24 C
Makwānpur
Homeमुख्य समाचारविश्वबजारमा उधुम मच्चाउँदै हेटौंडाको डग च्यु
spot_img

विश्वबजारमा उधुम मच्चाउँदै हेटौंडाको डग च्यु

spot_img

माधब न्यौपाने
हेटौंडा/मानिसले खाने छुर्पीबाट विस्तारै व्यावसायिकतर्फ ढल्किँदै जाँदा हाल नेपालले डग च्युको उच्चर निर्यातका लागि उत्पादन थालेको छ । हेटौंडाको हिमश्री (गायत्री डेरी इण्डस्ट्रिज) का प्रवन्ध निर्देशक निराजन कोइरालाका अनुसार नेपालमा उत्पादन भएको डग च्युले विश्वबजारमा उधुम मच्चाएको छ ।

‘कुकुरका लागि स्वस्थ्यकर, पोषिलो र इन्टरटेन गर्ने खेलौनाका रुपमा यो स्थापित भएपछि विश्वबजारमा यसको माग अधिक बढ्दै गएको छ,’ कोइरालाले भने–फलस्वरुप, मागअनुसार हामीले निर्यात गर्न सकेका छैनौं । माग यति बढेको छ कि हामी लाखौं लाख परिमाणमा निर्यात गरेर अर्बौं डलर कमाउन सक्छौं । तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को ११ महिनामा मात्र ४ अर्ब बराबरको २ हजार २ सय ६५ मेट्रिकटन डग च्यु निर्यात गर्न नेपाल सफल भएको छ । त्यो पनि कुल डग च्युको निर्यात हिस्सामध्ये ९९ प्रतिशत् अमेरिकामा मात्र निर्यात भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा अमेरिकामा मात्र ३ अर्ब ४९ करोड ७३ लाख ५३ हजार बराबरको १ हजार ८ सय ८८ मेट्रिकटन (१८ लाख ८८ हजार २ सय ९० किलो) डग च्यु निर्यात भएको छ ।

- Advertisement - Ad Banner

‘सरकारले डग च्युको विषयमा गुणस्तर, लगानीको वातावरण, निर्यात गर्न सकिने विभिन्न मुलुकसँग नीतिगत् व्यवस्था गरिदिने हो भने आगामी समयमा डग च्युको निर्यात गरेर नेपालले व्यहोर्दै आएको व्यापार घाटा न्यूनीकरण गर्ने यस क्षेत्र ठूलो सहयोग गर्नसक्छ,’ मनराम ग्रुपका लजिस्टिक तथा पीआर निर्देशक पोखरेलले भने–मनराम ग्रुपलाई मात्र वार्षिक २ लाखदेखि ५ लाख मेट्रिकटन माग आइरहेको छ, तर मागअनुसार हामीले निर्यात गर्न पाएका छैनौं । विभिन्न उद्योगीले निर्यात गर्दै आएका छन् । नेपालबाट मुख्यगरि ठूलो परिमाणमा गायत्री डेरी इण्डस्ट्रिजले डग च्यु निर्यात गर्दै आएका छन् ।

हिमश्री (गायत्री डेरी इण्डस्ट्रिज) का प्रवन्ध निर्देशक कोइरालाका अनुसार डग च्युको बजार युरोप, अष्ट्रेलियालगायत तीन दर्जन मुलुकमा भए पनि फाइटो स्यानेटरी र खोरेत रोग संक्रमणका कारण निर्यात गर्न समस्या भएको छ । ॅहामीलाई सबभन्दा ठूलो चुनौती भनेको खोरेत रोग हो । यस रोगलाई जराबाट समाधान गर्न सकियो भने हामी अमेरिका र जापानबाहेक तीन दर्जन मुलुकमा सोझै निर्यात गर्न सक्षम हुनेछौं । यसका लागि सरकारको भूमिका उल्लेखनीय हुनुपर्छ । कोइरालाका अनुसार डग च्युको बजार बढ्दै गएपछि हाल भारतलगायत अन्य मुलुकमा पनि उत्पादन गर्न सुरु भएको छ । नेपालबाट मौलिकरुपमा डग च्युको उत्पादन सुरु भएको अवस्थामा पछिल्लो समयमा अन्य मुलुकले समेत उत्पादन गर्न सुरु गर्दा यसले नेपाली डग च्युको बजार खुम्चिन सक्ने उनको भनाइ छ ।

‘यसका लागि सरकारले नेपालको डग च्युको पेटेन्ट राइट सुरक्षित गरी बजारलाई सुरक्षा दिन सक्छ । पेटेन्ट राइट हु“दा तुलनात्मकरुपमा मूल्य पनि केही बढी पाइन्छ,’ उनले भने–डग च्युका कारण नेपाली किसानलाई पनि फाइदा पुगेको छ । बढी भएको दूधबाट पाउडर दूध र बटर (मख्खन) बनाएर गोदाम थन्काउनुभन्दा डग च्यु बनाएर निर्यात गर्दा बढी भएको दूध पनि खेर नजाने र वैदेशिक रकम पनि आर्जन गर्न सकिन्छ ।

नेपालमा यसको जन्मदाता कृषिजन्य वस्तु उत्पादनकर्ता र निर्यातकर्ता मानिएका व्यावसायिक घराना मनराम ग्रुपलाई मानिन्छ । डग च्युले विश्वबजारमा नेपाललाई चिनाउन सफल भएको छ । त्यसैले होला चालु आर्थिक वर्षको ११ महिनामा इतिहासमा सबभन्दा बढी परिमाणमा डग च्यु निर्यात भएको छ । कुकुरको लागि स्वस्थ्यकर पोषिलो खाना र खेलौनाका रुपमा डग च्यु उत्पादन गरेर नेपाल विश्वभर चिनिन सफल भएको छ । मानिसले खाने छुर्पी र कुकुरले खाने डग च्युका कारण किसानलाई पनि फाइदा पुगेको छ । अधिक दूध उत्पादन हुने तर बजार नपाएर फाल्नुपर्ने दूध छुर्पी उद्योगले खरिद गर्दा दूध फाल्नुपर्ने समस्यालाई पनि यसले समाधान गरेको छ ।

हिमाली जिल्ला घुम्न जाने प्रायः जसो आन्तरिक पर्यटकले चौरी गाईको दूधबाट तयार भएको विशिष्ट पौष्टिक पदार्थ छुर्पी चपाउँदै मिठो स्वाद लिने गरेको नेपालीका लागि नौलो होइन । बजार र बाटोघाटोको असुबिधाका कारण चांैरी गाईको दूध ठूलो परिमाणमा नष्ट हँुदै आएको थियो । हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायले दूध फाल्नुभन्दा छुर्पी बनाउने निधो गरे ।

चौंरीको दूध आफैंमा अत्यधिक तर (फ्याट) भएको मानिन्छ । त्यस्तो तर भएको दूधबाट उच्चमात्रामा प्रोटिन भएको पोसिलो छुर्पी बनाउँदा घुम्न आउने आन्तरिक पर्यटकलाई सजिलै बिक्री गर्नुका साथै पर्यटकले कोसेलीका रुपमा घर पनि लाने भएर उनीहरुले यसको उत्पादन सुरु गरेको मानिन्छ ।

‘यसबाट बहुआयामिक फाइदा छ, खेर जाने दूध सदुपयोग हुनुका साथै घुम्न जाने पर्यटकले उच्च प्रोटिन भएको पोसिलो छुर्पी सेवन गर्न पाउँदा उनीहरुमा नयाँ शक्तिको सञ्चार पनि हुने भयो । हिमाली बासिन्दाका लागि आम्दानीको दरिलो स्रोत पनि बन्यो,’ मनराम ग्रुपका लजिस्टिक तथा पीआर निर्देशक रेशमबहादुर पोखरेलले भने । सोलुखुम्बु, ताप्लेजुङ, पाँचथर, धनकुटा, संखुवासभा, दोलखा, इलामलगायत जिल्ला छुर्पी उत्पादनका लागि प्रख्यात छन् । पोखरेलले भने–पहिले खेर फालिने चांैरीको दूधबाट तयार भएको छुर्पीले राम्रै आम्दानी दिन थालेपछि उनीहरुले व्यावसायिकरुपमा यसको उत्पादन गर्न थालेका हुन् ।

समयसँगै छुर्पीको महत्व बढ्दै गएपछि बिस्तारै छुर्पीको उत्पादन र बिक्री हिमाली भेगबाट सर्दै पहाड र तराईसम्म फिजिँदै गयो । पहिले चौंरी गाईको दूधबाट मात्र तयार हुने छुर्पी पछिल्लो समयमा गाईको दूधबाट समेत तयार हुन थाल्यो । फलस्वरुप हाल जताततै छुर्पी किनेर खान सकिन्छ, त्यो पनि विभिन्न स्वाद र फ्‌लेवरमा । व्यावसायिकरुपमा हाल कम्तिमा एक दर्जन स्वाद र फ्‌लेवरमा मानिसले खाने छुर्पी उत्पादन हुन थालेको छ । छुर्पीलाई नेपालको मौलिक उत्पादन मानिन्छ ।

हिमाली भेगका बासिन्दाबाट छुर्पी उत्पादनको विधि क्रमिकरुपमा हाल डेरी उद्योगतर्फ सरेको छ । निजी क्षेत्र डेरी उद्योग र सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले पनि ठूलो लगानी गरेर छुर्पीको व्यावसायिकरुपमा उत्पादन गर्दै आएका छन् । तर, पछिल्लो समयमा छुर्पीको महत्व मानिसले खानेमा मात्र सीमित रहेन । यसको महत्व र व्यावसायिकता फैलिँदै गएपछि यसको निर्यात विश्वबजारसम्म पुग्न सफल भएको छ ।

त्यो पनि डग च्यु छुर्पीको रुपमा । छुर्पी हिमाली बासिन्दाको मौलिक उत्पादन भएजस्तै डग च्यु पनि नेपालको मौलिक उत्पादन हो । यसको जन्मदाता एकमात्र मुलुक नेपाल बनेको छ । मानिसले खाने छुर्पी र डग च्युका रुपमा बिक्री हुने छुर्पीको उत्पादन कति परिमाणमा छ भनेर यकिन तथ्यांक कसैसँग छैन । नेपालमा उत्पादन हुने दुवै खालको छुर्पीमध्ये ७० प्रतिशत् डग च्युको उत्पादन हुने र करिब सम्पूर्ण डग च्यु निर्यात हुने उद्योगीहरुको भनाइ छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि