हेटौंडा/नेपाल भाषाको संरक्षण र प्रवद्र्धनमा सरकारहरुलाई झक्झ्याउँदै नेवार समुदायहरु सक्रिय हुनुपर्नेमा नेपाल भाषा प्रवद्र्धन कार्यक्रमका सहभागीले जोड दिएका छन् । बागमती प्रदेश सरकारले तामाङसँगै नेपाल भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गरिरहेकाले नेवार समुदायलाई जागरुक हुन आग्रह गरिएको हो ।
बागमती प्रदेशको सँस्कृति तथा पर्यटन मन्त्रालयअन्तर्गत् पर्यटन कार्यालय काठमाडौं र नेपाल भाषा एकेडेमीको संयुक्त आयोजनामा हेटौंडामा शनिबार कार्यक्रम भएको थियो । कार्यक्रममा नेपाल भाषा एकेडेमीले नेपाल भाषालाई बागमती प्रदेश सरकारले कामकाजको भाषा घोषणा गरेको सन्दर्भमा भाषिक जागरण अभिमुखीकरणका लागि आधारपत्र प्रस्तुत गरेको थियो । कार्यक्रम हेटौंडा उपमहानगरपालिका–२ का अध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यता तथा भाषा अभियन्ता पौभा सायमीको सभाध्यक्षतामा भएको थियो । प्रमुख अतिथि महर्जनले भाषा मासिएपछि जातमात्रको खासै अस्तित्व नहुने भन्दै भाषा संरक्षण र प्रवद्र्धनमा नेवार समुदाय सचेत हुनुपर्ने तर्क गरे ।
‘भाषा, सँस्कृति भनेको जात, समुदायसँगै देशको साझा सम्पति हो,’ उनले थपे–तर, राज्य र सरकारलाई खबरदारी गर्दै नेपाल भाषाको विकास र विस्तारमा नेवार समुदाय पनि उत्तिकै सक्रिय हुनुपर्दछ । नेपालको अस्तित्व विश्वसामु राख्न संयुक्त राष्ट्रसंघमा नेपालले नेपाल भाषा पेश गरेको सन्दर्भको चर्चा गर्दै वडा अध्यक्ष महर्जनले आफ्नो भाषा र सँस्कृतिमा गर्व गर्दै अघि बढ्न सकेमात्र विकासले दीर्घकालिन गति लिने बताए ।
भाषा अभियन्ता सायमीले नेपाल भाषाको महत्व नेवार जातिका लागिमात्र नभएर देशकै सम्पत्ति भएकाले सबै सचेत र जिम्मेवार हुनुपर्ने बताए । ‘भाषा विलिन हुनु भनेको सम्पदा, सँस्कृति, विचार विलिन हुनु हो,’ उनले भने–त्यसैले नेपाल भाषा सिक्न र जगेर्ना गर्न सबैले भूमिका खेल्न ढिला गर्नु हुन्न । अंग्रेजी, जर्मन, कोरियन, जापानीज भाषा पढेर विदेशिनेको संख्या अधिक बढेकोप्रति उनले आफ्नो भाषाप्रति गर्व गर्ने र प्रयोग, संरक्षण नगर्नाले आफ्नै अस्तित्व लोप हुने भन्दै चेतावनी दिए ।
कार्यक्रममा नेपाल भाषा एकेडेमीका प्राज्ञ विद्या चित्रकार, पाटन क्याम्पसका प्राध्यापक किशोर नेपाली, नेपाली कांग्रेसका नेता अशोक शाक्य, सामाजिक विकास मन्त्रालयकी लैंगिक सम्पर्कव्यक्ति चन्द्रकुमारी व्यञ्जनकार, नेवाः देय् दबुः बागमती प्रदेश प्रमुख सचिव गणेशकुमार श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए । मकवानपुरसहित नुवाकोट, दोलखामा पनि कार्यक्रम भएको नेपाल भाषा एकेडेमी व्यवस्थापक शान्तराज शाक्यले बताए । कार्यक्रम आयोजना गरिने ९ जिल्लामध्ये चितवन, धादिङ र काभ्रेमा पनि सम्पन्न भइसकेको उनले बताए । रामेछाप, सिन्धुली र थप एक जिल्लामा चाँडै कार्यक्रम गरिने बताइएको छ ।