हेटौंडा/मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–१, बुङ्दलमा भुवनलाल श्रेष्ठले लगाएको मकैबाली दरबारडाँडा सामुदायिक वन समितिका पदाधिकारी र वन कार्यालयका कर्मचारीले फँडानी गरेका छन् ।
२०२४ सालदेखि आफू सोही ठाउँमा बस्दै र खेती गर्दै आएको श्रेष्ठ बताउँछन् । केही वर्षअघि उक्त ठाउँमा ठूलो बाढी आएर उक्त जमिन बगरमा परिणत भएको र हाल बगर खनिखोस्री खेती गर्दै आएको उनी बताउँछन् । आफूले खेती गर्दै आएको जमिन सामुदायिक वनका पदाधिकारीले हस्तेक्षप गरेर मकैबाली फँडानी गरेपछि उनी आफूमाथि अन्याय भएको भन्दै न्यायको याचना गरिरहेका छन् ।
दरबारडाँडा सामुदायिक वनले आफ्नो क्षेत्रमा घेराबार गरिसकेको र आफूले प्रयोग गर्दै आएको जमिन सामुदायिक वनको घेराबारभन्दा बाहिर रहेको उनको दाबी छ । उक्त क्षेत्रमा अन्य व्यक्तिले बिनापुर्जा आवादी गर्दै आएका छन् । भीमफेदी–१ की शान्ति थिङले फल्न लागेको मकैबाली बिनासूचना नष्ट गरेर वन समिति र वन कर्मचारीले अमानवीय व्यवहार देखाएको बताएकी छन् । सोही ठाउँ बसोबास गर्ने अधिकांशको लालपुर्जा नभएको उनी बताउँछिन् । लालपुर्जाका लागि भूमि आयोगमा समेत निवेदन दिएको उनले बताइन् । तर, हाल आएर हटाउन खोज्नु आपत्तिजनक भएको उनको आक्रोश छ । स्थानीय नवराज रायमाझीले आफू २०४३ सालमा ओखलढुंगाबाट बसाईं सरेर आएदेखि नै सोही जग्गा श्रेष्ठले नै आवादी गर्दै आएको बताए ।