हेटौंडा/बागमती प्रदेश सरकारले प्रदेशको क्यालेण्डरमा चार सार्वजनिक बिदा समावेश गर्ने निर्णय गरेको छ । सोमबार बसेको बागमती सरकार मन्त्रिपरिषद् बैठकले यसअघि मन्त्रिपरिषद् बैठकबाट निर्णयार्थ दिइने ४ सार्वजनिक बिदालाई आगामी वर्षको क्यालेण्डरमा समावेश गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री/प्रवक्ता सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
प्रवक्ता लामिछानेका अनुसार अब बन्ने नयाँ वर्षको क्यालेण्डरमै आउने गरी विगतमा प्रदेश सरकारले दिँदै आएको सार्वजनिक बिदालाई नेपाल सरकारले दिने बिदाबाहेक ४ दिन थप गरिएको हो । उक्त निर्णयसँगै विगतमा पर्व र दिवस विशेषमा बिदा दिन मन्त्रिपरिषद् बैठक बस्नुपर्ने अवस्था नरहने उनले बताए । ‘अन्य समयमा बिदाका लागि मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्नुपर्ने प्रावधान थियो । अब क्यालेण्डरमै उल्लेख गरेपछि त्यो झन्झट रहेन,’ प्रवक्ता लामिछानेले भने । उनका अनुसार गाईजात्राको दिन साउन २५ गते, चेपाङ समुदायको न्वागी भदौ २२ गते, प्रदेश सरकारले प्रदेश कामकाजी भाषा ऐन कार्यान्वयन भएको दिन (बैशाख २४ गते) र माझी समुदायको लदी पर्व फागुन १९ गतेका दिन बिदा दिने निर्णय भएको हो ।
मन्त्रिपरिषद्ले गरेको निर्णय राजपत्रमा प्रकाशनपछि कार्यान्वयनको चरणमा अघि बढ्ने उनले बताए । बागमती प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा लागु हुने उनको भनाइ छ । विगतमा प्रदेश सरकारले विभिन्न पर्व र अवसरमा ६ दिन मन्त्रिपरिषद् बैठकले निर्णय गरी बिदा दिने गरेको थियो । बैठकले भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत् ललितपुर डिभिजन वन कार्यालय प्रमुख राजु श्रेष्ठलाई थप ६ महिनाका लागि जिम्मेवारीमा राख्ने निर्णय गरेको छ । श्रेष्ठको कार्यकाल समाप्त भए पनि अर्का प्रमुख व्यवस्था नभएसम्मका लागि उनलाई जिम्मेवारीमा राख्ने निर्णय प्रदेश सरकारले गरेको हो । बैठकले प्रदेश नीति तथा योजना आयोग गठन तथा सञ्चालनका लागि ऐन तयार गरी मस्यौदा निर्माणका लागि प्रारम्भिकरुपमा स्वीकृति प्रदान गरेको छ । बैठकले प्रदेश समपुरक अनुदानसम्बन्धि कार्यविधि, २०८१ लाई स्वीकृति दिएको छ ।