माधब न्यौपाने
हेटौंडा/केही समयअघि मकवानपुरको चेपाङ समुदायमा गरिएको अध्ययनले अधिकांश किशोरी १९ वर्षअघि नै विवाह
गरेको देखाएको थियो । पढ्ने–लेख्ने वातावरण नपाएका, घरको कमजोर आर्थिक अवस्था, बुबाआमाबाट माया नपाएका किशोरीले छिट्टै भागी विवाह गरेको देखिएको थियो । प्रदेशमा बालविवाहविरुद्ध थुप्रै कार्यक्रम भइरहेका छन् । सरकारी निकायदेखि मानवअधिकारवादी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाले बालविवाह रोक्न थालेको अभियानले अपेक्षित सफलता प्राप्त गरेको देखिँदैन । सबै निकायले प्रतिवेदन पनि तयार गरिएकै पाइन्छ । तथापि, त्यसको प्रभावकारिताले अर्थ राखेको देखिँदैन । किनकि, प्रदेशको राजधानी रहेको जिल्ला मकवानपुरमा चालु आर्थिक वर्षको दश महिनामा ४ सय ५८ किशोरी आमा बनेका छन् । जनस्वास्थ्य कार्यालय मकवानपुरले बिहीबार गरेको स्वास्थ्य अभिमुखीकरण कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार जिल्लाभर चार हजार एक सय २७ जना सुत्केरी भएकोमा ११ दशमलव ०६ प्रतिशत् आमा २० वर्षमुनिका छन् ।
जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण मिजारका अनुसार गत आर्थिक वर्षमा १० दशमलव ९३ प्रतिशत् किशोरी आमा बनेका थिए । तथ्यांकअनुसार गत आर्थिक वर्ष भन्दा चालु आर्थिक वर्षको दश महिना अवधिमा २० वर्ष भन्दा कम उमेरमा आमा बन्नेको संख्यामा वृद्धि भएको देखिन्छ । स्वास्थ्य संस्थामा सुत्केरी पहुँच नभएका किशोरी आमाको संख्या पनि त्यतिकै छ । ॅयो अवस्थामा आमा बन्ने महिलामा शारीरिक अपरिपक्वता र मानसिक तथा सामाजिकरुपले विक्षिप्त नै हुन्छन् । जसबाट महिलाले ठूलो समस्या भोग्नुपरेको छ,’ मिजारले भने–आफैं रुग्ण व्यक्तिले मुलुकलाई के दिनसक्ने क्षमता राख्छ र ? बरु, राज्यले उक्त समस्या समाधान गर्न ठूलो स्रोत र जनशक्ति लगानी गर्नुपर्दछ । बहुआयामिक प्रभावका रुपमा देखिँदै आएको बालविवाहले मुलुकको दीगो विकासमा असर पार्ने उनको तर्क थियो । तर, बालविवाह कति छ भन्ने यकिन तथ्यांकीय अभिलेख पाइँदैन । सरकार मातहत संयन्त्रस‘ग तथ्यांक माग्दा पाउन सकि’दैन भने गैरसरकारी क्षेत्रले ल्याउने तथ्यांकमा यथार्थता भेटिँदैन ।
छिटो विवाहले महिलाको पाठेघर खस्ने, अशक्त बच्चा जन्मने, पारिवारिक बोझले शिक्षा पूरा गर्न नपाउनेजस्ता विविध कुराले वृत्तिविकासको ढोका बन्द हुने महिला अधिकारकर्मीले बताएका छन् । बालविवाहले महिलाको सामाजिक, आर्थिक र साँस्कृतिक अवस्था निकै कमजोर बन्दै गएको छ । मकवानपुरका दश स्थानीय तहमध्ये सबभन्दा बढी राक्सिराङ गाउँपालिकामा कम उमेरमा आमा बन्नेको संख्या रहेको जनस्वास्थ्य कार्यालय प्रमुख मिजार बताउँछन् । उनका अनुसार यहाँ कुल सुत्केरी भएकामध्ये २४ दशमलव ११ प्रतिशत् २० वर्षमुनिका छन् । बागमतीमा २३ दशमलव ०४ प्रतिशत्, बकैयामा १७ दशमलव ११ प्रतिशत्, भीमफेदीमा १७ दशमलव ०७ प्रतिशत् किशोरी आमा बनेको पाइएको छ । कैलाश गाउँपालिकामा १५ दशमलव ५६ प्रतिशत्, थाहा नगरपालिकामा ११ दशमलव ५९ प्रतिशत् बीस वर्ष नपुग्दै आमा बनेका छन् ।
मनहरी गाउँपालिकामा १६ दशमलव ०५ प्रतिशत्, मकवानपुरगढीमा २३ दशमलव १६ प्रतिशत् र हेटौंडा उपमहानगरपालिकामा ८ प्रतिशत् २० वर्ष कम उमेरमा आमा बनेको तथ्यांक जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको छ । मनहरी, मकवानपुरगढी र हेटौंडा उपमहानगर केही समयअघि ॅबालमैत्री’ घोषणा भइसकेका हुन् । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले बालविवाह न्यूनीकरणका लागि विभिन्न जनचेतनामूलक सामग्री प्रसारण गरे पति यसको क्रम भने रोकिएको पाइँदैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ ले १५ देखि १९ वर्ष उमेर समूहका १४ प्रतिशत् किशोरी गर्भवती हुने गरेको देखाएको छ । यसलाई राष्ट्रिय जनगणना २०७८ को किशोरीको संख्या (१४ लाख ७१ हजार) सँग तुलना गर्दा यो अंक २ लाख ६ हजार हुन आउँछ । कलिलै उमेरमा विवाह गर्ने र गर्भवती हुने बहुआयामिक कारण छन् । वरिष्ठ प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुबेदीका अनुसार सानो उमेरमा विवाह हुने प्रमुख कारणमा शिक्षाको कमी, गरिबी, सामाजिक प्रचलन, बेरोजगारीसहितका पक्ष जोडिएर आउँछन् ।
ॅपछिल्ला वर्षमा किशोरी उमेरमै गर्भवती हुने दर घट्न सकेको छैन, सुबेदीले भने–देशभर १४ प्रतिशत् किशोरी गर्भवती हुनुले हाल पनि कलिलैमा सन्तान जन्माउने आमाको भयावह अवस्थाको चित्रण गर्छ । चिकित्सा समाजशास्त्री प्राडा मधुसूदन सुबेदी किशोरी उमेरमा गर्भधारण भइरहेको विषयलाई विभिन्न पक्षसँग जोडेर हेर्नुपर्ने बताउँछन् । उनको भनाइमा अझै पनि नेपालमा परम्परागत् सोच कायम छ । ॅजात, स्थानविशेषमा अझै पनि चाँडै विवाह गर्नुपर्छ भन्ने चलन छ । आमा, हजुरआमाले चाँडै विवाह गरेका थिए । छोरीहरुको पनि चाँडै विवाह गराइदिनुपर्छ भन्ने मानसिकता अझै छ, डा. सुबेदीले थपे । ॅनेपाली समाज अझै पनि छोरीलाई २० वर्षभन्दा माथि घरमै राखियो भने भागेर बिहे गर्ने र परिवारको इज्जत जाने, छोरी गतिछाडा हुने भन्ने भ्रम छ । पुरुषवादी सोचका कारण परिवारको करकापले उनीहरुको कलिलै उमेरमा विवाह हुन्छ,’ उनले भने ।
सन् १९९६ मा गरिएको एनडीएचएसको तथ्यांकसँग तुलना गर्दा नेपालमा किशोरावस्थामै गर्भाधारण गर्ने किशोरीको संख्या घटेको देखिन्छ । २० वर्षभन्दा कम उमेर समूहका किशोरीको गर्भधारण प्रतिशत् सन् १९९६ मा २३.९ प्रतिशत् थियो । २६ वर्षपछि सन् २०२२ मा १० प्रतिशत् घटेर १३.६ प्रतिशत्मा झरेको एनडीएचएस सर्वेक्षणले देखाएको छ । तर, औपचारिक शिक्षा नलिएको समूहमा पर्ने किशोरीमा भने गर्भधारण हुने प्रतिशत् उकालो लागेको छ । सन् १९९६ को एनडीएचएसको तथ्यांकअनुसार १५ देखि १९ वर्ष उमेर समूहका ३१.८ प्रतिशत् अशिक्षित किशोरीले गर्भधारण गरेका थिए । २६ वर्षपछि सन् २०२२ मा आउँदा उक्त दर ३२.७ प्रतिशत् पुगेको छ । सन् २००१ मा औपचारिक शिक्षा नलिएका किशोरीको गर्भधारण हुने प्रतिशत् ३१.५ थियो । सन् २००१ बाट सन् २००६ मा आइपुग्दा बढेर ३२.७ प्रतिशत् पुग्यो । त्यसपछि सन् २०११ मा ३१.६, सन् २०१६ मा ३२.६ प्रतिशत् पुगेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्यांकले देखाउँछ ।