27.9 C
Makwānpur
Homeमुख्य समाचारजहाँ मासुभातको खुशी चल्छ एक साता

जहाँ मासुभातको खुशी चल्छ एक साता

मञ्जिता मैनाली

हेटौंडा/हेटौंडा-१९ स्थित लेखपानीमा रहेको जीवनज्योति आधारभुत विद्यालयका बालबालिकालाई खाजामा मासुभात, जाउलो र रोटी मिलाएर खुवाउने गरिएको छ ।

शुक्रबार धेरै बालबालिका विद्यालय आउने कारण मासुभात राखिएको र मासुभात खानका लागि सबै बालबालिका विद्यालय आउने गरेका छन् । भात खान पाएपछि बच्चाहरु धेरै खुशी हुँदै मासुभात खाएको खुशी हप्ता दिनसम्म व्यक्त गर्ने गर्छन् । उक्त विद्यालय जहाँ शिक्षा लिनु भन्दा भोको पेट भर्ने आशमै बालबालिका एक घण्टा हिँडेर विद्यालय आउने गर्छन् ।

जीवनज्योति विद्यालयमा ५ कक्षासम्ममात्र पढाइ हुन्छ । साना बालबालिका भोको पेट भर्नकै लागि दिनहुँ विद्यालय आउने गर्छन् । उक्त वडा बालमैत्री घोषणा भइसकेको छ । वडा बालमैत्री घोषणा भए पनि कार्यान्वयनको पक्षमा भने नभएको र कागजमा सीमित बालमैत्री घोषणालाई कार्यान्वयनमा ल्याउने गरी काम गर्नु आवश्यक रहेको प्रधानाध्यापक कुमारसिं गोलेको भनाइ छ । केही हदसम्म भने सुधार भएको उनले बताएका छन् ।

तामाङ समुदाय रहेको लेखपानीमा एउटामात्र विद्यालय छ । २०५९ सालमा स्थापना भएको विद्यालयमा हाल ४१ बालबालिकाले अध्ययन गरिरहेको विद्यालयका प्रधानाध्यापक गोलेले बताए । अभिभावक विहान मेलापात हिँड्ने कारण बालबालिकाहरु भोकै विद्यालय आउँछन् । उक्त ठाउँमा १२ बजेसम्म कसैको घरमा खाना नपाक्ने कारण बालबालिकाहरु भोकै विद्यालय आउने गरेको प्रधानाध्यापक गोलेको भनाइ छ । बालबालिका विद्यालय आएपछि भोको पेटका कारण कोही झोक्राएर बस्छन् त कोही रुन थाल्छन् । ‘आर्थिक अवस्था कमजोर भएको र भोको पेट विद्यालय पढ्न विद्यार्थी आउने गरेका कारण राम्रो शिक्षा लिन र दिनसमेत नसकिएको बताउँदै बालबालिकालाई पेटभर खुवाउन महिनाको ३ बोरा चामलको व्यवस्था भइदिए बच्चा भोको पेट पढ्नुपर्दैन थियो,’ उनले भने ।

प्रधानाध्यापक भन्छन्-बच्चाहरुका लागि छुट्याएको खाजाखर्चले पुर्‍याउन मुस्किल पर्छ । तर, भोको पेटमा बालबालिकालाई राम्रो शिक्षा दिन नसक्ने कारण विद्यालय आउनेबित्तिकै खाना खान दिएरमात्र पढाउन सुरु गर्ने गरेका छौं । अरु विद्यालयमा जस्तो टन्न पेट भरिएर विद्यालयमा कहिले बालबालिका आउँदैनन् । अभिभावकको आयस्रोत नभएका कारण बालबालिकाहरुले पेटभरि खान समस्या रहेको उनी बताउँछन् ।

विद्यालयमात्र नभइ गाउँमै खानेपानीको निकै ठूलो समस्या छ । ठाउँको नाम लेखपानी भए पनि पानीको निकै अभाव छ । विद्यालयका लागि खानेपानीको पनि निकै समस्या छ । ५ किलोमिटर पर एउटा इनार छ, त्यही इनारबाट गाग्रोमा भरेर पानी ल्याउनुपर्छ । बाटोमा अलिकति खुट्टा खुस्कियो भने ज्यान जोगाउन मुस्किल पर्छ ।

जीवनज्योति विद्यालयमा ५ सम्म पढाइ हुने कारण ५ पछि लगभग ७० प्रतिशत् बच्चाले पढाइ छाड्ने गरेका छन् । बालबालिकाको पढाइ राम्रो हँुदाहँुदै पनि कति बालबालिकाले घरको आर्थिक अवस्थाका कारण लेवट बजारसम्म आएर पढ्न सक्दैनन् । ३० प्रतिशत् बालबालिका घरपरिवार अलि शिक्षित भएका कारण लेवट बजारसम्म ल्याइ पढाउने गरेका छन् । बाँकी बालबालिकाले १५/१६ वर्ष उमेरमा भागेर विवाह गर्ने गरेका छन् भने अभिभावकले पनि सहमति जनाउने गरेका छन् । कति अभिभावकले ५ सम्म पढेर अक्षर चिने पुग्छसमेत भन्ने गरेका छन् ।

विद्यालयमा पर्खाल लगाउने काम सुरु भएको छ । विद्यालयनजिक चारैतिर जंगल र ठूलो भिर भएका कारण बालबालिका लडेर हात भाँच्चिने र घाइते हुने गरेको समाचार प्रकाशन भएपछि वागमती प्रदेश सरकारले ८ लाख बजेट बिनियोजन गरेसँगै पर्खाल लाउने काम अगाडि बढेको हो । नगरपालिकाभित्रकै विद्यालय भए पनि लेखपानी र उक्त स्थानमा रहेको विद्यालय सबैतिरबाट पिछडिएको प्रधानाध्यापक गोलेले बताए ।

‘प्रदेश सरकारले ८ लाख बजेट परेर विद्यालयवरिपरि पर्खाल लाउने काम भइरहेको छ भने अझै मुलगेट बनाउन र विद्यालयदेखि १५ मिटर पूर्व १५ मिटर घेराबारको काममा बजेट अपुग भनेको भन्दै सम्बन्धित निकायबाट त्यसतर्फसमेत ध्यानाकर्षण भइदिए सहज हुने थियो,’ उनले भने । केही महिनाअघि विभिन्न संघसंस्था तथा सञ्चारकर्मीको समाचार सम्प्रेषण तथा पहलमा उक्त बजेट परेर पर्खाल लगाउने काम केही दिनदेखि सुरु भइरहेको
छ ।

शौचालयका लागि पानी अभाव भएको मिडियामै आएपश्चात् हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाको पहलमा ५ हजार लिटरका २ ट्यांकी उपलब्ध भएको उनले बताए । उक्त ट्यांकीमा बर्खामा परेको पानी थापेर जम्मा गरी हिउँदमा प्रयोग गर्ने गरेको उनले बताए । बालबालिकालाई भन्दा पनि लेखपानीका अभिभावकमा चेतनाको विकास गर्नुपर्ने अवस्था रहेको बताउँदै चेतनामूलक कार्यक्रम ल्याउन पाए केही परिवर्तन हुन्थ्यो कि भन्ने लागेको प्रधानाध्यापक गोले बताउँछन् । विद्यार्थीका लागि जाडोमा न्यानो कपडाका साथै विद्यालय पोशाकको समेत अभाव रहेको उनले बताए । वडामा बालमत्री सहजकर्ता खटाइएको छ । ती सहजकर्ता बजारमा मात्र सीमित छन् । हेटौंडा उपमहानगरपालिका-१९ नम्बर वडा अध्यक्ष नवराज सुबेदी भन्छन्-बजेट नपुगेको भए खबर आउला । खबर आइपुगेको छैन । बाकी काम अरु केही हुँदैन, अहिले भएको पनि छैन ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here