मञ्जिता मैनाली
हेटौंडा/साउन ४ गते हेटौंडा–५ स्थित घरमा पत्नीलाई मारेर पतिले देह त्यागेका थिए । कैलाश गाउँपालिका–५ मा साउन २७ गते पतिले आफ्नै घरभित्र बञ्चरोप्रहार गरी हत्या गरेर शव जंगलमा गाडेका थिए । भदौ १० गते हेटौंडा–१, भैरवडा“डामा नातिले हजुरआमाको हत्या गरेका थिए । भदौ ९ गते होटलको लजमा पतिले पत्नीको हत्या गरेको तथ्यांकमा उल्लेख छ । असोज ६ गते एक पुरुषको हत्या भएकोमा साथीलाई पक्राउ गरिएको थियो ।
फागुन १५ गते इन्द्रसरोवर–२ मा आमाबाबुले छोरालाई कुटपिट गर्दा उपचारका क्रममा मृत्यु भएको थियो । चैत १३ गते हेटौंडा–१, चौकीटोलमा आफ्नै घरमा महिला मृत भेटिएकी थिइन् । उनलाई देवरले नसाको तालमा धारिलो हतियार प्रहार गर्दा मृत्यु भएको तथ्यांकमा उल्लेख छ । चैत २० गते बागमती गाउँपालिका–८, भुवनचुली देउडी भञ्ज्याङ्स्थित सडक नालीमा एक पुरुष मृत भेटिएका थिए । ३ पुरुष र ४ महिला पक्राउ परेका थिए । मंसिर १३ गते धारिलो हतियार प्रहार गरी साथीको हत्या गरिएको थियो । पुस ८ गते सामान्य झगडा हुँदा मृत्यु भएको थियो । फागुन २१ गते घा“टीमा पछ्यौरा कसेर हत्या भएको थियो ।
पछिल्लो समय देशभर हत्याका घटना बढ्दै गएका छन् । अधिकांश घटना आर्थिक, पारिवारिक समस्या र अवैध यौनसम्बन्धका कारण भएको देखिन्छ । पतिपत्नी, साथीभाइमा सामान्य वादविवाद हुँदा उत्पन्न भएको आवेगले पनि पछिल्लो समय हत्याका घटना बढ्दै गएको प्रहरी तथ्यांकले देखाएको छ । कतिपय डिप्रेसन र मादकपदार्थ सेवनका कारण पनि हत्याका घटना भएको देखिएको छ । महिलाको संख्यामा हेर्दा पुरुषहरु बढी आवेगमा आइ घटना घटाउने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । समूहले गरेको हत्या घटनामा अर्कोमाथि हाबी हुने प्रवृत्ति र तत्काल आवेग रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामु अर्यालले तत्कालको रिस र आवेगलाई मानिसले नियन्त्रण गर्न नसक्दा हत्याका घटना हुने गरेको देखिएको बताए । उनका अनुसार पछिल्लो समय मकवानपुरमा जघन्य प्रकृतिका अपराध कर्तव्यज्यानका घटना डरलाग्दोरुपले बढ्दै गएको बताएका छन् । मकवानपुरमा चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म अवधिमा २९ वटा कर्तव्यज्यानका घटना घटेको छ । प्रत्येक घटना हेर्दा साथीभाइ र नातेदारले हत्या गरेको देखिन्छ । पछिल्लो समय मकवानपुरमा घटनाक्रम हेर्दा रिसको आवेगमा धेरैजसो घटना घटेको पाइन्छ ।
पारिवारिक कारण, ड्रग्स प्रयोग र मादकपदार्थ सेवनका कारण आवेगमा आपराधिक क्रियाकलाप भएको घटना अनुसन्धानले देखाएको प्रहरीले जानकारी दिएको छ । जति पनि घटना भएका छन्, थोरैमात्र योजनाबद्ध देखिएको उनीहरुको भनाइ छ । समाजमा घटिरहेका घटना न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले विद्यालयमा विद्यार्थीबीच र समाजमा जनचेतनामूलक कार्यक्रम गरिरहेको उनीहरुले बताएका छन् ।