मञ्जिता मैनाली
हेटौंडा/१९ दिन बितिसक्दा पनि सम्बन्धित निकायले चासो नदेखाएपछि हेटौंडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले आफ्नै पहलमा खोजीपश्चात् गाडी भासिएको प्रमाणित गरिदिए । हराएको बोलेरोबारे अध्ययन गर्न काठमाडौंबाट आएको भूगर्भविद्को टोली गाडीको अवस्थिति पत्ता नलगाइ फर्किएपछि अध्यक्ष कोइराला आफैं खाल्डोमा होमिएर जोखिम मोल्दै गाडी भासिएको हो/होइन भन्ने भ्रमलाई चिरेका हुन् । उनी भन्छन्–एक्स्टाभेटर ल्याएर काम गर्न डराएका थिए । भासियो भने क्षतिपूर्ति तिर्न तयार भएपछि काम गरियो । एक्स्टाभेटर केही समय डुब्दा त्यसको मूल्य सम्झेर आत्तिएको थिएँ । अन्त्यमा सफलताको खुशीले भक्कानिन पुगें ।
अध्ययन गर्न काठमाडौंबाट आएको भूगर्भविद्को टोलीले भनेजस्तो स्थानीयस्तरमा भयावह अवस्था पनि नरहेको बुझिएको उनको भनाइ छ । ‘अवरोध गर्न आउने धेरै थिए, सबै पन्छाएर काम अर्न सफल भइयो,’ उनी खुशी देखिए । हराएको बोलेरोको १९ दिनपछि स्थानीयको प्रयासमा उत्खनन् गरी केही पार्टपुर्जा निकालिएको हो । ‘गाडी हराएको छैटौं दिनसम्म पनि फेला नपरेपछि अध्ययन गर्न आएको भूगर्भविद् टोली ‘सुरक्षा’ का कारण देखाउँदै नतिजाबिहीन फर्किए पनि हामी हाम्रै हिम्मतले जित्यौं,’ दंग छन् कोइराला ।
बोलेरोचालक हरेराम राईलाई उक्त गाडी भासिएको प्रमाणका लागि पार्टपुर्जा नभेटिएको भए ‘जेल जानुपर्ने’ धम्कीहरुले निकै पोलेको थियो । उनी भन्छन्–गाडीको यति भाग नभेटिएको भए मैले आत्महत्या गर्नुपर्ने स्थिति आउँथ्यो सायद । खाना पनि गाडीका केही भाग भेटिएको १९ औं दिनमात्र आनन्दले खाएको उनले सुनाए । चालक राई प्रहरीले समेत तुच्छ बोलीले ॅतेरो गाडी कसरी भासियो सेकेन्डमै’ भन्दै अपमान गरेको सम्झिएर भक्कानिन्छन् । भन्छन्–मलाई गाडी चाहिएको थिएन । उक्त घटना सत्य हो भन्ने विश्वास पेश गर्नुथियो । मेरो भगवान्ले दुःखमा कहिले बिर्सन नसक्ने गुन लगाउनुभयो । कोइराला सरले ठूलाठूला व्यक्तिले गर्न नसकेको काम गर्नुभएको छ । ठूलो खाडल छ, माटो भर्नु छ, जोखिम न्यूनीकरण गर्नुछ ।
हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाले उक्त स्थानलाई हाल सिल गरेर राखिने र सल्लाह गरेर अगाडि बढिने बताइन् । अघिल्लो पटक पनि भासिएको अध्यक्षलाई त्यसबारे ज्ञान भएका कारण स्थानीयको सहायता लिएर काम गर्नुभयो । भासिएको स्थानमा भूगर्भविद्को सल्लाहबमोजिम काम गर्ने बताउँदै उक्त स्थानमा अब भारी सवारी सञ्चालन निषेध गरिने मेयर लामाको भनाइ छ । गैरीगाउँबाट चुच्चेखोलातर्फ आउँदै गरेको ना. ४ च ४८३३ नम्बर माछा बोक्ने सिंगल क्याप बोलेरो बैशाख १९ गते दिउँसो करिब १ बजे जमिनमा भासिएपछि बेपत्ता भएको थियो । गुड्दागुड्दैको बोलेरोका चालक राई र सहचालक मुक्तिनाथ सहनीले भने भासिनुअघि निस्किएकाले दुर्घटनामा पर्नबाट जोगिएका थिए ।
भूगर्भशास्त्र केन्द्रीय विभाग काठमाडौंबाट खटिएका ५ सदस्यीय भूगर्भविद्को टोलीले गरेर अध्ययनले गाडी खाल्टोमा दबिएको निष्कर्ष निकालेको थियो । भूगर्भविद् नारायण अधिकारीसहित टोली आफूहरु नै असुरक्षित भएको भन्दै फर्किएको थियो । भूगर्भविद् अधिकारीले गाडी भासिएको घटनास्थल क्षेत्रमा चुम्बकीय शक्ति भएको वस्तु प्रारम्भिक अध्ययनबाट देखिएको भन्दै प्रारम्भिक अध्ययन भएको र गाडी कति तल र कहाँ छ भन्ने यकिन भइनसकेको बताएका थिए ।
‘अध्ययन भएको छ । यसका आधारमा के नतिजा देखिन्छ, थाहा छैन । यसको वैज्ञानिक उत्तरका लागि थप अध्ययन आवश्यक छ,’ उनले अध्ययन रोकिने बताउँदै आफ्नो सुरक्षाका लागि पनि अध्ययन रोकिने बताएका थिए । उनले भएका अध्ययन विश्लेषण गरेर अगाडि बढ्ने भन्दै उक्त क्षेत्रमा पानीका मूल तीन स्थानबाट आएको पाइएको बताएका थिए । टोलीले चुम्बकीय वस्तु पत्ता लगाउन म्याग्नेटोमिटर प्रयोग अध्ययन गरेको थियो । भूगर्भविद् अधिकारीका अनुसार जमिनमुनि ठूलो र बलियो चुम्बकीय वस्तु रहेको अनुमान गरे पनि कति गहिराइमा छ भन्ने पत्ता लागेन ।
गाडी भासिएको स्थानमा माछापालनका लागि खनिएको बोरिङ र पानीको मूलको प्रभावले जमिन कमजोर बनेको अनुमान छ । गाडी भासिएको स्थलमा दह बनेको थियो तर खोजी कार्यलाई जारी राखिएको थियो । भूगर्भविद्को सल्लाहअनुसार खोजी गर्ने क्रममा मंगलबार गाडीको पार्टपुर्जा भेटिएको हो । गाडी खोजी गर्ने क्रममा बैशाख २३ गते भुगर्भविद्को टोलीले अनुसन्धानसहित माटो परीक्षणका लागि लिएर फर्किएको थियो । वडा अध्यक्ष कोइरालाले करिब १० वर्षअघि त्यही क्षेत्रनजिक गोरु दलदलमा भासिएको देखेको अनुभव सुनाएका छन् । हेटौंडा बजारबाट पूर्वस्थित वडा नम्बर–१६ र १७ को सिमानामा १६ नम्बर वडामा उक्त स्थान पर्दछ ।