हेटौंडा/नेपाली चलचित्रका सुपरस्टार राजेश हमालले २०६८ बैशाख २७ गते हेटौंडामा नाटकघर उद्घाटन गरे । हेटौंडा–४, कर्रास्थित हेटौंडा जेसीजको भवनमा तरंग साँस्कृतिक परिषद्ले निर्माण गरेको नाटकघर उद्घाटन गर्दै सिनेकर्मी हमालले रंगमञ्चले नै कुनै पनि ठाउँको सँस्कृति झल्काउने भन्दै हेटौंडामा स्थापित नाटकघरले यहा“का दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका थिए ।
प्राध्यापक डा. अभि सुबेदी, लेखक युग पाठक, आरोहणका सुनील पोखरेल, जिल्लास्थित साहित्यकार, लेखक, कलाकारलगायतको उपस्थितिमा उद्घाटन गरिएको नाटकघर लामो समय सञ्चालनमा आउन सकेन । उद्घाटनलगत्तै नाटकघरमा ‘ताराबाजी लैलै’ नाटकमञ्चन गरिएको थियो । हेटौंडामा इन्टरनेट, सिनेमा र टेलिभिजनले खुट्टो टेकेपछि नाटक सुस्ताएको थियो । दर्शकसँगै सिने गतिविधि बढ्दा नाट्यकर्ममा सिथिलता आएको थियो । दह्रो जगमा उभिएको स्थानीय नाट्य गतिविधिमा पुनर्जागरण आएको महसुस गरिएको थियो । करिब १३ वर्ष पहिले हेटौंडामा सञ्चालनमा आएको नाटकघरमा महिनामा २ पटक नाटक प्रदर्शन गर्ने लक्ष्य थियो । तर, त्यसले निरन्तरता पाउन सकेन । कलाकार अभाव, उचित व्यवस्थापन र दर्शक अभावले ६ महिनापछि यसले निरन्तरता पाउन सकेन । रंगमञ्च नाटकमा मकवानपुर सुनसान छ । मकवानपुरका स्टेज र सडक नाटक हुँदै बलिउडसम्म अभिनय लैजान सफल मकवानपुरे कलाकार भोलाराज सापकोटाले वीजारोपण गरेको मकवानपुरे रंगमञ्च मकवानपुरमै सुस्त छ ।
चहलपहल राम्रै थियो । रंगमञ्च नाटक क्षेत्रमा लागेर राम्रा कलाकार पनि जन्मे । तर, बिगत वर्षहरुदेखि मकवानपुरमा नाट्य क्षेत्रको चहलपहल छैन भन्दा पनि हुन्छ । मकवानपुरलाई नाटकको रंगभूमि बनाउँदै आएको तरंग साँस्कृतिक परिषद्ले पनि उक्त कार्य अगाडि बढाउन सकेको छैन । पहिलेजस्तो नाटकको अभिरुचिलाई अगाडि बढाउन स्थान अभावका कारण पछि परेको बताउँछन् तरंग साँस्कृतिक परिषद् अध्यक्ष उज्ज्वल शर्माभण्डारी । आफूहरुले जे सोचेर मकवानपुरमा नाटक गतिविधि गर्न खोजेको हो, त्यो सोचलाई समयले साथ नदिएकाले चाहना पूरा नभएको अध्यक्ष भण्डारी बताउँछन् ।
‘नाटकघर अभावले गर्दा नाटक गर्न नसकिएको हो । नाटकघर निर्माण गर्नुपर्छ भन्ने चुनावअगाडि राम्रै आश्वासन पाइएको थियो । हरेक दलको घोषणापत्रमा पनि नाटकघर बनाउने भन्ने थियो । तर, यी सब गफमात्र भए । त्यही कारण पनि मकवानपुरमा नाटक हुन नसकेको हो,’ भण्डारी भन्छन् । अन्तर्राष्ट्रिय नाटक महोत्सवमा समेत गतिलो उपस्थिति जनाएर चर्चा कमाएको मकवानपुरमा कलाकारहरु यस क्षेत्रमा भविष्य नदेखेर एकाएक बाहिरिन थालेपछि नाटक क्षेत्रमा हाल मकवानपुर सुनसान छ । यी समस्याको व्यवस्थापन नगर्दासम्म मकवानपुरको नाट्यक्षेत्र उठ्न गाह्रो हुने देख्नेहरु धेरै छन् । तर, कलाकारहरु सिनेमातिर लाग्नु अनि लगानीकर्ता अभाव हुनु मकवानपुरमा नाट्य गतिविधि सुनसान हुनुको कारक हो । स्थानीय तहहरुले बजेट बिनियोजन गर्न सके फेरि मकवानपुरमा रंगमञ्च नाटकमा चहलपहल हुनेछ र नयाँ कलाकार जन्माउने थलो बन्ने भण्डारीको विश्वास छ । एउटा नाटकघर निर्माण गरेर नाटक वा कलाक्षेत्रको गतिविधि बढाउने वातावरण स्थानीय निकायहरुले पनि तयार गदिदिने जाागर चलाएनन् । ‘स्थानीय सरकारले वास्ता गरेन,’ उनको चिन्ता छ ।
उपत्यकाबाहिरका नाटकहरुका रुपमा एकदम चर्चा कमाएको हेटौंडाले देशका विभिन्न सहरहरुमा नाटकघर निर्माण हुनु तर, संघीय राजधानी बनिसक्दा पनि एउटा राम्रो नाटकघर सञ्चालन गर्न नसक्नु लाजमर्दो महसुस भइरहेको छ,’ उनी भन्छन्–घोषणापत्रअनुसार काम गर्न नसक्ने कस्ता हुतिहारा जनप्रतिनिधिहरु पाएछौं हामीले । काठमाडौंमा भएको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चित लोकप्रिय नाटक ‘अमरसिंहको खोजीमा’ हेटौंडास्थित नाटकघरमा मञ्चन गरिएको थियो । देशभक्तिको भावलाई राष्ट्रियताको सन्दर्भसाग जोडेर तरंग साास्कृतिक परिषद् मकवानपुरले इतिहासका पात्र अमरसिंहलाई केन्द्रमा राखेर देशभक्तिको सन्देश दिन नाटकमञ्चन गरेको थियो । अमरसिंहबारे नाटक तयारी गरिरहेका बेला अचानक अमरसिंह पात्र नै हराएपछि अन्य सहकर्मीहरु अमरसिंह खोज्नेतर्फ केन्द्रित हुन्छन् । नेपाल–अंग्रेज सुगौली सन्धिपछि नेपालीप्रति अपमान भएको भन्दै धार्मिक तीर्थस्थल गोसाईंकुण्डतिर पलायन भएका अमरसिंह नाटकमा पनि पलायन हुन्छन् । नाटकका अमरसिंह अभिनय गर्न नमानी निहँुमात्र खोजिरहन्छन् ।
चार दशक बढीदेखि मकवानपुरे साहित्याकाशमा क्रियाशील तुल्सी थापाको लेखन र मोफसलमा बसेर रंगकर्म गर्दै आएका उनै शर्माभण्डारीले नाटकको निर्देशन गरेका हुन् । आशाकाजी श्रेष्ठ, राजकुमार रिसाल, संगीत सापकोटा, विजल श्रेष्ठ, दीपमाला परियार, राम थोकर, लक्ष्मण थोकर, संगीता घिमिरे, माधवलाल श्रेष्ठ, बिनोदकुमार बानियाँ, प्रलय चौलागाईंलगायतले नाटकमा अभिनय गरेका थिए । विश्व रंगमञ्च दिवस आज (बिहीबार) नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १९६१ मा अन्तर्राष्ट्रिय रंगमञ्च इन्स्टिच्युटले दिवसको अवधारणा ल्याएपछि हरेक वर्ष मार्च २७ तारिखमा विश्व रंगमञ्च दिवस मनाइन्छ । विश्व रंगमञ्च दिवस हरेक वर्ष मार्च २७ मा मनाइन्छ । अन्तर्राष्ट्रिय रंगमञ्च संस्थान (आईटीआई) द्वारा सन् १९६१ मा तोकिएको दिवसले रंगमञ्च कलाको सार, सौन्दर्य र महत्व, मनोरञ्जनमा तिनीहरुको महत्वपूर्ण भूमिका र रंगमञ्चले जीवनमा पारेको प्रतीकात्मक प्रभावबारे मनाइन्छ । यस दिनले विश्वभरका सरकार, राजनीतिज्ञ, संस्था र सरोकारवालालाई थिएटरको मूल्य र आर्थिक वृद्धिको सम्भावनालाई जानकारी गराउन पनि काम गर्दछ ।
विश्व रंगमञ्च दिवस अझै पनि अन्तर्राष्ट्रिय रंगमञ्च संस्थानद्वारा प्रायोजित छ । र, युनेस्कोले पनि यस दिवसको विश्वव्यापी प्रचारमा सहयोग गरेको पाइन्छ । सन् १९६२ मा पहिलो विश्व रंगमञ्च दिवसको सन्देश फ्रान्सका प्रसिद्ध नाटकार जेन ककटेउले लेखेका थिए । सँस्कृति, संरक्षण र शान्ति स्थायित्वलाई जोड दिँदै विकृति/विसंगति हटाउन नाटकमार्फत् उत्प्रेरणा जगाउने उद्धेश्यले दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा नेपालका विभिन्न स्थानमा कार्यक्रमहरु आयोजना हुने गरेका छन् । उक्त दिवसलाई हरेक वर्ष रंगकर्मीहरुले नाटकमार्फत् मनाउँदै आएका छन् ।
नेपालमा पछिल्लो समयमा रंगमञ्चप्रति आकर्षण बढ्दै गएको पाइएको छ । काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका १० वटा नाटकघरमा नियमितजसो नाटकमञ्चन भइरहेका छन् । उपत्यकाबाहिर पनि रंगकर्म अभियान चलिरहेका छन् । यसबाहेक विदेशका नाट्य महोत्सवमा पनि नेपाली नाटकले स्थान बनाउन थालेका छन् । खासगरि भुगोल र सँस्कृतिमा आधारित नाटक पछिल्लो समय रंगमञ्चमा देखाइने खुराक बनेको छ । नाटक सिकेर अन्य अवसरका ढोका खोल्न चाहने युवापुस्ताको आकर्षण पनि रंगमञ्चप्रति बढेको छ । तर, दर्शकहरुको आकर्षण अपेक्षाअनुसार नभएको अनुभव रंगकर्मीहरुले गरेका छन् । काठमाडौंका गुरुकूल, सर्वनाम, थिएटर मल, मण्डला, शिल्पी, कौसीलगायत संख्यामा वृद्धि भए पनि राम्रा कथावस्तु अभावले गुणात्मक नाटकको कमी एकातिर छ भने अर्कातिर राम्रै नाटकको पनि प्रचार नहुँदा नाटकघरसम्म दर्शकलाई डोर्याउन नसकिए उनीहरुको भनाइ छ । रंगमञ्चमा आकर्षण बढाउन रंगकर्मीहरुले एकातिर राम्रा नाटक पस्कन मेहनत गर्नुपर्ने देखिन्छ भने अर्कोतिर प्रचारप्रसारको दायरा पनि फराकिलो बनाउनुपर्ने देखिन्छ ।
दर्शकहरु बस्न थालेपछि बत्तीहरु मधुरो हुन्छन् । पर्दा उठ्ने बित्तिकै महिनौंको तयारी गरिएको कथा र पात्रहरु जीवन्त हुन्छन् । अन्तर्राष्ट्रिय रंगमञ्च दिवसले हलचल, मनोरञ्जन, शिक्षण र मानिसलाई परिवर्तन गर्नमा थिएटर कलाको मूल्यलाई मान्यता दिन्छ । थिएटर कलाको एक माध्यम हो, जसमा विभिन्न तरिकामा काम गर्ने प्रतिभाशाली कलाकारको विविध दायरा समावेश भएको हुन्छ । ती कलाहरु चाहे लेखन र निर्देशन, उत्पादन र अभिनय, भव्य पोशाक सिर्जना गर्ने वा प्रकाश र दृष्य डिजाइन ह्याण्डल गर्ने या अन्य कुनै पनि प्रकारका योगदानमा आधरित हुन्छन् । जसले थिएटरलाई हामीमाझ ल्याएको हुन्छ । आजको दिन थिएटरका ती हरेक अवयवहरुको विशेष दिन हो । समग्र मानवजीवन चित्रण गर्ने प्रभावशाली विधाको रुपमा नाटकलाई लिइन्छ । समाजलाई सही बाटो हिँडाउन, विसंगति तथा विकृति हटाउन नाटक प्रभावकारी मानिन्छ ।