हेटौंडा/आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा बागमती प्रदेशमा रिक्त रहेको ७ पदमा नयाँ जनप्रतिनिधि पाएको छ । कीर्तिपुर नगरपालिकाको प्रमुखसहित दोलखाको गौरीशंखर गाउँपालिकाको उपाध्यक्ष, कीर्तिपुर नगरपालिका-१, कीर्तिपुर नगरपालिका-४, काठमाडौं महानगरपालिका-१६, ककनी गाउँपालिका-२ र मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१२ नम्बर वडाले नयाँ जनप्रतिधि पाएको हो ।
२०७९ वैशाखको स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेको ६ र माओवादीले जितेको एक स्थानगरी बागमती प्रदेशको ७ स्थानमा रिक्त रहेको पदमा सम्पन्न उपनिर्वाचनको मतपरिणाम आएको छ । २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित भएर हाल रिक्त रहेको ७ मध्ये ६ स्थानमा कांग्रेसले जितेको थियो भने माओवादीले जितेको एउटा वडामा उपनिर्वाचन भएको थियो ।
आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा बागमतीमा रिक्त रहेको ७ स्थानमध्ये कांग्रेसले ४, माओवादीले १, एमालेले १ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक स्थानमा जित हासिल गरेको छ ।
जसमा कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान मानन्धर विजयी भएका छन् । उनले ५ हजार ५०६ मत ल्याउँदै विजयी भएका हुन् । यस्तै, माओवादीका शिवशरण महर्जनले ५ हजार ६७ मत पाएका छन् । एमालेका सुरेन्द्रले ४ हजार ३२६ मत मात्र पाए । २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसकै राजकुमार नकर्मी विजयी भएका थिए । तर उनको १० साउन २०८१ मा मिर्गौलासम्बन्धी रोगका कारण निधन भएको थियो ।
यता, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी उमा मगर शेर्पा विजयी भएकी छिन् । उनले २ हजार ८०५ मत प्राप्त गर्दै विजयी भएकी हुन् भने नेकपा माओवादी केन्द्रकी निमलेकी शेर्पा २ हजार ६ सय मत प्राप्त गरेकी हुन् । नेपाली कांग्रेसकी उम्मेदवार पासदिकी तामाङ शेर्पाको पक्षमा १ हजार ७ सय २७ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कीर्तिपुर नगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए । निर्वाचन कांग्रेस उम्मेदवार इच्छाकुमार महर्जन ५ सय ६२ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार हर्ष महर्जनले ४ सय ९८ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार सरल गोपाल महर्जनले १ सय ७३ मत ल्याएका थिए । २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसकै हिरालाल महर्जन विजयी भएका थिए । उनको २४ फाल्गुन २०८० मा निधन भएको हो ।
यस्तै, कीर्तिपुर नगरपालिका-४ को अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र बानियाँ विजयी भएका छन् । गत स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार श्याम सुन्दर अधिकारी निर्वाचित भएका थिए । उनको सवारी दुर्घटनामा मृत्यु भएपछि रिक्त
रहेको वडाअध्यक्ष पदमा भएको उपनिर्वाचनमा कांग्रेसका बानियाँले ७ सय ४२ मत ल्याएर विजयी भएको निर्वाचन आयोगले जनाएको छ । उनको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीले ४ सय ९५ मत ल्याएकी थिइन् ।
यस्तै, काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हात पारेको छ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ २ हजार ९ सय २ मतसहित विजयी भएकी हुन् ।
दोस्रो स्थानमा रहेका एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत प्राप्त गरे । त्यस्तै २ हजार २ सय १४ मतसहित कांग्रेसका देवेन्द्र पाठक तेस्रो स्थानमा रहे । यस अघिको निर्वाचनमा यस वडामा कांग्रेसका मुकुन्द रिजाल विजयी भएका थिए । उनको २१ भदौ २०८० मा निधन भएको थियो । डेंगु संक्रमणपछि निमोनिया भएका अध्यक्ष रिजालको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यता, नुवाकोटको ककनी गाउँपालिका-२ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका कृष्ण घिमिरे (मिलन) निर्वाचित भएका छन् । घिमिरे एक हजार ८५ मत प्राप्त गर्दै विजयी भएको निर्वाचन आयोगले जनाएको छ । घिमिरेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्य जिम्बा तामाङले पा“च सय ८७ मत प्राप्त गरेका छ । २०७९ वैशाखको
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तिलकबहादुर लामा विजयी भएका थिए ।
२०७९ को स्थानीय तह निर्वाचनमा माओवादीले जितेको हेटौंडा उपमहानगरपालिका-१२ मा कांग्रेसका अर्जुज तिवारी विजयी भए । आइतबार भएको उपनिर्वाचनमा वडाअध्यक्षमा
तिवारी २ हजार ६३ मत ल्याएर विजयी भएका हुन् । २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा वडाअध्यक्ष पदमा हार व्यहोरेका तिवारी तेस्रो पटकको प्रयासमा विजयी भएका हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रका ललितबहादुर घलानले थोरै मतान्तरले हराएका तिवारी २०७९ मा पनि आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।
सो निर्वाचनमा पनि माओवादीकै घलान १६ मतान्तरले विजयी भएका हुन् । माओवादी केन्द्रबाट रवीन प्रधान चुनावी मैदानमा उत्रिएका थिए । उनले १ हजार ५६० मत ल्याएर दोस्रो भए भने एमालेका राजेश नगरकोटीले १ हजार ३९८ मत प्राप्त गर्दै तेस्रो भए ।









