमा समेत आफूले सोधेरमात्र बाँध खोलेको प्रमुख भट्ट बताउँछन् ।
मैले आफ्नो मनखुशी ड्यामको बाँध खोलेको होइन, भट्टले भने-अघिल्लो दिन नै सञ्चारमाध्यमहरुमा सूचना सम्प्रेषण भएका थिए । ड्याम फुटेर हुनसक्ने क्षति कम गर्न ड्यामको ढोका खोलिएको हो । सिस्नेरीमा बाढी आउनुमा कुलेखानीको पानी होइन, तीन दिनदेखिको झरी पनि हो । एन्फा एकेडेमीका विद्यार्थीहरुको मृत्युमा कुलेखानी जलविद्युत्को कुनै लेनादेना छैन । बाढीपहिरो, डुबान यहाँमात्र होइन, काठमाडौं उपत्यकामा पनि भएको थियो । जलाशयको पानी घटाउन २ देखि ४ क्युसेक पानीमात्र छाडिएको केन्द्र प्रमुख भट्टको दाबी छ ।