बसन्त भण्डारी
हेटौंडा/सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिका-२, भीमास्थानकी १४ वर्षीया जेनिशा क्याप्छाकीमगरले सोमबार विहान अन्य दिनभन्दा निकै फरक अनुभव गरिन् । कक्षा-९ मा अध्ययनरत् किशोरीले सामान्य विद्यार्थीको भूमिकाबाट सीधै वागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको मन्त्रीको कुर्सी सम्हालिन् ।
यो सबै सम्भव भयो ह्याण्ड्स नेपाल र प्लान इन्टरनेसनल नेपालद्वारा सञ्चालित गल्र्स स्ट्याण्डिङ स्ट्रोङ परियोजनाको पहलबाट । हेटौंडास्थित मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा किशोरी जेनिशाले मन्त्रीको पदभार ग्रहण गर्दै देशको आर्थिक समृद्धिका लागि वातावरण अनुकूल उद्योग सञ्चालन गर्ने आफ्नो योजनाबारे बताएर सबैलाई प्रभावित बनाइन् ।
जेनिशाले मन्त्रीको भूमिका निभाउँदै विदेशमा रोजगारीका लागि गएका युवालाई देशमै फर्काउन उपयुक्त वातावरण निर्माण गर्नुपर्ने आफ्नो दृष्टिकोण व्यक्त गरिन् । विद्यालय तहमा सिपमूलक शिक्षा अनिवार्य गराउनुपर्ने उनको तर्कले नीतिनिर्मातालाई सोच्न बाध्य बनायो । ॅव्यवहारिक ज्ञान र सिपशिक्षाको माध्यमबाट बेरोजगारी समस्या हल गर्न सकिन्छ,’ उनले आत्मविश्वासपूर्वक भनिन् ।
मन्त्रीको कुर्सीमा बसेकी जेनिशालाई सिन्धुलीको सुनकोसी गाउँपालिकाकी छात्रा दुर्गा श्रेष्ठले किशोरीहरुको अधिकार र स्वास्थ्य सुरक्षा सम्बन्धि मागपत्र बुझाइन् । मागपत्रमा प्रजनन् स्वास्थ्य, संकट व्यवस्थापन, गुणस्तरीय शिक्षा, छात्रवृत्ति र सुरक्षित विद्यालय वातावरणजस्ता मुद्धाहरु समेटिएका थिए ।
कार्यक्रममा वागमती प्रदेशकी वास्तविक मन्त्री सुकमाया तामाङले आफ्नो संघर्षपूणर् जीवनको सम्झना गरिन् । ॅनिरन्तर प्रयासले मात्र सफलता सम्भव छ,’ उनले भनिन् । किसान परिवारबाट मन्त्रीसम्मको यात्रामा उनले भोगेका चुनौती र अठोटका अनुभव जेनिशालगायत उपस्थित किशोरीहरुलाई प्रेरणा बने । कार्यक्रमको दौरान जेनिशासहित किशोरीहरुले मन्त्रालयका विभिन्न विभागको भ्रमण गरे । उनीहरुले महसुस गरे—शासन व्यवस्थाको केन्द्रमा बसेर निणर्य लिनु कत्तिको जिम्मेवारीपूणर् कार्य हो । यस अनुभव जेनिशाका लागिमात्र होइन, देशभरका किशोरीका लागि पनि प्रेरणादायी कथा बन्यो । यस कार्यक्रममा उठेका आवाजले किशोरीको सशक्तीकरण र अधिकारका लागि समाजलाई सोच्न बाध्य पार्नेछ ।