22.2 C
Makwānpur
Homeमुख्य समाचारडेलिभरी गराउन भरतपुर जाँदै थिइन् रेनुका दुर्घटनामा आफूसहित पति र सासुको पनि...
spot_img

डेलिभरी गराउन भरतपुर जाँदै थिइन् रेनुका दुर्घटनामा आफूसहित पति र सासुको पनि मृत्यु

spot_img

सुनिता बिष्ट
हेटौंडा/चितवनको राप्ती नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा ७ जनाले ज्यान गुमाए । हेटौंडाबाट नारायणगढका लागि छुटेको बाप्र–०३–००१ ज २९९ नम्बरको ईभी भ्यान र धनगढीबाट काँकडभिट्टा जाँदै गरेको प्रदेश–१–०१–००१ ख ३५८३ नम्बरको यात्रुबाहक बस एकापसमा ठक्कर खाँदा ईभी भ्यानमा सवार ७ जनाको मृत्यु भयो । जसमध्ये हालसम्मको अवस्थामा ६ जनाको सनाखत भएको छ । चितवन प्रहरीका अनुसार सनाखत हुनेहरुमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ कि ५३ वर्षीया मैयाकुमारी न्यौपाने पहाडी, उनका ३५ वर्षीय छोरा सरोज पहाडी र गर्भवती बुहारी २७ वर्षीया रेनुका कँडेल, हेटौंडा–४ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती, रौतहटको चन्द्रपुर–६ की ३१ वर्षीया सीताकुमारी, ईभीभ्यान चालक हेटौंडा–१० का राजु थिङ रहेको चितवन प्रहरी प्रवक्ता डीएसपी रवीन्द्र खनालले जानकारी दिए ।

दुर्घटनामा मृत्यु भएकामध्ये ४ जना मकवानपुरका छन् । जसमध्ये पनि तीन जना एउटै परिवारको रहेको पाइएको छ । मैयाकुमारी न्यौपाने पहाडी, उनका ३५ वर्षीय छोरा सरोज र गर्भवती बुहारी तीन जनाको मृत्यु भएको डीएसपी खनालले बताए । हेटौंडा उपमहानगरपालिका–५ का वडा अध्यक्ष सुशील घिमिरेका अनुसार उनीहरु रेनुकाको प्रसूति गराउन भरतपुर अस्पताल जाँदै थिए । आइतबारको डेलिभरी डेट रहेकी रेनुकालाई उनका पति र सासुले अस्पताल लैजाने क्रममा दुर्घटनामा परेको वडा अध्यक्ष घिमिरेले बताए । घरमा ४ वर्ष र ९ वर्षका दुई छोरी रहेकी रेनुकाले आइतबार तेस्रो सन्तानलाई जन्म दिन अस्पताल जाँदै थिइन् । अस्पताल पुग्नुअगावै दुर्घटनामा परेर उनीसहित पेटमा रहेको शिशु, पति र सासुआमासमेतको मृत्यु भएको हो । नयाँ सन्तान जन्म दिन हिँडेकी रेनुकाको दुर्घटनास्थलमा मृत्यु भयो । उनीहरुको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एउटा शवको भने पहिचान खुल्न सकेको छैन ।

- Advertisement - Ad Banner

दुर्घटनामा घाइते भएका २४ जनाको नाम चितवन प्रहरीले सार्वजनिक गरेको छ । घाइते हुनेमा हेटौंडा उपमहानगरपालिका–८ की ३४ वर्षीया गंगा घलान गम्भीर घाइते भएकी छन् । मध्यम घाइतेमा हेटौंडा–१३ का १६ वर्षीय सक्षम थापा, हेटौंडा–१२ का ३२ वर्षीय सिंहवीर घलान, हेटौंडा–४ का ३१ वर्षीय विष्णु लम्साल, झापा गौरादह–९ की ६५ वर्षीया सुशीला बराल र कञ्चनपुर बेलौरी–४ का ४८ वर्षीय वीरबहादुर जैसी छन् । सामान्य घाइतेमा झापा गौरादह–९ की ६७ वर्षीया उमा बराल, झापा गौरादह–६ का ७० वर्षीय टीका न्यौपाने, झापा दमक–८ की ८३ वर्षीया लक्ष्मी पौडेल, झापा मेचीनगर–१५ का २३ वर्षीय प्रवेश सौरेन, कञ्चनपुर पुनर्वास–६ की ७० वर्षीया चन्द्रकुमारी थापा र ६९ वर्षीय जमबहादुर थापा, कैलाली लम्कीचुहा–८ का ४५ वर्षीय जम बुढा, लम्कीचुहा–१ का ३७ वर्षीय लोकेन्द्र बुढा र ४८ वर्षीय बलसिंह बुढा, कैलाली ।

गौरीगंगा–११ का ३२ वर्षीय सुरेश बोगटी, कैलाली गोदावरी–४ का ३४ वर्षीय महेश चौधरी, मोरङ बेलबारी–७ का २७ वर्षीय सुमन चौधरी, रौतहट चपुर–७ का ४५ वर्षीय बुलटन साहकानु, सप्तरी राजविराज–५ का ५६ वर्षीय श्रीचन्द्र राय, कालिकोट पलाता–४ का ५३ वर्षीय रत्न बुढा, अछाम साँफेबगर–१० का ३२ वर्षीय अर्जुनबहादुर राउत, रुकुमपश्चिम आठबीसकोट–९ का ३० वर्षीय सन्देश ओली र मकवानपुर बकैया गाउँपालिका–४ की २६ वर्षीया अनिषा घिमिरे छन् ।

घाइतेहरुको चितवन मेडिकल कलेज, पुरानो मेडिकल र भरतपुर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि पूर्वपश्चिम राजमार्गको उक्त खण्डमा सवारी आवागमन अवरुद्ध भएको थियो । इलाका प्रहरी कार्यालय भण्डारा, खैरहनी र टाँडीबाट खटिएको टोलीसहित ४५ जना सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको थियो । दुर्घटना हुँदा बस र ईभी दुवै सवारीसाधन खहरेपुल नजिक डाइभर्सनमार्फत् चलाइँदै थिए । ठक्करपछि सवारीसाधन बाटोमै रोकिएकाले राजमार्ग अवरुद्ध भएको थियो । घटनास्थलमा इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रमुख निरीक्षक रुपेश बिष्ट, खैरहनीबाट प्रनि प्रदीपजंग महत र टाँडीबाट प्रहरी नायब उपरीक्षक रञ्जन अवाको नेतृत्वमा ४५ जनाको प्रहरी टोली परिचालन गरिएको थियो । प्रारम्भिक अनुमानअनुसार तीव्रगति र सम्भावित ब्रेकफेलका कारण दुर्घटना भएको हुनसक्ने बताइएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि