सुनिता बिष्ट
हेटौंडा/विगत दुई महिनादेखि बागमती प्रदेश सरकारले प्रदेशमा दर्ता भएका सवारीसाधनका २२ लाखभन्दा धेरै फाइल डिजिटलाइज गर्ने प्रक्रिया सुरु गरेको छ । यातयात व्यवस्था कार्यालयको स्टोरमा थन्क्याइएका यस्ता फाइल व्यवस्थित गर्नसके कार्यसम्पादनमा धेरै समय नलाग्ने तथा कार्यालयबाट फाइल हराउने समस्या अन्त्य हुने लक्ष्य लिएर बागमती प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयका फाइल डिजिटलाइज गर्न थालेको हो । यसअन्तर्गत् बागमती प्रदेशका यातायात व्यवस्था कार्यालयले सवारीसाधनका २२ लाखभन्दा धेरै फाइल डिजिटलाइज गर्ने प्रक्रिया सुरु गरेका हुन् ।
हाल यस्ता फाइल व्यवस्थित गर्न नसक्दा कार्यसम्पादनमा धेरै समय लाग्ने र कतिपय फाइल त कार्यालयबाट हराउने समस्या छ । जसलाई मध्यनजर गरेर बागमती प्रदेशमा दर्ता भएका सवारीहरुको फाइल डिजिटलाइट अर्थात् अनलाइन प्रणालीमा प्रविष्ट गर्ने कार्यलाई तीव्रता दिइएको हो । फागुनबाट औपचारिकरुपमा सुरु भएको डिजिटलाइज प्रणालीबाट हालसम्म ३४ हजार बढी फाइलहरु अनलाइन इन्ट्री गरिएको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ । करिब १६ लाख दुईपांग्रे र ६ लाख चारपांग्रे सवारी दर्ता रहेको बागमतीमा ती सबै सवारीसाधनको फाइल अनलाइन प्रणालीमा प्रविष्ट गर्न लागिएको हो ।
डाटा इन्ट्रीका लागि बागमती प्रदेश सरकारले एक सय जना डाटा इन्ट्रीकर्ता भर्ना गरेको छ । करारमा भर्ना भएका उनीहरुले पुराना फाइलहरुलाई स्क्यान गरेर डिजिटलाइज गर्ने काम गर्दै आएका छन् । यस अवधिसम्म आइपुग्दा हाल ३४ हजार भन्दा बढी ढड्डाहरु डिजिटलाइज गरिएको मन्त्रालयका प्रवक्ता खगेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार २२ लाख सवारीसाधनका फाइलहरुलाई अनलाइन प्रणालीमा प्रविष्ट गरिने मन्त्रालयले लक्ष्य लिएको छ । जसका लागि करिब २/३ वर्ष समय लाग्नसक्ने उनको भनाइ छ । यातायात क्षेत्रको डाटा सिस्टममा सुधार ल्याउने अपेक्षासाथ सुरुवात गरिएको कार्यले यतिबेला तीव्रता पाएको पौडेलले बताए ।
उनका अनुसार फागुनबाट डाटा इन्ट्रीकर्तालाई यातायात कार्यालयहरुमा खटाइएको हो । यातायात व्यवस्था कार्यालय हेटौंडासहित गुर्जुधारा, एकान्तकुना, चितवन, बनेपा तथा खुर्कोटमा डाटा इन्ट्रीका लागि करारका कर्मचारी खटाइएका हुन् । हालसम्म प्रदेशका ६ वटा यातायात कार्यालयहरुमा खटिएका सय जना डाटा इन्ट्रीकर्ताले ३४ हजार ६ सय ७९ फाइल अनलाइनमा इन्ट्री गराएका छन् । जसमा सबभन्दा धेरै यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौंमा १७ हजार ५ सय ८३ सवारीको फाइल इन्ट्री गरिएको मन्त्रालयको तथ्यांक छ । यातायात व्यवस्था कार्यालय ठुला/साना ललितपुरमा ११ हजार ९ सय ५६, यातायात सेवा व्यवस्था कार्यालय भरतपुरमा ३ हजार ५ सय ७८, यातायात सेवा व्यवस्था कार्यालय भक्तपुरमा २ हजार, यातायात व्यवस्था सेवा कार्यालय हेटौंडामा १ हजार ४ सय ४५ र यातायात व्यवस्था कार्यालय सानोभर्याङमा ५ सय फाइल अनलाइन डाटा इन्ट्री गरिएको मन्त्रालयको तथ्यांक छ ।
बागमतीमा दर्ता रहेर अन्य कार्यक्षेत्रमा सञ्चालन गर्दै आएका करिब १ सय सवारीको फाइलसमेत इन्ट्री गरिएको मन्त्रालयले जनाएको छ । डाटा स्टोरेजका लागि सिंहदरबारस्थित एकीकृत डेटा व्यवस्थापन केन्द्रमा स्पेस लिइएको छ भने ब्याकअप डाटा हेटौंडामा रहने गरी करिब ६५ टेराबाइट् स्टोरेज लिइएको श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले जनाएको छ । सवारीको फाइल अनलाइन प्रणालीमा लगिएपछि कस्ता सवारीहरु कति दर्ता छन् भन्ने तथ्यांक एक क्लिकको भरमा निकाल्न सकिने यातायात व्यवस्था कार्यालय हेटौंडा प्रमुख प्रवीण श्रेष्ठ बताउँछन् । उनका अनुसार यातायात व्यवस्था कार्यालय हेटौंडामा १ हजार ४ सय बढी फाइल अनलाइनमा प्रविष्ट गरिएको छ ।
जसका लागि ७ जना डाटा इन्ट्रीकर्ता खटिएका छन् । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी ढड्डा डिजिटलाइजसँगै नागरिक एपमा ईब्लुबुकको सुबिधा प्रदान गर्ने कार्यको समेत केही दिनअघि शुभारम्भ गरेको थियो । नागरिक एपमा क्युआर कोडसहित डिजिटल लाइसेन्स, नागरिक एपमा ब्लुबुकको सेवा दिन थालेको यातायात मन्त्रालयले यातायात कार्यालयहरुलाई प्रविधिमैत्री बनाउन फाइल अनलाइन प्रणालीमा राखेर तथ्यांक संकलन गर्न थालिएको श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन बताउँछन् । चालु आर्थिक वर्षबाट सुरुवात भएको यस कामलाई आगामी वर्षहरुमा समेत निरन्तरता दिँदै कागजी ढड्डा प्रयोग हटाएर डिजिटल प्रविधिबाट काम गर्नका लागि नीति, कार्यक्रम तथा बजेट बनाइने मन्त्री महर्जनको भनाइ छ । ‘अब एकपटक सुरु भएको कामलाई निरन्तरता नदिने भन्ने हुँदैन,’ उनले भने–चालु आर्थिक वर्षबाट सुरु गरिएको छ । यसलाई आगामी आर्थिक वर्षहरुमा पनि निरन्तरता दिने गरी हामी नीति कार्यक्रम बनाउँछौं । सोहीअनुसार बजेट निर्माण गर्छौं ।