मञ्जिता मैनाली
हेटौंडा/बालबालिकालाई डेढ/दुई घण्टा हिँडेर विद्यालय आउनुपर्ने बाध्यता छ । त्यहाँ आवासीय विद्यालय बनाउनु आवश्यक देखिन्छ । त्यहाँ विद्यालय टाढा भएकै कारण कतिपय बालबालिकाले पाँच कक्षा पढेर पढाइ छाड्ने गरेका छन् । कक्षा–८ उत्तीर्ण भएपछि यहाँका ७५ प्रतिशत् विद्यार्थीले पढाइ छाड्छन् । त्यहाँका विद्यार्थीलाई निकै सास्ती छ । चेपाङ बालबालिका विद्यालय शिक्षाबाट वञ्चित छन् । विद्यालय टाढा भएर अनि के खाने, के लगाउने भन्ने मुख्य समस्याले पनि गाँजेपछि बालबालिका विद्यालय पढ्न जान सकेका छैनन् । चेपाङ बालबालिकाको दिनचर्या खेल्ने, गोठालो जाने र अर्काको काम गर्दैमा बितेको छ । विशाल, कुमार, प्रेम चेपाङ विद्यालय पढ्न जाने उमेरका छन् । उनीहरु दिनभर खेलेरै समय बिताउँछन् । खान, लगाउनकै समस्याले छोराहरु पढाउन नसकेको बाबु डन्डु चेपाङले दुःखेसो गरे । मेला गएको दिन घरमा चुलो बल्छ, नभए भोकभोकै सुत्नुपर्ने बाध्यता डन्डुको घरमा छ ।
ढुंगा, माटो र काठको जोडाइले बनेको घर भुकम्पले चिराचिरा बनाए पनि निजी आवास पुनर्निर्माणमा चेपाङ परिवारले अनुदान रकम पाएनन् । घर भुकम्पपछि धराप बनेको छ । घरभित्र खानेकुरा, लत्ताकपडा केही छैनन् । पानी भर्ने बाल्टी, खाना पकाउने कसौंडी, खाने थालबाहेक भान्सामा अन्य भाँडाकुँडा छैनन् । भिरालो पखेरामाथि डन्डुको झुप्रो छ । डन्डुका दुई छोरा कुमार र विशाल हुन् । काखे छोरो विशाललाई छाडेर पत्नी अन्यत्र बिहे गरी हिँडेपछि डन्डुले छोराहरु हुर्काए । भने–काम गरेको दिन खान पाइन्छ । काम नपाएको दिन भोकभोकै सुत्छौं । कान्छा छोरा विशाल डन्डुको साथी हो । जेठो छोरा कुमार छिमेकीको घरमा डेक (टिभी) हेर्न पाइने भएकाले उत्तै रमाउँछ । खानेपानी लिन १५ मिनेट टाढाको खोलामा धाउनुपर्छ । करेसाबारि बाँझै छ । डन्डुको घरमा सम्पत्तिको नाममा एउटा थोत्रो रेडियो र गाई छ ।
‘मेला गएर ल्याएको दुई/तीन सय रुपियाँले चामल किन्ने कि, भुटुनमसला किन्ने कि, नुन किन्ने कि केके किन्ने ?,’ डण्डुले गुनासो गर्दै भने–बिरामी परेको दिन आफू त भोकै पर्छुपर्छु, छोराहरु समेत भोकभोकै हुन्छ । स्थानीय अनुप चेपाङले भर्ना हुने तर नियमित विद्यालय नजा“दा चेपाङ बालबालिका शिक्षाबाट वञ्चित हुँदै आएको बताए । मकवानपुरको राक्सिराङ गाउँपालिका चेपाङ समुदायबहुल क्षेत्र हो, जहाँ शिक्षा, स्वास्थ्यलगायत आधारभूत न्यूनतम् सुबिधाको अभाव छ । तर, उक्त क्षेत्रमा सदरमुकाम हेटौंडाका एक युवाले १३ वर्षदेखि घाटामै गए पनि संस्थागत् विद्यालय सञ्चालन गरिरहेका छन् । मकवानपुरको विकट मानिने पालिकाको ९ नम्बरमा पर्ने खैराङको बेथानी नमुना स्कुलमा ३ कक्षासम्म पढाइ हुन्छ । बेथानी नमुना स्कुलमा १ सय १५ बालबालिका अध्ययनरत् छन् । उक्त विद्यालय हेटौंडा–४ का अभिषेक उप्रेतीले सञ्चालनमा ल्याएका हुन् ।
कसरी सुरु भयो ?
सञ्चारमाध्यममा खैराङका पीडा र बिकटताका समाचार लगातार आएपछि त्यहींको भुगोलबारे बुझ्न २०६७ सालमा उप्रेती मनहरी, बुखुम, बन्किङ, जैसनताल, दुङुखोला हुँदै तर्सिकोट पुगे । त्यहाँ जाने बाटो थिएन, हिँडेरै गए । तर्सिकोट पुगेर स्थानीयसँग खैराङबारे बुझेर फर्किए । तीन महिना खैराङबारे अध्ययन गरेर पुनः ३ दिन हिँडेर उनी खैराङ पुगे । खैराङमा ७१ वटामात्र घर थिए । ती घरमा उमेश चेपाङ नाम गरेका एकमात्र ४ कक्षा पढेका भेटिए ।
त्यस समय खैराङमा पानीको चरम अभाव थियो । जसका कारण गाईबस्तु पाल्ने र खेतीपाती गर्ने अवस्था नै थिएन । शौचालय कसैको घरमा थिएन, बालबालिकाले नुहाउने अवस्था थिएन । त्यहाँको अवस्था देखेर केही गर्नुपर्छ भन्ने सोच बनाएर गाउँमा सानो घर बनाउन केही समयमा उनी सफल भए । त्यही सानो घरमा बालबालिकालाई अक्षर चिनाउन सुरु गरियो । १४ बालबालिका लिएर पढाउन सुरु गरियो । खोला तरेर टाढा पुग्नुपर्ने र घण्टौं हिँड्नुपर्ने अवस्था रहेकाले ९ वर्ष उमेरमा विद्यालय जानसक्ने हुन्थे बालबालिका । उमेर बढी तर कक्षा सानो हुने कारण लाजले उनीहरु विद्यालय जान मान्ने थिएनन् । जातीय विभेदसमेत रहेको गाउँमा बिस्तारै ‘विद्यालय’ कै रुपमा पढाउन सुरु गरियो । बालबालिकालाई तीन कक्षासम्म गाउँमै पढ्ने व्यवस्था मिलाउँदै पढाइका लागि उत्साहित बनाइयो । उमेरअनुसार वर्ग छुट्याएर पढाइने गरेको थियो । स्कुलको अवधारणा आएसँगै दर्ता गरेर विद्यालय चलाउन सुरु गरियो ।
२०७२ सालको भुकम्पले त्यहाँका थुप्रै घर विस्थापित हुने अवस्था आयो । अमेरिकाको एक संस्थासँग समन्वय गरेर उक्त संस्थाले विद्यालयमा कोठाकोठा बनाउन सहयोग गर्यो । २०७२ सालदेखि २०७७ सालसम्म विद्यार्थीलाई दिवाखाजा र शिक्षक तलबको व्यवस्था उनीहरुले गरिदिए । त्यहाँ भत्केका घर पुनर्निर्माणका निम्ति जस्तापाता, सिमेन्ट र खाद्यान्नका लागि रकम सहयोग गर्ने कुरा दाताबाट आयो । घेराबारसहितको बास उपलब्ध गराउन सफल भइयो । सहयोगबाट ३१ वटा घर बनाइयो ।
हालको अवस्था
पछिल्लो समय विभिन्न समस्याका कारण सहयोग आउन छोड्यो । त्यसपश्चात् साथीभाइसँग सहयोग संकलन गरी विद्यालय शिक्षालाई निरन्तरता दिइयो । विदेशी सहयोग आउन छाडेपछि केही खर्चकटौती गरियो । आर्थिक संकलन कम हुँदै गएपछि हाल खाजा खुवाउन सकिने अवस्था छैन ।
्बालबालिका निकै कठिन यात्रा गरेर ज्यान जोखिममा राखेर घण्टौं हिँडेर विद्यालय पुग्ने गरेका छन् । १४ जनाबाट सुरु गरिएको विद्यालयमा हाल १ सय १५ विद्यार्थी अध्ययनरत् छन् । त्यही विद्यालय पढेका विद्यार्थी हाल शिक्षक बनेर पढाउदै आएका छन् । ३ कक्षासम्म पढाइ भइरहेको छ । कहींबाट सहयोग नमिले पनि आफैंले विद्यालय चलाइरहेका छन् उप्रेती । अन्न नहुने बेला घरबाट चामल लगेर पनि ती बालबालिकालाई खुवाउने गरेका थिए ।
उप्रेतीले दुई रोपनी जग्गामा कफी र कागती खेती गरिरहेका छन् । जनताको दुःख लिएर मन्त्रीदेखि मुख्यमन्त्रीसम्म पुग्दा कसैले सहयोग नगरेको उनी सुनाउँछन् । उप्रेती भन्छन्–५ वर्ष सहयोग मिल्यो । बाँकी ८ वर्षदेखि आफैंले दुःखसुख विद्यालय चलाउँदै आएको छु । १३ वर्षीया प्रमिला प्रजा भन्छिन्–३ कक्षासम्म पढ्न पाएपछि खोला तरेर जान सक्ने भएँ । र, सानो उमेरमै पढ्न पाउँदा अर्को स्कुल गएर पढ्न सफल भएकोमा हर्ष लागेको छ । शौचालय नबनेको पालिकामा नेपाल सरकारको नियमअनुसार शौचालय नबनाए जन्मदर्ता नगर्ने नियम बनाएपछि शौचालय बन्यो ।
अँध्यारोमा जीवन बिताउन बाध्य उनीहरुलाई पालिकाले २०७८ तिर सोलारको व्यवस्था गर्यो । ती सबै मेहनत त्यहाँको जीवनस्तर सुधार्न गरियो । तरकारी खेती नगर्ने मानिसलाई तरकारी उब्जनी गर्न सिकाइएको थियो । पानी व्यवस्था नहँदा सिचाईं गर्न कठिन छ । खैराङमा फागुनदेखि असारसम्म मकै नपाकुञ्जेल अनिकालको समय हो । खाना खान निकै अभाव हुन्छ ।
‘मेरा सन्तानलाई सानैदेखि विद्यालय पठाएर शिक्षा दिन चाहन्थें । तर, टाढा भएकाले सक्दिँन थिए । यहाँ स्कुल खुलेपछि मेरा बच्चाले पढ्न पाएका छन्,’ अभिभावक श्याम चेपाङ बताउँछन् । सहयोग आउन बन्द भएपश्चात् ४ शिक्षक र २ सहयोगीले निःशुल्क काम गरिरहेको स्कुलका सचिव उमेश चेपाङ बताउँछन् । १ सय ५० विद्यार्थी भर्ना भए पनि टाढा र अप्ठ्यारो बाटो पार गरेर विद्यालय आउनुपर्ने कारण ७५ देखि ८० जना बालबालिकामात्र नियमित विद्यालय आउने गरेको उनले बताए ।
घरबाट हिँडेका छोरीछोरी विद्यालय पुग्नेबित्तिकै हाजिरीको नोटिफिकेसन अभिभावक मोबाइलमा आउने र छुट्टी भएर घर फर्कंदा कुन रुटको कुन गल्लीमा आइपुगे भन्ने ट्रयाक गरेर हेर्न सकिने अनि हराएका शैक्षिक कागजातहरु आफ्नै ह्याण्डसेटमा सुरक्षित हुने यो जमानामा छोराछोरीलाई विद्यालय पठाएर शिक्षा दिने अभिभावकको चाहना कहिले पूरा होला ।
राक्सिराङ नमुना सामुदायिक विकास संस्था दर्ता गरी सञ्चालन भइरहेको र त्यहींबाट सहयोग संकलन गरी स्कुल चलाउने योजना बनाइएको चेपाङले जानकारी दिए । ९ नम्बर वडा अध्यक्ष राजकुमार बाल्पाथिङले विद्यालय बन्द भयो भने धेरै बालबालिका शिक्षाबाट बञ्चित हुने बताउँदै आगामी दिनमा कसरी निरन्तरता दिने भन्ने विषयमा चिन्तित रहेको बताए । ‘तत्काललाई त्यहीं पढेका विद्यार्थीले निःशुल्क पढाइरहेका छन् । आगामी दिनमा शिक्षक राखेर अगाडि बढ्ने छौं,’ उनले भने । चेपाङ समुदायका बालबालिकाको उज्ज्वल भविष्यका लागि उक्त विद्यालय चलिरहनु आवश्यक छ । तर, निरन्तर सहयोग नपाउँदा कठिन भएको छ ।