10.9 C
Makwānpur
Homeमुख्य समाचार‘उपलब्धियुक्त बन्दै तेस्रो श्रृंखला’ प्रदेश युवा सम्मेलन आजदेखि
spot_img

‘उपलब्धियुक्त बन्दै तेस्रो श्रृंखला’ प्रदेश युवा सम्मेलन आजदेखि

spot_img
मञ्जिता मैनाली
हेटौंडा/हेटौंडामा आज (आइतबार) देखि आयोजना हुने बागमती प्रदेश युवा सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । मंगलबारसम्म सञ्चालन हुने सम्मेलनमा ३ सय बढी युवाको प्रत्यक्ष सहभागिता रहने छ । प्रदेश युवा परिषद्ले आयोजना गर्न लागेको यो तेस्रो श्रृंखला हो । बागमतीमा २०८० सालदेखि युवा सम्मेलनको आयोजना हुँदै आएको छ । सम्मेलन प्रदेशस्तरमा युवाको नीतिसंवाद, सिपविकास, रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न महत्वपूर्ण अवसरका रुपमा स्थापित भएको छ । सम्मेलनमा भौतिकरुपमा तीन सय युवाको सहभागिता रहे पनि डिजिटल माध्यमबाट लाखौं युवालाई सहभागी गराउने आयोजक प्रदेश युवा परिषद्को योजना छ ।
युवालाई सरकारसँग जोड्ने, उनीहरुको आवाज नीतिनिर्माणमा पुर्‍याउने र अवसर सिर्जना गर्ने सन्दर्भमा प्रदेश युवा सम्मेलन अब बागमती प्रदेशकै दीगो युवा कार्यक्रम बन्न थालेको छ । किनकि, प्रदेश सरकारले यस युवा सम्मेलनलाई आफ्‌नो वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्दै वार्षिकरुपमा बजेट समायोजन गरेको छ । फलस्वरुप बितेका दुई आर्थिक वर्षमा १० हजार पाँच सयभन्दा बढी युवाले सिप सिकेका थिए भने सिप सिकेका चार सय पाँच युवा उद्यमशीलतामा जोडिएको प्रदेश युवा परिषद्ले जनाएको छ । प्रदेश युवा परिषद्ले शनिबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमको ढाँचा र उद्धेश्यबारे जानकारी गराएको छ । पत्रकार सम्मेलनमा परिषद् उपाध्यक्ष सन्तोष चौलागाईंले बागमती सरकारको नीति कार्यक्रम र बजेटमा युवा सिप वर्ष घोषणा गराउन परिषद् सफल भएको उल्लेख गरे ।
‘सरकार शासनमा युवा सहभागिता खोज्ने, युवा शासनमा आफ्‌नो भूमिका नदेख्ने परिपाटी अन्त्य गर्दै युवा र सरकारलाई एकै थलोमा राखेर युवामैत्री नीतिनिर्माणमा युवा र सरकारबीच संवाद गराउँदै आएका छौं,’ उनले भने । उपाध्यक्ष चौलागाईं भन्छन्‌–बागमती प्रदेशका हरेक युवा सिपयुक्त भएर उद्यमशीलतामा जोडिनुपर्छ भन्ने ध्येयसाथ परिषद्का योजनाहरु अघि बढिरहेका छन् । सिप र उद्यमशीलतामा युवालाई जोड्न प्रदेश युवा सम्मेलन कोसेढुंगा साबित हुनेमा हामी विश्वस्त छौं । ‘राजनीतिप्रति वितृष्णा राख्ने युवाहरु पनि सरकारले बनाउने नीतिनियमले आफ्‌ना अवसरहरु सिर्जना हुनसक्दछ भन्ने कुरामा कन्भिन्स भएका छन् । सरकार युवाका क्षेत्रमा केकस्ता योजना बनाउने अलमलमा देखिन्थ्यो । युवाहरु पनि सरकारलाई आफ्‌ना कुरा कसरी राख्ने भन्ने अलमलमै थिए । हामीले यी दुवै स्टेकहोल्डरलाई जोड्ने सेतुको काम गरेका हौं,’ उनले भने–युवा सम्मेलनले प्रदेश सरकारलाई युवानीति र बजेटमै युवा सिप वर्ष घोषणा गराउने वातावरण सिर्जना गरेको छ ।
प्रदेश युवा सम्मेलन नीति संवाद प्लेटफर्मका रुपमा स्थापित भएको छ । सम्मेलनले युवा र सरकारबीच दुरी घटाइ एकअर्कालाई सामीप्यमा ल्याउने काम गर्दै आएको छ । सम्मेलनका प्रत्येक सत्रमा मुख्यमन्त्री, सामाजिक विकास मन्त्री, युवा तथा खेलकुद मन्त्री, स्थानीय सरकार प्रमुखहरु र अन्य उच्चपदस्थ व्यक्तिहरुको सहभागिता रहनेछ । युवाले नीतिगत् विषयमा सुझाव दिने अवसर पाएका छन् । प्रदेश र स्थानीय तहले बनाउने नीतिमा युवाहरुको सुझावका आधार र युवा परिषद्को सिफारिसमा जिल्ला युवानीति तथा कार्यक्रमहरु परिमार्जन भएको देखिन्छ । प्रदेश युवा परिषद्ले युवा सम्मेलनको आवश्यकता पुष्टि गर्न २०७८ सालमा युवा आवश्यकता मूल्यांकन सर्वेक्षण सञ्चालन गर्‍यो, जसमा ७२ प्रतिशत् युवाले नीतिसंवादका प्लेटफर्मको अभाव भएको उल्लेख गरेका थिए । उक्त डेटा र नागरिक समाजसँगको छलफलका आधारमा सम्मेलन प्रस्ताव तयार पारियो र सामाजिक विकास मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा प्रस्तुत गरिएको थियो । ‘युवा सशक्तीकरणमा प्रत्यक्ष प्रभाव पर्ने नीति कार्यक्रम भएकाले सरकार सहमत भयो,’ उपाध्यक्ष चौलागाईं भन्छन् ।
कार्यकारी उपाध्यक्ष चौलागाईंका अनुसार सम्मेलन केवल युवाको जमघटमात्र होइन, प्रदेश सरकारको नीतिनिर्माण प्रक्रियामा युवाको प्रत्यक्ष संलग्नता सुनिश्चित गर्ने ऐतिहासिक थालनी हो । उनले थपे–नेपालको संविधानले युवालाई सामाजिक, आर्थिक, साँस्कृतिक तथा राजनीतिक जीवनमा समान अवसर प्रदान गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको भए पनि व्यवहारमा ती अधिकार अझै कमजोर छन् । यही पृष्ठभूमिमा सम्मेलनले प्रणालीगत् हस्तक्षेपको थालनी गर्नेछ । प्रदेश युवा परिषद्ले युवाहरुलाई पहिलो चरणमा आधारभुत तालिम प्रदान गर्ने, दोस्रो चरणमा विशिष्टीकृत तालिम दिने र सिप सिकेका युवाहरुको सिपपरीक्षण गरी उनीहरुलाई सीटीईभीटीको प्रमाणपत्र प्रदान गर्ने गर्दछ । उनीहरुलाई उद्यमशील बनाउन आवश्यक सामग्री दिएर उत्प्रेरणा दिने काम भइरहेको छ । सिप सिकेका धेरै युवाहरु आफैंले व्यवसाय सञ्चालन गरिरहेका छन् । धेरै युवा प्रशिक्षकका रुपमा स्थापित बनेका छन् । युवाहरुमा सिप सिक्नुपर्दछ भन्ने भावना जागृत भएको छ ।
‘प्रदेशका प्रत्येक युवा सिपयुक्त हुनुपर्दछ । युवा सशक्तीकरण सिप र क्षमता विकासबाट मात्र हुनेछ । युवाहरुले चाहेमात्र देश विकास सम्भव हुने भएकाले उनीहरुलाई उद्यमशीलतामा जोड्नुु पर्दछ,’ चौलागाईंले भने–सिप सिकेका युवा विदेशमै गए पनि उनीहरुले सहज र सुरक्षित रोजगारी प्राप्त गर्दछन् । उनीहरुको आम्दानी पनि बढी हुन्छ । हाल प्राप्त भइरहेको रेमिटेन्समा पनि बृद्धि हुन्छ । सिप सिकेका युवा उद्यमी बन्दा अन्य युवाहरुले रोजगारीको अवसर प्राप्त गर्दछन् । सम्मेलनमा ॅकृषिमा नवप्रवर्तन र युवा संलग्नता सम्भावना र चुनौती’, ‘डिजिटल सुशासन र प्रविधिमा युवा’, ‘शिक्षा सिप र सिर्जना’, ‘दीगो विकासमा जलवायु परिवर्तन र युवा’, ‘युवामा सिपमूलक तालिमको आवश्यकता र प्रभावकारिता’, ‘नीति, नेतृत्व र युवा संलग्नता’ तथा ‘मुख्यमन्त्रीसँग युवा’ लगायत विषयमा विज्ञहरुसँग प्यानल छलफल र कार्यशाला हुनेछन् । परिषद्को तथ्यांकअनुसार दोस्रो सम्मेलनपछि चार सय पाँच युवाले आफ्‌नै उद्यम सुरु गर्ने प्रेरणा पाएका थिए भने हालसम्म १० हजार पाँच सयभन्दा बढी युवा दक्ष जनशक्ति निर्माण भइसकेका छन् ।
परिषद्ले २०७८ मा गरेको सर्वेक्षणअनुसार सात सय ५० युवाले नीति संवादको प्लेटफर्मको अभाव महसुस गरेको तथ्यका आधारमा परिषद्ले यस सम्मेलनको अवधारणा ल्याइ सोहीअनुरुप कार्यक्रम आयोजना गर्दै आएको छ । सम्मेलनमा युवा उद्यमीको प्रदर्शनी, सिप वर्षअन्तर्गत् तालिमप्राप्त युवाको अनुभव र प्रेरणादायी कथा, अन्तरप्रदेश युवा उद्यम र रोजगारीबारे अन्तर संवाद, नेपालकै पहिलो सुरुङमार्ग रहेको चुरियामाई मन्दिरको अवलोकन भ्रमण र हाइकिङका साथै युवामा सकारात्मक सोच विकासका लागि प्रतिभा र कला प्रदर्शनी गर्दै सम्मेलन घोषणापत्र जारी गरिनेछ । सम्मेलनमा प्रतिनिधि छनौट गर्दा जिल्लागत्, लैंगिक, जातीय, भौगोलिक, शारीरिक अवस्था र आर्थिक पृष्ठभूमिका आधारमा विविधता सुनिश्चित गरिएको छ । सहभागीमध्ये महिलाको न्यूनतम् ३३ प्रतिशत् सहभागिता सुनिश्चित गरिएको छ भने दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, अपांगता भएका र तेस्रोलिंगी समुदायका युवाको पनि प्रतिनिधित्व हुनेछ ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि