31.9 C
Makwānpur
Homeमुख्य समाचारअमलेखगञ्ज डिपो अब पूणर् अटोमेसनमा

अमलेखगञ्ज डिपो अब पूणर् अटोमेसनमा

हेटौंडा/साढे तीन दशकअघि सञ्चालनमा आएको अमलेखगञ्ज इन्धन डिपो अब पूणर् अटोमेसनमा जाने भएको छ । दोस्रो चरणअन्तर्गत् पेट्रोलियम पाइपलाइनबाट पेट्रोल र मट्टीतेल आयात गर्न नेपाल आयल निगमले थप चार वटा ट्यांकी, लोडिङवे, अत्याधुनिक प्रयोगशालालगायत पूर्वाधार निर्माण गरेसँगै डिपो अटोमेसनमा जाने भएको हो ।

डिपोबाट चितवन, तनहुँ, मकवानपुर, लमजुङ, गोरखा, नवलपरासी, बारा, पर्सा, रौतहट, धादिङलगायत २६ जिल्लामा इन्धन वितरण गरिन्छ । निगमकै बिराटनगर, धनुषा, थानकोट, पोखरा र भलवरी कार्यालयमा इन्धन स्टक ट्रान्सफर गरिन्छ । लोडिङमा पूणर् अटोमेसन गर्न २४ वटा लोडिङवे निर्माण गरिएको अमलेखगञ्जस्थित निगमको प्रादेशिक कार्यालय प्रमुख प्रलयंकर आचार्यले जनाए । २४ वटा लोडिङवेमा ३६ वटा फिलिङ पोइन्ट राखिएको छ । यसमध्ये पेट्रोलका ७ वटा बटम लोडिङ र ८ वटा टप लोडिङ गर्न सकिन्छ । डिजेलका ४ वटा बटम र १४ वटा टप लोडिङ गर्न सकिन्छ । मट्टीतेलको एउटामात्र टप लोडिङ रहेको आचार्यको भनाइ छ । ‘पूर्वाधार निर्माणसँगै अमलेखगञ्ज डिपो मुलुककै सबभन्दा ठूलो इन्धन डिपो बनेको छ । लोडिङमा पूणर्अटोमेसनमा जाने पहिलो डिपो पनि यही बन्दै छ,’ आचार्यले भने ।

अमलेखगञ्ज डिपो २०३० सालबाट निर्माण सुरु गरिएको थियो । ६७ हजार ७ सय २४ वर्गमिटर क्षेत्रफलमा फैलिएको इन्धन डिपो २०३३ सालमा निर्माण सकिएको थियो । त्यतिबेला डिपोको भण्डारण क्षमता ४ हजार ४ सय ८० किलोलिटरमात्र थियो । २०५५ मा डिपोको क्षमता विस्तार गरी २३ हजार २ सय ३० किलोलिटर पुर्‍याइएको हो ।

बहुप्रतीक्षित नेपाल-भारत अन्तर्देशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनसँगै डिपोको क्षमता थप विस्तार गरियो । पाइपलाइन २०७६ भदौ २४ बाट औपचारिकरुपमा उद्घाटन भयो । तर, दोस्रो चरणअन्तर्गत् डिपो निर्माण, लोडिङवे, प्रयोगशालालगायत निर्माणको काम बाँकी नै थियो । दोस्रो चरणअन्तर्गत् पाइपलाइनबाट पेट्रोल र मट्टीतेल आयात गर्ने लक्ष्य छ ।

दोस्रो चरणको परियोजनाका लागि भारतीय आयल निगम (आईओसी) र निगमले संयुक्त लगानी गर्ने गरी सम्झौता भएको छ । यसअनुसार निगमले १ अर्ब ५४ करोड र आईओसीले ७५ करोड भारु लगानी गर्ने सम्झौता छ । आईओसीले भारतीय कम्पनी लिखिता इन्टरनेसनललाई परियोजनाको पूर्वाधार निर्माणको जिम्मा दिएको छ । परियोजना निर्माण गर्न २०२४ मार्चसम्मको सम्झौता भए पनि ढिलाइ भएको थियो ।

पूणर्अटोमेसनमा सञ्चालन गर्न करिब ९८ प्रतिशत् काम सकिसकेको निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले जनाए । ‘अटोमेसनमा जाने काम अन्तिम चरणमा छ, ९८ प्रतिशत् काम सकिसकेको छ । पाइपलाइनबाट पहिलो पटक पेट्रोल ल्याएर लोडिङवेबाट परीक्षण पनि भयो,’ भट्टले भने-अब उद्घाटनका लागि आईओसीको समय कुरेका छौं ।

दोस्रो चरणअन्तर्गत् परियोजना उद्घाटन प्रधानमन्त्री केपी शर्माओलीबाट गराउने गृहकार्य भइरहेको छ । डिसेम्बर अन्तिम साता नभए जनवरी पहिलो साता उद्घाटन हुने भट्टले बताए । सोमबार पनि वाणिज्य तथा आपूर्ति सचिव गोबिन्दबहादुर कार्कीको नेतृत्वमा कार्यकारी निर्देशक भट्टसहितको टोलीले परियोजनाको प्रगति निरीक्षण गरेको छ ।

निगमका डिपो म्यानुअलबाट सञ्चालन हुँदै आएका छन् । प्रविधिको विकाससँगै अटोमेसनमा जान जरुरी भइसकेको निगमले जनाएको छ । अटोमेसनमा गएपछि चालकले लोडिङवेअनुसार गेटपास पाउँछन् । कार्ड देखाएपछि इन्धन भर्न इन्ट्री गर्न पाउँछन् । त्यसअपछि आफैं इन्धन भर्न सकिने जनाइएको छ । ‘म्यानुअलमा निगमका कर्मचारी बसेर ढकन भने खोल्नुपर्छ । ट्यांकरमा बसेर डिप टेस्ट गर्न कर्मचारी नै बस्नुपर्छ,’ भट्टले भने-तर, अटोमेसनमा जाँदा डिप टेस्ट गर्नुपर्दैन । कर्मचारी बस्नुपर्दैन ।

लोडिङवे निर्माण भएपछि पाइपलाइनबाट पहिलो पटक ५ हजार ५ सय किलोलिटर पेट्रोल आयात गरिएको निगमका अमलेखगञ्जस्थित प्रादेशिक कार्यालय प्रमुख आचार्य बताउँछन् । पेट्रोल गत असोज १७ मा आएको थियो । पेट्रोल आएपछि त्यसको सफल परीक्षण भइसकेको छ । हाल पाइपलाइनबाट डिजेलमात्र आयात हुन्छ । पुसबाट पेट्रोल पनि पाइपलाइनबाट आयात हुन्छ । पाइपलाइनबाट डिजेल ल्याएपछि बीचमा पाइपलाइन कम्प्याट्रियल केरोसेन (पीसीके) मिसाएर पेट्रोल ल्याइनेछ । पीसीके उच्च गुणस्तरको इन्धन भएकाले डिजेल पेट्रोल दुवैमा मिसाउन मिल्ने निगमले जनाएको छ ।

पाइपलाइनबाट प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडा बचत हुने तथा वातावरणीय प्रदुषण कम गर्नसमेत सहयोग पुग्ने निगमले बताएको छ । ढुवानी भाडा बचत, प्रदुषण नियन्त्रण, परिमाण र गुणस्तरको सुनिश्चितता, समयको बचतलगायत फाइदासमेत हुनेछ । नेपाल र भारतले बनाइरहेका परियोजनामा नेपालतर्फका प्रमुख प्रदीप यादबको नेतृत्वमा नेपालले बनाउने परियोजनाअन्तर्गत् अमलेखगञ्जमा ५ हजार किलोलिटरको पेट्रोल र ५ हजार किलोलिटरको डिजेल ट्यांकी बनिसकेका छन् ।

अमलेखजगञ्जमा १५ हजार १ सय १० किलोलिटर क्षमताको पेट्रोल ट्यांकी, २४ हजार ८ सय ४० किलोलिटर क्षमताको डिजेल ट्यांकी र २ हजार २ सय ६० किलोलिटर क्षमताको मट्टीतेल ट्यांकी छ । ५ सय किलोलिटर क्षमताको ट्रान्समिक्स ट्यांकी र ८ हजार ४ सय किलोलिटरको पानीट्यांकी पनि छ । अमलेखगञ्ज डिपोबाट दिनको ६ सय किलोलिटर पेट्रोल र १ हजार ५ सय किलोलिटर डिजेल बिक्री हुन्छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here