22.2 C
Makwānpur
Homeमुख्य समाचार‘बाढीको कहर’ पुर्जामा खेत, खेतमा बालुवामात्र
spot_img

‘बाढीको कहर’ पुर्जामा खेत, खेतमा बालुवामात्र

spot_img

सुनिता बिष्ट
हेटौंडा/असोज १२ गते विहान ८ बजेतिरको समय । घरनजिक सिस्नेरी खोला यसै उर्लिरहेकै थियो । १० गते दिउँसोदेखि नै परेको पानीले सिस्नेरी खोलाको रंग धमिलो देखिन्थ्यो । ११ गते पनि घरबाट निस्किन सक्ने अवस्था नै थिएन । बेलाबेलामा दर्किएको पानीले खोलाको गति बढेको थियो । तर, घरभन्दा झण्डै १ सय मिटर पर रहेको खोलासँग ३८ वर्षका सानुकान्छा दोङ डराएका भने थिएनन् ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीनजिक कुनियोटारका सानुकान्छाले खोलाले खेत र घर बगाउला भन्ने सोचेकै थिएनन् । घडीमा विहानको करिब ८ः३० जति बजेको थियो । घरको आँगनको डिलमा उभिएर हेर्दाहेर्दै घरभन्दा अलि पर रहेको दुई वटा माछापोखरी बगायो । माछापोखरी भने उनका छिमेकीको थियो । पोखरीसँगै रहेको धान लहलह भएको खेत बगायो । सुसाउँदै आएको खोलाले हेर्दाहेर्दै सानुकान्छाको घरसँगै जोडिएको आफ्‌नै खेत पनि बगायो । खेत बगेपछि बाढी उनकै आँगनमा प्रवेश गर्‍यो ।

- Advertisement - Ad Banner

बाढीले घर बगाउने देखेपछि उनले छोराछोरी र पत्नीलाई लिएर घरमाथि रहेको बारिको कान्ला उक्लिए । एकातिर आकाशबाट दर्किरहेको पानीले भिजिरहेका परिवार, अर्कोतिर बाढीले बगाउँदै लगेका आफ्‌नो टाउको लुकाउने छहारी । उनले हार गुहार गर्दागर्दै बाढी घरभित्र पस्यो । अन्नपात, लत्ताकपडा केही झिक्नै भ्याएनन् । बाढीले घर र जमिन बगायो । बाढीसँगै बगे सानुकान्छाका परिवारको सपना र हातमुख जोड्ने थलो ।

ती दिन स्मरण गर्दै उनी भन्छन्‌–धन्न बालबच्चालाई जोगाउन भने सकें । अन्नपाततिर त ध्यान दिनै सकिएन । एकैछिनमा आएको बाढीले सबै सोहोरेर लग्यो । न घर छ न त अन्नपात । न अन्न उब्जाउने खेत नै बाँकी छ । सबैकुरा भएर पनि बाढी लागेपछि सुकुम्बासी बन्नुपरेको छ ।

सानुकान्छामात्र होइन, सोही बाढीका कारण उनकी छिमेकी राधिका ठकुरीको पनि उठिबास नै लाग्यो । खोलानजिकको १३ रोपनी भन्दा बढी खेत बाढीले बगायो । वर्षमा २० मुरी धान फल्ने खेत बाढीले लगेपछि राधिकाको परिवारमा मानसिक तनाव थपिएको उनको दुःखेसो छ । हातमा खेतको पुर्जा छ । तर, पुर्जामा भएको खेत बगरमा परिणत भएको छ । सेता ढुंगा र बालुवाको थुप्रो लागेको खोला हेर्दै राधिका टोलाइरहन्छिन् । घरमा अपांगता भएका भाइबुहारी स्याहार्दै बसेकी उनलाई अब कसरी पेट पालौं भन्ने चिन्ता छ । ॅढुंगा पन्छ्याएर खेत बनाउन पनि नक्सा नै मेटिएको छ,’ निराश हुँदै उनी भन्छिन्‌–वर्षको २० मुरी धान फल्थ्यो । जसोतसो खेती गरेर परिवार पालिएका थियौं । त्यो खेतमा हाल खोला बगेको छ । हातमा लालपुर्जा त छ नि । अब भएर के गर्नु ?

११ गते राति ८ बजेतिर कुलेखानी जलविद्युत् आयोजनाले कुलेखानी ताल भरिएको र पानी खोल्नुपर्ने स्थिति आउनसक्ने भन्दै माइकिङ गर्दै हिँड्यो । सूचना स्थानीयहरुले नसुनेका भने होइनन् । तर, राति घर छाडेर जाने स्थिति नभएपछि बाढीको त्रास हुँदाहुँदै पनि सोही स्थानमा बस्नुपरेको स्थानीय ५२ वर्षका चन्द्रबहादुर वाइबा बताउँछन् ।

२०५० सालको बाढीमा पनि गाउँमै कुनै क्षति नगरेकाले उनीहरु ढुक्कजस्तै थिए । ‘५० सालजस्तै गरी थोरै/थोरैमात्र पानी छोड्ला भन्ने सोचेका थियौं,’ चन्द्रबहादुरले भने–विहानदेखि आकाशको पानी पनि दर्कियो । खोलामा बाढी आउन थाल्यो । भएको खेतबारि बगायो । बसिरहेको घर पनि छाडेर भागेर ज्यान जोगायौं । भएका जायजेथा बाढीले बगाएपछि छाक टार्न धौधौ भएको उनी गुनासो गर्छन् । विपद्ले सबै सम्पत्ति बगाएपछि दुई/चार बोरा चामल र पाल बोकेर विभिन्न संघसंस्था र स्थानीय जनप्रतिनिधिहरु आइपुगे । त्यसबाहेक तीन तहका सरकारले आफूहरुलाई नहेरेको उनी बताउँछन् ।

१२ असोज २०८१ मा अविरल वर्षाका कारण मकवानपुरसहित जिल्लाहरुले पनि विपद्को सामना गर्नुपर्‍यो । १० स्थानीय तह रहेको मकवानपुरमा सबभन्दा ठूलो घटना इन्द्रसरोवरको सिस्नेरीले व्यहोर्नुपर्‍यो । इन्द्रसरोवर गाउँपालिका–१ र २ मा पर्ने कुलेखानी जलाशय भरिएपछि बाँध फुट्ने त्रासले जलाशयको ढोका खोलिँदा कुलेखानीको पानीको बहावले सिस्नेरी, टेकर, कुनियोटारलगायत क्षेत्र प्रभावित बन्न पुगेको थियो । त्यस क्षेत्रका करिब ३० घर बाढीले बगाएको थियो भने ६० घर डुबानमा परेका थिए । कोहीको घरखेत त कोहीको पसल, गाडी र घर नै बाढीमा बग्यो । प्रहरी चौकीदेखि एम्बुलेन्ससम्म बाढीले बगायो ।

अघिल्लो वर्षको विपद् सामना गरेर थकित भएका अनुहारमा अब फेरि आउँदो बर्खाको चिन्ताले छोपेको छ । भएभरका सम्पत्ति र अन्नपात बाढीले बगाए पनि बाढीबाट ज्यान जोगाएका उनीहरुलाई अबको बर्खा कसरी काटौं भन्ने चिन्ता छ । वारपार खोला हिँडेर बनाएको बगरको छेऊ जोगिएका घर आफूहरुको लागि सुरक्षित छैन भन्ने ज्ञान हुँदाहुँदै पनि उनीहरुका लागि त्यसबाहेक विकल्प छैन ।

सिस्नेरीकी ६७ वर्षकी भवानी ठकुरीलाई बर्खा सुरु भएसँगै घरमा बस्न डर लाग्न थालेको सुनाउँछिन् । ४५ वर्षदेखि खनजोत गरेर बाली लगाउँदै आएको खेत बाढीले बगाइदिएपछि खेतसँगै उनको गाँस बगायो । घरमा एक्लै बस्दै आएकी उनको घरको एकपाखो बाढीले हानेर कमजोर बनेको छ । ‘पानी पर्न थालेपछि औधी डर लागेर आउँछ,’ बगरतिर हेर्दै उनले भनिन्‌–यही खेतमा धान रोपेर भात खान्थें, मकै रोपेर आँटो खान्थँे । जेनतेन दुःखसुख चलेकै थियो । त्यो पनि खोलाले देख्न सकेन । बर्खा सुरु भयो । अब भत्कन लागेको यो एउटा बास पनि यो साल लाने होला ।

बाढीले कटान गरेर जाखिम बनेको घरहरु जोगाउन बाँध लगाइएको छैन । खोलामा ढुंगा गिट्टी भरिएर बस्तीसरह अग्लो बनेको छ । बाढीले खण्डहर बनेको भुगोल जोगाउन तीन तहकै सरकारको ध्यान नगएको उनीहरुको गुनासो छ । विपत्तिमा परेर जग्गाजमिन र घर बगाए पनि अब भने आफ्‌नो पुर्जामा भएको जग्गा लिन पाउने गरी साँधसिमाना स्थानीय सरकारले छुट्याइदिनुपर्ने स्थानीयहरुको माग छ । जोखिममा रहेका घर जोगाउन बाँध र घर भत्किएर जस्ताको टहरामा बास बसेकाहरुलाई क्षतिपूर्ति तथा राहत उपलब्ध गराइदिए आउँदो बर्खामा पीर कम हुने स्थानीय ७० वर्षका प्रतापसिंह वाइबा बताउँछन् ।

अघिल्लो वर्ष दशैंको मुखमा घरबारबिहीन बस्नुपरेको उनीहरुको अवस्था उस्तै छ । बाढीपीडित भेट्न आउने सरोकारवाला निकायहरु पनि सिस्नेरी बजारसम्म आउने गरेको तर त्यसभन्दा करिब २ किलोमिटर तल रहेको आफूहरु बस्ने गाउँ कुनियोटारसम्म भने आउँदैनआउने उनले बताए । जसका कारण कसैको नजर आफूहरुमाथि नपरेको वाइबाको गुनासो छ ।

इन्द्रसरोवर–३ का वडा अध्यक्ष प्रताप भोम्जनका अनुसार वडामा विपद्पछि थुप्रै पूर्वाधारहरु निर्माण गरिएको बताउँछन् । त्यसबाहेक स्थानीयका लागि तत्कालीन अवस्थामा राहत व्यवस्थापन, सुरक्षित स्थानमा स्थानान्तरणदेखि अस्थायी बसोबासका लागि आवश्यक सामग्रीहरु वितरण गरिएको उनको भनाइ छ । पालिकामा बजेट अभावका कारण बाढीपीडित स्थानीयका लागि ठूला काम गर्न नसकिएको बताउँदै वडा अध्यक्ष भोम्जनले भने–हाम्रो स्रोतसाधनले भ्याएजति गरेकै हौं । आगामी आर्थिक वर्षमा भने बाढीपीडित स्थानीयलाई समेट्ने गरी बजेट बनाउने सोचेका छौं । त्यस बजेटबाट उहाँहरुका लागि काम गर्छौं ।

स्थानीय जनप्रतिनिधिहरुका अनुसार गत असोजको बाढीले उक्त गाउँपालिकामा झण्डै १ सय भन्दा बढी घरधुरी प्रभावित बनेको छ । ५ वटा वडा रहेको त्यहाँ सबभन्दा बढी क्षति २ र ३ नम्बर वडामा भएको इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले बताए । उनका अनुसार २ नम्बर वडाको महालक्ष्मी खोला, फाखेल र ३ नम्बर वडामा पर्ने सिस्नेरी, खानीखेत, टेकरदेखि कुनियोटारसम्मका स्थानीय प्रभावित बनेका छन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि