27.9 C
Makwānpur
Homeमुख्य समाचार‘घुस’ बढाएपछि कुकाठमा रस्साकस्सी

‘घुस’ बढाएपछि कुकाठमा रस्साकस्सी

हेटौंडा/वन निर्देशिकामा उल्लेख गरिएको नियम अस्पष्ट भएकै कारणले सेवाग्राही मर्कामा परेका छन् भने प्रहरीले यही नियमको फाइदा उठाउँदै कमाइ खाने भाँडो बनाएको आरोप छ ।

फागुन दोस्रो साता हेटौंडा उपमहानगरपालिका वडा–१७ निवासी अमृतबहादुर परियार र सन्तराम राईले आफ्‌नो नम्बरी जग्गामा भएका कुकाठहरु हेटौंडा–४ को एउटा समिलमा बिक्री गर्ने उद्धेश्यले वडा कार्यालयबाट सिफारिस पत्रसाथ ट्रयाक्टरमा लोड गरेर हेटौंडा बजार आउने क्रममा हेटौंडा–९, पशुपतिनगरचौकीमा ट्याक्टरलाई चेकजाँचका नाममा नियन्त्रणमा लिइयो । इलाका प्रहरी कार्यालय पशुपतिनगरकी प्रहरी निरीक्षक बिमलाकुमारी कठायतले कागजात चेकजाँचका नाममा अनुसन्धान गर्नुपर्छ भन्दै ३ दिन हिरासतमा राखिदिइन् । ट्याक्टर नियन्त्रणमा लिएको भोलिपल्ट परियारले ॅमैले नियमसम्मत् काम गरेको छु । मेरो सामान छाडिदिनुस्‌’ भनेपछि प्रहरी निरीक्षक कठायतले ‘कागजात अपुरो छ । ट्रयाक्टर छाड्ने भए प्रतिट्रयाक्टर २५ हजार दिनुस् । अनि लैजानुस्‌’ भनेपछि परियारले पैसा दिन नसक्ने बताए ।

प्रहरी निरीक्षक कठायतले यसअघि पनि यस्ता प्रकृतिका काठ ओसारपसारमा १० देखि १५ हजारसम्म घुस लिँदै छाड्ने गरेकी आरोप छ । सेवाग्राहीले पनि अनावश्यक झण्झट लिनुभन्दा केही रकम दिएर काम गर्दै आएका थिए । तर, प्रनि कठायतले आफ्‌नो ‘घुस’ को रेट १० हजारबाट बढाएर २५ हजार पुर्‍याएपछि निशानामा परेका थिए परियार र राई ।

आफूले तोकेको रकम नपाएपछि प्रनि कठायतले सोही दिन डिभिजन वन कार्यालयमा बुझाउनुपर्ने ट्रक्याटर सेवाग्राहीसँग रकम निकाल्नकै लागि थप २ दिन नियन्त्रणमा लिइन् । घटनाको तेस्रो दिन उक्त ट्रक्याटर डिभिजन वन कार्यालय बुझाइयो । त्यसपछि करिब २ हप्ता डिभिजन वन कार्यालयको अनुसन्धानपछि मकवानपुर जिल्ला अदालतमा मुद्धा दर्ता भयो । मकवानपुर जिल्ला अदालतको चैत ५ गतेको फैसलाअनुसार ॅबिना इजाजत नम्बरी आवादीको रुखकटान तथा ओसारपसार यस अदालतबाट फैसला हुँदा निज प्रतिवादीहरुले प्रस्तुत मुद्धाको नेपाल सरकारको अभियोग मागदाबीबाट सफाइ पाउने ठहरी फैसला भएको हुँदा निज प्रतिवादीलाई अन्य ब्यहोराबाट थुनामा राख्नुपर्ने नभए प्रस्तुत मुद्धाबाट आजै (चैत ५) मा नै तत्काल थुनामुक्त गरिदिनुहुन अनुरोध गरिन्छ,’ भनिएका छ ।

नेपाल सरकारको वन ऐननियमावलीमा उल्लेख भएअनुसार निजी जग्गाभित्र भएका २८ प्रजातिका रुखहरु आफंैले कटान गरी पालिकाको सिफारिसपत्रसाथ एउटै पालिकाभित्र ओसारपसार गर्न पाइने व्यवस्था छ । यसअघिका डिभिजन वन अधिकृत शिव सापकोटाले सबै प्रहरी कार्यालयमा पत्र पठाएर किसानहरुले निजी रुखहरु निर्वाधरुपमा ओसारपसार गर्न पाउने भएको जानकारी गराएका कारण काम गर्न सहज भएको र हालका सबै सरकारी निकायले उक्त पत्रको वास्ता नगर्नाले समस्या भएको भन्दै काठ व्यवसायीहरुले विरोध जनाएका छन् ।

घटनाका विषयमा डिभिजन वन कार्यालय प्रमुख राकेशकुमार चन्द्रवंशीले निजी जग्गाका रुखहरु (२८ प्रजातिका कुकाठमात्र) जग्गावाला आफंैले पालिकाको सिफारिसपत्र लिएर अन्तरपालिका ओसारपसार गर्न पाउने बताएका छन् । उक्त अधिकार हाल स्थानीय पालिकामा प्रत्यायोजन गरिएको छ । तर, ऐनमा उल्लेख भएअनुसार १७ नम्बर वडा कार्यालयले हेटौंडा उपमहानगरपालिकालाई सिफारिस लेख्नुपर्ने र उपहानगरपाकिाले उक्त सिफारिस दिनुपर्नेमा वडा कार्यालयले नै सिफारिसपत्र लिएर आएका कारण प्रहरीले नियन्त्रणमा लिएको उनले दाबी गरे । काटिएका रुखबाट निस्कने गोलाइमा टाँचा पनि लगाउनुपर्ने भएकाले पालिकाले वन कार्यालयसँग समन्वय गरेर काम नगर्दा सेवाग्राहीले दुःख पाएको हुनसक्ने उनले बताए । ‘पालिका भनेको वडा होइन र पालिकामा अधिकार आएपछि नियममा उल्लेख गरेअनुसार काम गरे विवाद हँुदैन,’ उनले भने । इलाका प्रहरी कार्यालय प्रमुख कठायतले उक्त ट्रयाक्टरले वडाको पत्र र सिफारिसपत्रमा बिक्रीबितरणको लागि भनेर उल्लेख गरेकाले अनुसन्धानको लागि १ दिन राखिएको दाबी गरिन् । प्रहरी निरीक्षक कठायतले आफ्‌नो पोष्टिङ पशुपतिनगरमा भएपछि उक्त घटना पहिलो भएको दाबी गरिन् ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here