हेटौंडा/चैत २७ गते भीमफेदी गाउँपालिका कृषि तथा पशुकृषक अगुवा अवलोकन भ्रमणबाट फर्किने क्रममा मकवानपुरको बकैया गाउँपालिकामा भएको दुर्घटनाका घाइतेको सीएमसी चितवनमा जारी उपचारका विषयमा चिन्ता व्यक्त गर्दै पालिका कार्यालयमा ताला लगाइएको छ ।
घाइतेलाई भलाइकोषले उपचार गराइरहे पनि सीएमसी चितवनबाट रेफर लिएर काठमाडौंस्थित ग्राण्डी हस्पिटलको उपचारमा भलाइकोष, यातायातधनी वा पालिकाले कुनै समन्वय नगरेको भन्दै घाइतेका तर्फबाट पालिकाको सम्बोधन हुन माग गर्दै पालिकामा कार्यरत् कर्मचारी बाहिर निकालेर पीडित परिवारद्वारा आइतबार ताला लगाइएको हो ।
पीडित र पालिकाबीच वार्ताका लागि पालिका अध्यक्ष वा उपाध्यक्षमध्ये एक र कार्यकारी प्रमुखलाई अनुरोध गर्दा अध्यक्ष, उपाध्यक्ष दुवै कार्यालयमा नआएकाले स्थानीयले पालिका कार्यालय घेराउ गरेका थिए । कार्यालय सुरक्षाका लागि सशस्त्र प्रहरी र जनपद प्रहरी तैनाथ गरिएका छन् ।
भीमफेदी कृषि भ्रमण टोलीको अस्पताल खर्चको भुक्तानी कसले गर्ने भन्ने अन्यौलमा पीडित छन् । बकैया गाउँपालिका–३, चिसापानी बजारनजिक धरान–चतरा सडकखण्डमा भएको बाप्र ०६–००१ ख २७० नम्बर रिजर्भ बस राति करिब साढे ९ बजे घुम्तीमा अचानक अनियन्त्रित भएको अगुवा किसान कृषि भ्रमण सकिएर फर्कने क्रममा भएको सवारी दुर्घटनामा पालिकाको जनप्रतिनिधि, कर्मचारी र स्थानीय कृषक गरी २९ जना घाइते भएको घटनाको बिल भुक्तानी नभएको भन्दै नेकपा माओवादी केन्द्र भीमफेदी गाउँ कमिटीले दुःख व्यक्त गरेको छ ।
दुर्घटनामा अंगभंग भइ गम्भीर घाइते भएका ४ जनामध्ये ३ जना भीमफेदी–५ की जनप्रतिनिधि वडा सदस्य रीताकुमारी मगर, सानी लामा र अनिल स्याङ्बोले आफ्नो हात गुमाउनुपरेको भन्दै पालिकाले ढिला गरेको बताए । हात काटिएको अवस्थामा समेत सम्बन्धित निकायले उपचारका लागि विलम्ब गरिरहेको आरोप छ ।
पालिकाले भ्रमणका क्रममा प्रयोग गरेको सवारीसाधनसँग कागजातबिना सम्झौता गरेर त्रुटि गरेको छ, जसले हाल घाइतेहरुको उपचारमा बाधा भइ यथोचित उपचारमा विलम्ब भएको र उपचारका क्रममा अस्पतालमा जम्मा गर्न बा“की भुक्तानी कसले गर्ने भन्ने अन्यौलले घाइते र आफन्तजनमा पीडामाथि पीडा थपिएको माओवादी केन्द्र गाउँ कमिटी अध्यक्ष बद्री स्याङ्तानले विज्ञप्तिमार्फत् ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
दुःखद् घडीमा सम्पूर्ण घाइतेको उपचारमा कुनै कमी नहोस्, यथाशीघ्र आवश्यक उपचारको प्रवन्ध मिलाउन सम्बन्धित निकायसँग उनले माग गरेका छन् । पालिका जनताप्रति उत्तरदायी नभएकाले दिनानुदिन बढिरहेको जनआक्रोश विद्रोहमा परिणत भए पालिका स्वयम् जिम्मेवार हुने र त्यस अवस्था सम्बन्धित निकायको नियन्त्रणबाहिर जानसक्ने चेतावनी दिँदै घटनाको सत्यतथ्य छानविन गर्न र घाइतेहरुको उपचारका क्रममा देखिएका समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायलाई विशेष ध्यानाकर्षण गर्दै स्याङ्तानले विज्ञप्ति सार्वजनिक गरेका हुन् ।