सुनिता बिष्ट
हेटौंडा/गत असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण धेरैजसो संरचनाहरुमा क्षति पुर्यायो । भएका सडक सञ्जालहरु बाढीसँगै बग्न पुगे । जसका कारण सडकको अवस्था दयनीय बन्न पुग्यो । आफूले यात्रा गर्ने सडक राम्रो नहुँदा सयौं यात्रुहरुले यात्रामा सकसको सामना गर्नुपरिरहेको छ ।
असोज दोस्रो साता परेको अविरल वर्षाका कारण बागमती प्रदेशको राजधानी र संघीय राजधानी जोड्ने छोटो दुरीको हेटौंडा–कुलेखानी–फाखेल–काठमाडौं सडकखण्डका धेरै भाग बाढीसँगै बग्यो । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ स्थित महालक्ष्मी खोलामा आएको बाढीको वितन्डाले कुलेखानीदेखि फाखेलसम्मका सडकहरुमा धेरै क्षति पुर्यायो । बागमती प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहेको सोही सडकको मर्मतमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा सडक निर्माणको कामलाई तीव्रता दिइएको छ । निर्माण कार्यमा स्थानीय तहका जनप्रतिनिधिहरुले समन्वय गर्दै आएका छन् । जसका कारण आउँदो सनसुनअघि नै सडक सञ्चालनमा आउने तयारीमा रहेको इन्द्रसरोवर गाउँपालिका–४ का वडा अध्यक्ष चन्द्र बलले बताए ।
आउँदो वर्खाअघि नै फाखेल–हुमाने हुँदै हेटौंडा–काठमाडौं आउजाउ गराउने उद्धेश्यले सडकखण्डमा कालोपत्रका लागि १९ दिन सवारी आवागमन बन्द गरिएको छ । पूर्वाधार विकास कार्यालय हेटौंडाको पत्रअनुसार जेठ २ गतेदेखि २० गतेसम्मका लागि इन्द्रसरोवर–२ स्थित कंलकीदेखि इन्द्रसरोवर–४ मा पर्ने हुमानेभञ्याङसम्मको सडक बन्द गरेर कालोपत्र थालिएको हो । कंलकीदेखि हुमानेसम्मको १२.६ किलोमिटर सडकको कालोपत्र कार्य १५ दिनभित्र पूरा हुने पूर्वाधार विकास कार्यालय प्रमुख सुजन भण्डारीको भनाइ छ ।
हालसम्म कुल ८० प्रतिशत् भन्दा बढी काम सम्पन्न भइसकेको उनले बताए । महालक्ष्मी खोलादेखि हुमाने भञ्याङसम्मको सडक मर्मतको काम असारसम्म सम्पन्न भइसक्ने उनको भनाइ छ । बाढीका कारण जीर्ण बनेको सडक निर्माण भइरहेको स्थानमा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले नियमितरुपमा अनुगमन गर्ने तथा गुणस्तरीय कामका लागि निर्माण कम्पनीलाई निर्देशन दिने कार्यका तदारुकता देखाउँदै आएका छन् ।
विपत्का बेला फिल्डमै खटेर अवरुद्ध सडक खुलाउन महत्वपूर्ण भूमिमा उत्रिएका मन्त्री मास्के हाल पनि मन्त्रालयको कुर्सीमा भन्दा बढी पूर्वाधार निर्माण कार्यस्थलमा भेटिने गरेका छन् । अघिल्लो वर्खामा परेकोजस्तो विपद् यस वर्ष यात्रुहरुले खेप्नु नपरोस् भन्ने उद्धेश्यले मन्त्री मास्केले सडकको कालोपत्र छिटो सक्न जोड दिएको दाबी गर्छन् । ‘हामीले आउँदो वर्खाअघि निरन्तररुपमा सवारी सञ्चालनका लागि नै मन्त्रालयको सिंगो टिम फिल्डमा खटिएका छौं,’ मन्त्री मास्केले भने–असारअघि नै सडक पूर्णरुपमा सञ्चालन ल्याउनुपर्छ भनेर निर्माण कम्पनीसँग निरन्तर छलफल र सहकार्यमै लागिरहेका छौं ।
‘अबको १५ दिनमा कालोपत्र सम्पन्न हुन्छ । हामीले लक्ष्यअनुरुप नै सडक निर्माण कार्य सम्पन्न गर्ने देखिएको छ,’ उनले भने । १२.६ किलोमिटर लम्बाइ र ८.२० मिटर चौडाईं (हुमाने देखि कंलकी) सम्मको सडक कालोपत्र हुने भएको हो । सडकको ८.५० किलोमिटर सतह कालोपत्र तथा ४ किलोमिटर ढलान कार्य हुने भएको छ । मन्त्रालयका अनुसार २०८० बैशाख १७ मा ३५ करोड ४८ लाख ८८ हजार ९ सय १६ मा सडक कालोपत्रका लागि सम्झौता गरिएको थियो ।
२०८० बैशाख १७ गते पीएन इन्फ्रा इस्ट्रक्चर प्रालिले कुल ४० करोड ७२ लाख ४५ हजारमा निर्माण सम्झौता गरेको सडकको निर्माण कार्यको अन्तिम मिति असार मसान्तसम्म छ । सडक चौंडा गर्ने, टेवा पर्खाल, नालीनिर्माण, कल्भर्ट निर्माण, कालोपत्र तथा ढलान गर्ने कार्यको जिम्मेवारी पाएको निर्माण कम्पनीले हालसम्म ८० प्रतिशत् भन्दा बढी काम सम्पन्न गरिसकेको बताएको छ । काठमाडौंबाट हेटौंडा हुँदै तराईका जिल्लाहरु पुग्न छोटो दुरीको सडकका रुपमा उक्त सडकखण्ड आगामी वर्खाअघि नै सञ्चालनमा आउने प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको दाबी छ ।
यसअघि काठमाडौं पुग्नका लागि वैकल्पिक मार्गका रुपमा हेटौंडा भीमफेदी–कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी दक्षिणकाली तथा कुलेखानीको कलंकी हुँदै मार्खु र चित्लाङको बाटो आवतजावत भइरहेको थियो । बाटो स्तरोन्नति सम्पन्नपछि छोटो दुरीमा नै काठमाडौंदेखि हेटौंडा र तराईदेखि काठमाडौं पुग्न निकै सहज हुने इन्द्रसरोवर–४ का धनबहादुर स्यांतानले बताए ।
यात्रा सहज हुने भएपछि पर्यटकीयस्थलका रुपमा प्रख्यात रहेको इन्द्रसरोवर तालमा समेत पर्यटन भित्रिने हुँदा स्थानीयलाई समेत विशेष टेवा पुग्ने उनले बताए । असोज १० र ११ गतेको अविरल वर्षाका कारण क्षतिग्रस्त कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक बर्खाअघि नै सञ्चालनमा आउने भएको छ । प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजनामार्फत् ठेक्का लागेर काम भइरहेको सडकखण्डको पुनर्निर्माण तथा स्तरोन्नतिको काम तीव्रगतिमा चलिरहेको हो । यससँगै बागमती प्रदेशको राजधानी हेटौंडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने दुई छोटो दुरीका सडकखण्ड कुलेखानी–सिस्नेरी–दक्षिणकाली र कुलेखानी–फाखेल–हुमानेभञ्ज्याङ सडकखण्ड यस वर्षको वर्खाअगावै सञ्चालनमा आउने भएका छन् ।