हेटौँडा/हेटौँडा–१, भिन्तुनापथमा नेपाल भाषा खलः को भवन निर्माणका लागि बिहीवार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले भवनको शिलान्यास गरेका हुन् । बागमती प्रदेश सरकारको २८ लाख ८४ हजार रुपैयाँ बजेट, लागत सहभागिता ३ लाख ३५ हजार रुपैयाँसहित ३३ लाख ३५ हजार रुपैयाँ बजेटले भवन निर्माणको थालनी गरिएको हो ।
आगामी असार १० गतेसम्म उपभोक्ता समितिमार्फत् भवन निर्माणको सम्झौता भएको छ । भूकम्पका कारण जीर्ण भएपछि पुरानो भवन भत्काएर सोही स्थानमा नयाँ भवन निर्माण गर्न लागिएको हो । स्वर्गीय हर्षनर बज्राचार्यले नेपाल भाषा खलःका लागि ४ दशकअघि १५ धुर जग्गा दान गरेको जग्गामा भवन बनेको थियो । नेपाल भाषा खलःका अध्यक्ष महेश श्रेष्ठले ४ तल्लाको भवन निर्माण गर्ने गरी विस्तृत परियोजना प्रस्ताव तयार
पारेको जानकारी दिए । प्रदेश सरकारले उपलब्ध गराएको बजेटबाट फाउण्डेशन तयार पारेर पिल्लरसम्म उठाउन सकिने र आगामी आर्थिक वर्षमा पनि निरन्तर बजेट प्राप्तिका लागि पहल गर्ने उनले जानकारी दिए । भुईतल्लालाई व्यापारिक प्रयोजनका लागि भाडामा लगाएर नियमित आयस्रोतको रुपमा विकसित गर्ने र माथिल्लो तल्लामा संग्रहालय, सभा हल, कार्यालय सञ्चालन गरिने श्रेष्ठले बताए ।
भवन शिलान्यासपछि मुख्यमन्त्री लामाले बागमती प्रदेश सरकारले जातीय भाषा, संस्कृतिको जगेर्ना गर्न सचेत रहेको बताए । प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई प्रदेश सरकारको कामकाजी भाषाको रुपमा प्रचलनमा समेत ल्याइसकेको स्मरण गराउँदै जातीय समुदायले भाषाको प्रचलनलाई प्रवद्र्धन गर्न अग्रसर हुनुपर्ने मुख्यमन्त्री लामाको भनाइ थियो । बागमती प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले प्रदेश सरकारसँग मात्रै नभई नेपाल भाषा खलःले आफ्नो जातीय समुदाय र आमनागरिकसँग पनि सहयोग संकलन गरेर भवन निर्माण कार्य पूरा गर्नुपर्ने सुझाए । कार्यक्रममा प्रदेश सभामा नेका संसदीय दलका उपनेता राम कृष्ण चित्रकार, प्रमुख सचेतक गोविन्द लम्साल, प्रदेश सभा सदस्य रामकुमार पहाडी, वडाध्यक्षहरु विष्णुगोपाल महर्जन, सविन न्यौपानेको पनि आतिथ्य थियो ।