31.9 C
Makwānpur
Homeमुख्य समाचारसुशासन कायम गर्न आयोजना बैंक महत्वपूर्ण

सुशासन कायम गर्न आयोजना बैंक महत्वपूर्ण

मनिता राना

हेटौंडा/सरकारी परियोजनाहरुको कार्यान्वयनमा देखिएको ढिलाइले परियोजनाको निर्माण गुणस्तरीय बनाउनुपर्ने आवश्यकता महसुस गरी परियोजना बैंकको अवधारणा विकास भएको हो । परियोजना बैंक रणनीतिक परियोजनाको स“गालो हो । बैंकमा पैसा जम्मा गरेजस्तो परियोजना बैंकमा सम्बन्धित निकाय/मन्त्रालयले सम्भाव्यता अध्ययन गरिएका, आवधिक योजनासँग तालमेल खाने, प्राथमिकताअनुकूल र बजेट भएका परियोजना जम्मा गरिन्छन् । परियोजना बैंकमा समावेश भएका परियोजनामात्र वार्षिक बजेटमा समावेश हुन्छन् । परियोजना बैंकमा समावेश भएका परियोजनामात्र कार्यान्वयनमा जाने भएकाले कुन र कस्ता परियोजनामात्र कार्यान्वयन हुन्छन् भन्ने जानकारी पहिले नै हुने हुँदा विकासमा पारदर्शिता र दीगोपन आउने हुन्छ ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सुशासन कायम गर्न र भ्रष्टाचार न्यूनीकरण गर्न आयोजना बैंक महत्वपूर्ण साबित हुने बताएका छन् । प्रदेश नीति तथा योजना आयोगद्वारा बुधबार हेटौंडामा आयोजित कार्यक्रममा आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली शुरु गर्दै मुख्यमन्त्री लामाले टुक्रे योजना र खल्तीबाट योजना हाल्ने प्रवृत्ति अन्त्यका लागि योजना बैंक प्रभावकारी बन्ने बताए । जनतामा देखिएको नैराश्यतालाई पनि आयोजना बैंकमार्फत् चिर्न सकिने उनको भनाइ छ ।

विगतका योजनाहरुलाई अद्यावधिक गरी बैंकले योजना प्राथमिकीकरण गर्ने उनले बताए । मुख्यमन्त्री लामाले योजना बैंकमार्फत् प्रदेशका सबै निर्वाचन क्षेत्रमा योजना समावेश गरिने भएकाले भ्रष्टाचार कम हुनेमा विश्वास व्यक्त गरे । योजना सबै ठाउँमा पुग्नुपर्छ भन्ने मान्यता प्रदेश सरकारको रहेको उनले बताए । राजनीतिक दलहरुले मात्र नभइ प्रदेशबासीले समेत अपनत्व गर्ने गरी योजना बैंकको अवधारणा अघि सारिएको उनले दोहोर्‍याए ।

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्‌लेले योजना छनौटदेखि मूल्यांकन र प्रभावकारिताका विषयमा बढ्दो जनगुनासो सम्बोधन गर्नका लागि योजना बैंकको अवधारणा ल्याइएको बताए । योजना बैंकको अभावमा विगतमा देखिएको समस्या हल गर्ने उद्धेश्यले योजना बैंक सञ्चालनमा ल्याइएको उनको भनाइ छ । मन्त्री काफ्‌लेले
प्रदेश सरकारको लगानीमा सञ्चालित मेगा प्रोजेक्टका साथै अन्य आयोजनाको प्रभावकारिताका विषयमा अध्ययन भइरहेको बताए ।

प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष गंगादत्त नेपालले आयोगबाट निर्धारित मापदण्डअनुसार प्रणालीमा प्रविष्ट भएका योजनाको मूल्यांकन तथा प्राथमिकीकरण गरिने बताए । ७५ अंक वा सोभन्दा माथिको योजना पहिलो प्राथमिकता र सो भन्दा कम अंकका योजनालाई दोस्रोमा राखेर सोहीअनुसार बजेट विनियोजन हुनेछ । कार्यक्रममा सहभागी प्रदेशसभा सदस्यहरुले योजना बैंक कार्यान्वयनमा भने आशंका रहेको बताएका थिए ।

परियोजना बैंंकले छानेका परियोजनाहरु तोकिएको समय र बजेटभित्र उच्च गुणस्तरमा सम्पन्न हुन्छन् । गम्भीर विश्लेषण गरिएका तर सेक्टरगत्‌रुपमा छरिएका परियोजना कार्यान्वयनका लागि एकै ठाउ“मा उपलब्ध हुन्छन्, जसले निश्चितरुपमा दुर्लभस्रोतको प्रभावकारी व्यवस्थापन र उच्चतम् उपयोग गर्दछ । परियोजना छनौटमा सरकारको स्वामित्व स्थापित हुने भएकाले परियोजना विकासमा सम्बन्धित सबै उत्प्रेरित हुन्छन् ।

बैंकमार्फत् सार्वजनिक तथा निजी क्षेत्रलाई सूचनामा आधारित गुणस्तरीय परियोजना उपलब्ध हुनेछ । विकासको प्रभावकारिताका लागि परियोजनाहरु एकीकृत गरेपछि ॅभ्यालु फर मनी’ हासिल हुन्छ । परियोजना बैंंकले परियोजना अनुगमन र मूल्यांकन गर्ने कारण परियोजनामा निरन्तर सुधारको काम हुन्छ । जसले परियोजना निर्माणलाई मात्र नभएर परियोजना कार्यान्वयनलाई पनि सशक्त बनाउने उनीहरुको विश्वास छ ।

परियोजना सेवा र वस्तु उत्पादनको निश्चित अवधिका लागि लगानी गर्ने एउटा प्रस्ताव हो । आवधिक योजना परियोजनाको संग्रह हो भन्दा अत्युक्ति हुँदैन । विकास वा सार्वजनिक सेवाप्रवाहका अवधारणलाई कार्यक्रम र परिणाममा रुपान्तरण गर्ने संयन्त्र परियोजना हो । परियोजना लक्ष्यमुखी, परिणाममुखी, नदोहोरिने बृहत् कार्यक्रम हो भने परियोजनामा लक्ष्य, समयसीमा, बजेट, कामको गुणस्तरसमेत किटान गरिएको हुन्छ ।

परियोजनाका कार्यहरु चरणबद्धरुपमा एकपछि अर्को आउँछन् र यसलाई परियोजना चक्र भनिन्छ । उपलब्ध स्रोतसाधन, समय र अधिकारको महत्तम् उपयोग गरी निर्धारित लक्ष्य हासिल गर्न क्रियाशील हुनु परियोजना कार्यान्वयन हो । परियोजनाको योग आवधिक योजना हो । परियोजनाको कार्यान्वयनबिना योजना चाहनाको पुलिन्दाभन्दा बढ्ता केही पनि हुँदैन ।

पूर्वनिर्धारित लागत गुणस्तर परिणाम र समयअनुरुप परियोजना सम्पन्न गर्नु, परियोजनाहरुबाट राजनीतिक, आर्थिक तथा सामाजिक विकास उपलब्धि हासिल गर्नु, परियोजना कार्यान्वयनका समस्या पहिचान गरी ती समस्याका समाधान गर्नु, परियोजनाबीच अन्तर्सम्बन्ध कायम गर्नु, परियोजनका लागि उपलब्ध स्रोतसाधनको प्रभावकारी परिचालन र महत्तम् उपयोग गर्नु, परियोजना कार्यान्वयनमा आवश्यक समन्वय कायम गर्नु, परियोजनाको लगानी र उपलब्धिसम्बन्धि जानकारीलाई अद्यावधिक गर्नु तथा परियोजनाको सफल कार्यान्वयनका लागि अनुगमन गरेर अनुपोषण उपलब्ध गराउने क्रियालाई परियोजना व्यवस्थापन भनिन्छ ।

योजनाबद्ध विकासको महत्वपूर्ण संयन्त्र परियोजना हो । विकासका लागि योजना र परियोजना बन्ने र कार्यान्वयनमा जाने क्रम जारी रहिरह्यो । परियोजना कार्यान्वयनको दीर्घ सूत्रताले जनताका कति अपेक्षा असमयमा नै मुर्जाएर गए । २०४७ सालमा कुरा उठेको र कार्यान्वयनमा आएको आयोजना ३० वर्षमा पनि सम्पन्न भएको छैन । समय र लागत त कति बढ्यो बढ्यो भनी साध्य छैन र त्यस बेलाको उपभोक्ता र हालका उपभोक्ताको संख्या बढेर कहाँ पुग्यो लेखाजोखा गर्ने मुस्किल बनेको छ ।

आयोजनाको सम्पन्नताले जनतामा जुन उत्साह ल्याउनुपर्ने हो, त्यो उत्साह ल्याउने परिस्थिति अब बाँकी देखिँदैन । सम्भाव्यता अध्ययनबिनाको चितवनको नारायणी लिफ्‌ट सिचाईं आयोजना सञ्चालनमा आएको केही वर्षमा नै अनुपयुक्त देखिन पुग्यो । यसरी नेपालमा परियोजना व्यवस्थापन परम्परागत् कर्मचारीतन्त्रभन्दा कमजोर बन्न पुग्यो र विद्वानहरु परियोजनालाई कसरी उपलब्धिमूलक बनाउन सकिन्छ भन्ने चिन्तनमा लाग्न थाले ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here