मनिता राना
हेटौंडा/मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीस्थित ऐतिहासिकस्थल भीमसेन मन्दिर उत्खनन् गर्दा करिब ८७ वर्षअघि बाढीको चपेटामा परेर पुरिएका देवीदेवताका प्रतिमा फेला परेका छन् । उक्त मन्दिर क्षेत्र मापनसहित घेरापर्खाल बनाउने कार्य भइरहँदा निर्माणको क्रममा उत्खनन् गर्दा ८७ वर्षपहिले पुरिएका गणेश मन्दिर, सरस्वती मन्दिर भग्नावशेष अवस्थामा र पुरातात्विक मूर्तिहरु फेला परिरहेका छन् । काठका गजुर आदि निर्माण समितिले सुरक्षित राखेको बताइएको छ ।
विसं १९९५ तदनुसार नेपाल सम्वत् १०५८ मा निर्माण भएको पौराणिक महाभारत वर्ष हिमवत खण्डमा व्याख्या भएको किम्बदन्तीअनुसार मकवानपुरको ऐतिहासिकस्थल भीमसेन मन्दिर २०११ को बाढीले भग्नावशेष बनाएको थियो । मन्दिर उत्खनन् गरेर पुनर्संञ्चालनमा ल्याइएको थियो । २०२८ सालको बाढीले पूर्णरुपमा पुरिएको मन्दिरलाई केही हदसम्म उत्खनन् गरी फेरि पुनर्संचालनमा ल्याइएको थियो । २०३७ सालताका मन्दिरको संरचना भत्काएर हालको बजारमा स्थानान्तरण गर्दा ८७ वर्षअघिका मन्दिर र मूर्ति सबै पुरिएका थिए ।
हाल भीमफेदीका स्थानीय, जनप्रतिनिधि, धर्म र सँस्कृतिविद्हरुको पहलमा मन्दिरलाई पहिलेकै अवस्थामा जीर्णोद्धार गर्ने जमर्कोसहित समाजसेवी जीवन राजबाहकको संयोजकत्वमा निर्माण उपभोक्ता समिति गठन गरी पर्यटन र सँस्कृति मन्त्रालयको पहिलो चरण २० लाख बजेटबाट कार्यथालनी गरिएको हो । पौराणिक कालीगढी नमूना झल्कने भीमसेन महाराजको मूर्ति भएको भीमसेन मन्दिर, ढुंगेधारासहित आकर्षक पोखरी र मनोरम बगैंचाजस्ता थुप्रै ऐतिहासिक संरचनाले झकिझकाउ छ भीमफेदी ।
भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा पालिकाले ऐतिहासिक भीमफेदी बजारको ऐतिहासिकता, धार्मिक तथा पर्यटकीय महत्वको प्रवद्र्धन हुने गरी विशेष योजना ल्याउन लागेको बताउँछन् । भीमफेदीका कतिपय सम्पदाहरु केन्द्र सरकारमातहत रहेको र कतिपय पुरातत्व विभागको क्षेत्राधिकारमा रहेकाले आवश्यक समन्वय गरेरमात्र काम गर्नुपर्ने वाध्यता रहे पनि कुनै पनि शर्तमा त्यहाँको एतिहासिकताको प्रचारप्रसार गरेर भीमफेदीको समृद्धि बृद्धिका लागि काम गरिने उनको भनाइ छ ।
नेपालको पुरानो त्रिभुवन राजपथ निर्माण हुनुअघि काठमाडौं उपत्यकाको एकमात्र प्रवेशद्वार भीमफेदीको चहलपहल थामिनसक्नु थियो । तराईमा शिकार खेल्न जाने होस् वा तराईबाट राजधानी आउजाउ गर्ने पैदल यात्रुहरुको बासस्थान थियो भीमफेदी । मकवानपुरको वर्तमान सदरमुकाम हेटौंडाबाट करिब २७ किलोमिटर उत्तर रहेको भीमफेदी मध्यकालीन नेपालको इतिहासमा निकै चर्चित थियो । जिल्लाको पूर्व सदरमुकामका रुपमा रहेका भीमफेदी ४३ वर्षअघिसम्म अत्यन्त व्यस्त र चहलपहल भएको ठूलो व्यापारिक केन्द्रका रुपमा थियो ।
२०३९ मा तत्कालीन जिल्ला सभापति ओमुटेम्पा लामाले मकवानपुरको सदरमुकाम भीमफेदीबाट सारेर हेटौंडामा ल्याएपछि भने चहलपहलयुक्त भीमफेदी एकाएक उजाड बन्दै गयो । त्यहाँका अधिकांश कार्यालय हेटौंडा आएपछि व्यापार/व्यवसायसमेत हेटौंडातिर सर्न पुग्यो । तामाङ जातिको बाहुल्य रहेको मकवानपुरको देउराली, कोगटे तथा सुपिङबीच रहेको भीमफेदी बजार भने नेवारी व्यापारी बाहुल्य बजार थियो । नेवार भएका कारण विभिन्न जात्रा, महोत्सव, झाँकी, नाचलगायत विभिन्न साँस्कृतिक कार्यक्रम एवम् पर्वविशेषका जात्रा र कार्यक्रमले साँस्कृतिकरुपमा पनि समृद्ध थियो भीमफेदी । राणाकालमा बेलायती राजारानीलगायत विदेशी पाहुना हात्तीमा बसेर शिकार खेल्नका निम्ति पनि भीमफेदी नै पुग्थे ।
विगतमा पैदल यात्रुहरुका निम्ति बास बस्न बनाइएका पाटीपौवा र निजी भवन हाल जीर्ण अवस्थामा पुगेका छन् । मकवानपुरको पुरानो सदरमुकाम भीमफेदी हात्तीसारस्थित हौदा संग्रहालयमा रहेका हौदालगायत विभिन्न ऐतिहासिक सामग्री संरक्षणको पर्खाइमा छन् । संग्रहालयमा सन् १९५२ मा बेलायती महारानी एलिजाबेथ र जंगबहादुर राणालगायत राणा परिवारले प्रयोग गरेका हौदाहरु छन् ।
राजा महेन्द्रको निमन्त्रणामा नेपाल आएकी महारानी एलिजाबेथ द्वितीयले हाल संग्रहालयमा रहेका शिकारी हौदा कसिएका हात्ती चढेर हालको चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ, गैंडालगायत वन्यजन्तुको शिकार गरेकी थिइन् । संग्रहालयमा महारानी एलिजाबेथले प्रयोग गरेका ४ वटा शिकारी हौदा र जंगबहादुरले प्रयोग गरेका पिँजडा हौदा छन् ।
ऐतिहासिक चिसापानी गढी, राजामहाराजा एवम् राणाले निर्माण गरेका भौतिक संरचना, विसं १९६४ मा निर्मित अनौठो र आकर्षक पृथ्वी–चन्द्र अस्पताल भवन, राणा प्रधानमन्त्री जुद्ध शमशेरले निर्माण गराएको विशाल धर्मशाला (हाल भत्काइएको र महेन्द्र माविको आधुनिक भवन बनाइएको), पौराणिक कालीगढी नमूना झल्कने भीमसेन महाराजको मूर्ति भएको भीमसेन मन्दिर, ढुंगेधारासहित आकर्षक पोखरी र मनोरम बगैंचाजस्ता थुप्रै ऐतिहासिक संरचनाले झकिझकाउ भीमफेदी, सदरमुकाम सरेपछि निरस र उजाडमात्र बनेन, त्यहाँका साँस्कृतिक परम्परा भीमसेन जात्रा र अन्य केही सानातिना जात्राबाहेक लगभग लोप हुने अवस्थामा पुगेका छन् ।
चहलपहल कम भएपछि धेरै स्थानीय काठमाडौं र हेटौंडातिर बसाइँ सरे । भीमफेदीको चिसापानीगढी देशको सबभन्दा चल्तीको नाका थियो । हाल ललितपुरको भुसेल, माल्टा, आस्राङ, साहुमारादेखि धादिङ र काभ्रेको केही भागसमेत र पूरै चितवन र मकवानपुर जिल्ला मिलेर बनेको चिसापानीगढी जिल्लाको केन्द्र त्यही गढी भएको इतिहास पाइन्छ । विसं २०१३ तिर त्रिभुवन राजपथ सञ्चालन हुनु अघिसम्म दक्षिणी भागलाई काठमाडौंसँग जोड्ने एकमात्र नाकाका रुपमा थियो भीमफेदी । राजामहाराजा तथा राणाहरुले नेपालमा गाडीहरु भिœयाएका थिए । विदेशबाट नेपालको वीरगञ्ज, हेटौंडा हुँदै भीमफेदीसम्म मोटरबाटोबाट गाडी लगिन्थ्यो ।