24.6 C
Makwānpur
Homeमुख्य समाचारभारतीय ट्रकको दादागिरी पुल भाँचिने घटनाप्रति यातायात व्यवसायीको चिन्ता

भारतीय ट्रकको दादागिरी पुल भाँचिने घटनाप्रति यातायात व्यवसायीको चिन्ता

मञ्जिता मैनाली
हेटौंडा/हालैका दिनहरुमा देशभर विशेषगरि पूर्वपश्चिम राजमार्गमा क्षमताभन्दा बढी भार बोकेका सवारीका कारण पुल भाँचिने र राजमार्ग भासिने घटना बढ्दै गएकोप्रति देशका यातायात व्यवसायीको साझा संस्था नारायणी यातायात व्यवसायी कम्पनी प्रालिले आफ्‌नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सार्वजनिक यातायातमा ठूलो समस्या उत्पन्न भइ यात्रु तथा मालवाहक सवारीसाधनले अनावश्यक झन्झट भोग्नुका साथै आर्थिक क्षतिसमेत भइरहेको भन्दै ध्यानाकर्षणसहित बिहीबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा कम्पनी अध्यक्ष गोकर्ण पराजुलीले चिन्ता व्यक्त गरेका हुन् । यातायात व्यवसायी वर्षौं पुराना पुल नियमित मर्मतसम्भार नगर्दा र भारतीय ट्रकका कारण पुल भाँचिएको र भाँचिने क्रम बढेको बताउँछन् भने सरकारी अधिकारीहरु पुलको गुणस्तर कमजोर नभइ अधिक भार (ओभरलोड) गाडीका कारण भाँचिने गरेको दाबी गर्छन् ।
२०८२ बैशाख २९ गते पूर्वपश्चिम राजमार्गअन्तर्गत् नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–८, चोरमारास्थित गिरुबारि खोला पुल भाँचियो । होङ्सी सिमेन्ट कम्पनीबाट क्लिंकर बोकेर वीरगञ्जतर्फ आउँदै गरेका मप्र ०३–००१ क ३१६३ नम्बर १८ चक्के टेलर गुड्दै गर्दा पुल भा“चिएको थियो । पुल भाँचिएपछि सवारी आवगमन अवरुद्ध भएको थियो गत पुस २६ गते पूर्वपश्चिम राजमार्गअन्तर्गत् दुम्कीबासको विनयी खोला पुल भाँचियो । अधिक भारसहित भारतीय मालवाहक लरीका कारण पुल भाँचिएको थियो । पुल भाँचिदा २ दिनसम्म सवारी आवगमन ठप्प भएको थियो । डाइभर्सन निर्माण गरी सवारी सञ्चालनमा ल्याइयो । ३ वर्षअघि पनि उक्त पुलमा प्वाल परेको थियो । २०७८ माघ २९ गते संखुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाम्चियो । पुल भाँचिदा इप्सुवा हाइड्रोपावर कम्पनीको निर्माण सामग्री लिएर गएको तीन वटा ट्रक अरुण नदीमा खसेका थिए । उक्त क्षेत्रमा हप्तौंसम्म सवारी आवतजावत ठप्प भएको थियो । इलामको फिक्कल नयाँ बजार सडकखण्डमा पर्ने मयँखोला पुल भाम्चिएपछि यातायात सञ्चालनमा समस्या भएको थियो । उनले देशभरका पुलहरु करिब ५० वर्ष पुराना र तत्कालीन सवारी चाप तथा भार क्षमताअनुसार निर्माण गरिएको बताए ।
तर, हाल दैनिक हजारौं सवारीसाधन र क्षमताभन्दा बढी भार बोकेका मालवाहक गाडीहरु गुड्दा पुराना पुलहरुले भार थेग्न नसकेको स्पष्ट छ । नयाँ निर्माण भएका पुलबाहेक पूर्वपश्चिम राजमार्ग निर्माणको समयमा बनेका पुलहरुको भारक्षमता हालको आवश्यकताभन्दा कम छ,’ उनले भने । सरकारले कुन सडकमा कति लोड बोकेका गाडी गुड्ने दिने भन्ने नियम पूर्णरुपमा लागु गरेमात्र सडक र पुल टिकाउ हुने बताए । सडक विभागले केही समयअघि गरेको अध्ययनले राजमार्गका ५० प्रतिशत् पुल पुनर्निर्माण र ८० प्रतिशत् पुल मर्मतसम्भार गर्नुपर्ने देखाएको थियो । तर, जीर्ण पुलको प्रतिस्थापन र मर्मतसम्भार न्यून छ । जसका कारण बेलहिया नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय मालवाहक सवारीसाधनका कारण राजमार्ग भत्किनुका साथै केही महिनाको अन्तरालमा दुई वटा पुल भाँचएपछि रुपन्देही प्रसाशनले ओभरलोड नियन्त्रणमा कडाइ गरेको थियो ।
यस्ता समस्याप्रति अध्यक्ष पराजुलीले सम्बन्धित निकाय, विशेषगरि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागको गम्भीर ध्यानाकर्षण गराएका छन् । तत्काल चाल्नुपर्ने कदमहरु कम्पनीले सुझाएको छ । पुलहरुको क्षमता वृद्धि र मर्मतसम्भार, भारवहन क्षमताको कडाइसाथ पालना कम्पनीको सुझाव छ । ॅहाल देशभर निजी क्षेत्रबाट ११ र सरकारद्वारा २ वटा गरी १३ वटा तौलपुल रहे पनि ती पुलहरुबाट भारवहन क्षमता नियन्त्रणमा प्रभावकारिता देखिएको छैन,’ उनले भने । नेपाल सरकारले ढुवानीमा मूल्य अभिवृद्धि कर लागु गरे पनि उक्त निर्णय कार्यान्वयनमा खासै प्रभावकारी नदेखिएको भन्दै उनले बिना भ्याट सामान ढुवानी हुने क्रम बढ्दै गएकाले कि कानुन कडाइसाथ लागु गरिनुपर्ने नभए खारेजी गर्न, राजमार्ग सुरक्षा, जनचेतना अभिवृद्धिलगायतका माग र आग्रह विज्ञप्तिमा उल्लेख गरेका छन् । ॅकुनै पनि पुलको निश्चित आयु र भारवहन क्षमता हुन्छ । वर्षौं पुराना पुल नट खिइने र खोलाको सतह गहिरि‘दा कमजोर बन्दै गएका छन्,’उनको कथन छ । समस्याको तत्काल समाधानका लागि सरकारस’ग सहकार्य गर्न पूर्णरुपमा प्रतिबद्ध रहेको र भविष्यमा यस्ता दुर्घटनाबाट हुने जनधन क्षति र यातायात अवरोध कम गर्न सबै पक्षको सहयोग र समन्वय अपरिहार्य रहेको कम्पनीले उल्लेख गरेको छ ।
कानुनमा सवारीले बोक्न पाउने लोड तोकिएको छ । तर, चालकले भाडाको लोभमा तोकेभन्दा धेरै लोड बोक्छन् । प्रहरीले पनि ओभरलोडेड गाडी रोक्नुपर्नेमा उल्टो छाडेको देखिन्छ । सडकमा सवारीजाँचको जिम्मेवार पाएकाले प्रभावकारी नियमन गरेको पाइँदैन । चालकहरुले १०/२० हजार भाडाको लोभमा १५/२० करोड लागतका पुल भत्काउने जोखिम मोल्ने गरेका छन् ।  अध्यक्ष पराजुलीले अधिक भार बोक्ने भारतीय ट्रकका कारण नेपालका पुलहरु धरापमा परेको बताए । अधिकांश नेपाली ट्रकले तौलपुल नियमपालना गरे पनि निर्वाधरुपमा आउने भारतीय ट्रकका कारण पुल भाँचिने गरेको उनले बताए । उनीहरु कानुनले तोकेभन्दा दशौं टन बढी लोड बोकर आउ‘छन् । दशकौंअघि बनाइएका पुलले उक्त लोड थेग्न सक्दैन,’ उनले भने–अधिक भार बोक्ने भारतीय ट्रक नरोके पुल बचाउन सकि’दैन ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा सरोकारवालासहित बैठकले भारतबाट आउने मालवाहक सवारीले क्षमताभन्दा बढी तौल ल्याए/नल्याएको एकिन गरेरमात्र गन्तव्यमा पठाउने गरी निर्णय गरेको थियो । क्षमताभन्दा बढी तौल लिएर आएका सवारीको भारमिलान गरेरमात्र गन्तव्यमा पठाउने सहमति भएको थियो । तर, भारतबाट ढुवानी लिएर नेपाल प्रवेश गर्ने सवारीलाई भन्सार कार्यालयपरिसरमा भारमिलान गर्ने निर्देशन कार्यान्वयन गर्न सहज नरहेको उद्योगी/व्यवसायीहरुको भनाइ छ । उनीहरुले उक्त निर्णय एकतर्फी र अव्यवहारिक भएका बताएका थिए ।
कति लोड बोक्न पाउँछन् ?
कस्ता गाडीले कतिसम्म लोड बोक्न पाउने कानुनमै स्पष्ट तोकिएको छ । तर, कार्यान्वयन फितलो हुँदा कानुन कागजमै सीमित भएको देखिन्छ । मालवाहक सवारीको भारवहन नियमनसम्बन्धि निर्देशिका, २०७४ मा गाडीको एक्सल (पांग्रा) अनुसार तौल बोक्न पाउने व्यवस्था छ । निर्देशिकाअनुसार दुई एक्सल (४ पांग्रा–अगाडि/पछाडि २/२ वटा) सवारीले १२ टनसम्म लोड बोक्न पाउँछन् । दुई एक्सल (६ पांग्रा–अगाडि २ र पछाडि ४ पांग्रा) भएकाले १६.२ टन, तीन एक्सल ट्रक (अगाडि २ र पछाडि ८ पांग्रा) ले २५ टन, चार एक्सल ट्रक (१२ पांग्रा) ले ३१ टन र चार एक्सल (१४ पांग्रा) ले ३० टन भार बोक्न पाउँछन् । पाँच एक्सल (१८ पांग्रा) भएको गाडीले ४०.२ टनसम्म लोड बोक्न पाउँछन् । मालवाहक सवारीको अधिकतम् वजन जतिसुकै हुन आए पनि सडकमा सञ्चालन गर्दा सवारीको कुल वजन रिजिड ट्रकको हकमा ३५ टन र ट्रेलर वा सेमी ट्रेलरको हकमा अधिकतम् ४९ टनभन्दा बढी हुन नहुने निर्देशिकामा उल्लेख छ । तर, भारतीय ट्रकले ८०/९० टनसम्म सामान बोकर आउने गरेको पाइन्छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here