20 C
Makwānpur
Homeमुख्य समाचारचर्को ध्वनिले गुम्ला है स्रवणशक्ति

चर्को ध्वनिले गुम्ला है स्रवणशक्ति

मनिता राना

हेटौंडा/पछिल्लो समय हेटौंडामा ध्वनि प्रदुषण उच्च देखिएको छ । यस्तोमा हाल बढिरहेको प्रदुषणले बालबालिकाको स्वास्थ्यमा समस्या निम्तिन सक्छ । ध्वनि प्रदुषण यस्तो समस्या हो, जसले स्वास्थ्यमा विस्तारै हानि पुर्‍याउँछ । ध्वनि प्रदुषणका कारण हरेक वर्ष हजारौं मानिसले स्रवणक्षमता गुमाउने गरेका छन् । कानले आवाजको निश्चित तीव्रतामात्र सुन्नसक्छ । चर्को आवाजले कानलाई हानि पुर्‍याउँछ ।

ट्राफिक कोलाहल र हृदयघातबीचको सम्बन्ध छ । ट्राफिक कोलाहलले स्ट्रोक, मधुमेह र मुटुसँग सम्बन्धित धेरै रोगको जोखिम बढाउँछ । चर्को आवाजलाई मुटुरोगको जोखिम कारक पनि मानिएको छ । अधिक कोलाहलका कारण मानिसलाई राति निद्रा लाग्दैन र यसले गर्दा तनाव र बेचैनीको समस्या पनि हुन्छ । पछिल्ला केही वर्षयता मुटुरोगीको संख्या तीव्ररुपमा बढेको छ । विशेषगरि युवाहरु हृदयघातको शिकार भइरहेका छन् र ध्वनि प्रदुषण पनि यसको प्रमुख कारण हो ।

भर्खर जर्नल सर्कुलेसन रिसर्चमा प्रकाशित एक अध्ययनले ट्राफिक कोलाहल र हृदयघातबीच सम्बन्ध पत्ता लगाएको छ । अन्तर्राष्ट्रिय अन्वेषकहरुको टोलीले ठूलो मात्रामा तथ्यांकको विश्लेषण गरी ट्राफिक कोलाहलले स्ट्रोक, मधुमेह र अन्य मुटुसम्बन्धि रोग हुने सम्भावना बढाएको पत्ता लगाएका छन् ।

अनुसन्धानले सडक ट्राफिक कोलाहलमा प्रत्येक १० प्रतिशत्ले वृद्धिमा हृदयरोगको जोखिम ३.२ प्रतिशत्ले बढ्ने देखाएको छ । राति ट्राफिकको आवाजले निद्रामा बाधा पुर्‍याउँछ । यस्तो अवस्थामा निद्रा नपुग्दा रक्तनलीमा तनाव हर्मोनको स्तर बढ्छ, उच्च रक्तचाप र रक्तनलीसँग सम्बन्धित रोगको जोखिम बढाउँछ । जर्मनीको युनिभर्सिटी मेडिकल सेन्टर अफ मेन्जका वरिष्ठ प्रोफेसर र अध्ययनका प्रमुख लेखक थोमस मुञ्जेल भन्छन्-ट्राफिक आवाजलाई हृदयरोगको जोखिम कारकका रुपमा मान्यता दिनु महत्वपूणर् छ । यस्तो अवस्थामा ट्राफिक कोलाहल कम गर्ने उपाय अपनाउनु अति जरुरी हुन्छ । ध्वनि प्रदुषण बढ्नुमा धेरै कारण हुनसक्छन्, जसलाई कम गर्ने उपाय खोज्नुपर्छ ।

हेटौंडामा बढ्दै गएको ध्वनि प्रदुषण मानिस र वातावरण दुवैका लागि हानिकारक रहेको भन्दै नियन्त्रणको माग गर्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरिएको छ । हाल हेटौंडामा केही मोटरसाइकलद्वारा व्यापक ध्वनि प्रदुषण भइरहेको जनगुनासो छ । मोटरसाइकलको साइलेन्सर परिवर्तन, प्वाल पारेर अनावश्यकरुपमा उच्च ध्वनि निकाल्दै जनमानसमा प्रत्यक्ष असर पार्ने कार्य बढ्दै गएको छ । जसबाट स्वस्थ्य बालबलिका, पर्यावरण, जीवजन्तु र सामजिक शान्तिमा नकारात्मक असर पुर्‍याइरहेको भन्दै नियन्त्रण माग गरिएको हो ।

यसको असर छोटो अवधि र दीर्घकालीन दुवै प्रकारका हुन्छन् । ध्वनि प्रदुषण यस्तो समस्या हो, जसले स्वास्थ्यमा असर पुर्‍याउँदछ । ध्वनि प्रदुषणका कारण मानिसहरुले स्रवणक्षमता गुमाउने गरेका छन् । मानिसको कानले आवाजको निश्चित तीव्रतामात्र सुन्नसक्छ । तर, चर्को आवाजले कानलाई प्रत्यक्ष असर पुर्‍याउने गर्दछ । यस सम्बन्धमा मकवानपुरमा ध्वनि प्रदुषण न्यून गर्ने सम्बन्धमा मंगलबार जिल्ला प्रशासन कार्यालयलाई सेवा, सहयोग र आवाजमा हामी हेटौंडा मकवानपुरले ध्यानकर्षण गराएको छ ।

ध्वनि प्रदुषणसम्बन्धि उठाएका कुरा निकै महत्वपूणर् भएको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए । ‘ध्वनि प्रदुषणका विषयमा हाम्रो पनि ध्यानाकर्षण भएको छ,’ प्रमुख जिल्ला अधिकारी चिलुवालले भने । सडकमा मोटरसाइकलमात्र नभइ ठूला गाडीका सन्दर्भमा पनि उनीहरुले निकाल्ने आवाज न्यून गर्न कानुनसम्बद्धरुपमा छिटै बैठक राखी छलफल गरिने उनले बताए । ‘हामी सरोकारवालाहरु यातायात निकायलगायत ध्वनिसँग सम्बन्धित सबैसँग छलफल गरी अगाडि बढ्नेछौं,’ उनले ध्वनि प्रदुषण गर्ने व्यक्तिहरुलाई कानुनी प्रक्रियागत्रुपमा कारबाहीसमेत गरिने उनले बताए ।

क्षयरोगसम्बन्धि अध्ययन/अनुसन्धान गरेबापत् सन् १९०५ मा आयुर्विज्ञान क्षेत्रको नोबल पुरस्कार पाएका रबर्ट कोचले सन् १९१० मा ध्वनि प्रदुषण भविष्यमा हैजा भन्दा पनि जटिल समस्या भएर आउने घोषणा गरे । हैजा आतंकका कारण लाखौं मानिस मारिने तत्कालीन समयमा आवाज प्रदुषणले महामारीको रुप लिन्छ भन्ने डा. कोचको भनाइलाई गहकिलो सन्देश ठानिएन । बरु महावैज्ञानिक सन्किए भन्नेसम्मको आरोप लाग्यो । आउँदा वर्षहरुमा जीवनका प्रत्येक क्षेत्रमा मेसिनको प्रयोग हुने अनि इञ्जिन चल्दा निस्कने आवाज थेगिनसक्ने अवस्थामा पुग्ने प्राध्यापक कोचको भविष्यवाणीलाई तत्कालीन समाजले बुझ्न सकेन ।

‘पछिल्लो शताब्दीको तीव्र औद्योगिकीकरण अनि गाडी, हवाईजहाज, रेल जस्ता सवारीसाधनको बढ्दो चाप तथा झिनामसिना कामका लागिसमेत मसिन प्रयोग गर्ने संस्कृतिले विश्वभरि नै ध्वनि प्रदुषण बढ्यो,’ संस्था अध्यक्ष विशालराज महत भन्छन्-विगतमा चराको गीत तथा जंगली जनावरको स्वरमात्र सुनिने गाउँमा हाल डोजर, गाडी तथा प्लेनका आवाजलाई सामान्य मान्ने अवस्था आयो । अप्राकृतिकरुपले ध्वनि शक्ति आकाशिँदा धेरै किसिमका समस्या देखिए । ‘स्वरको संवेदनताका लागि कानको प्रयोग हुने भएकाले ध्वनि प्रदुषणको असर ज्ञानेन्द्रिय कणर् भन्दा पर नपुग्ने धेरैको सोच हुनु अन्यथा होइन । तर, आवधिक अनुसन्धानले साउन्ड पोलुसनको असर स्रवणशक्ति भन्दा निकै पर पुगेको देखाएको छ,’ उनले भने ।

संयुक्त राज्य अमेरिकाको न्यासनल इन्स्टिच्युट अफ डेफनेसका अनुसार ७० डेसिबल वा त्यस भन्दा तलको आवाज हाम्रो कानका लागि उत्तम हुन्छ । सामान्य वार्तालापका आवाज ६० देखि ७० डेसिबल हाराहारीमा हुन्छ । लगातार वा आवधिकरुपमा सुनिने ८५ डेसिबल भन्दा अधिक चर्को आवाजले स्रवणशक्तिलाई शिथिलमात्र नबनाउने बरु विभिन्न स्वास्थ्य समस्या देखाउने भन्छ वैज्ञानिक तथ्यांकले ।

४ करोड मानिसलाई केन्द्रमा राखी गरिएको एक दशक लामो अध्ययनले सालाखाला ३५ डेसिबलको कम्पनमा बस्ने नागरिक भन्दा प्रत्येक १० डेसिबल उच्च आवाजमा जीवनयापन गर्ने व्यक्ति मुटुसम्बन्धि रोगले मर्ने सम्भाव्यता झण्डै ३ प्रतिशत्ले बढ्ने देखाएको छ । मरण सम्भाव्यता ध्वनि प्रदुषणको ग्राफसँगै उकाशिँदै जान्छ भन्ने उक्त अध्ययनको सार देखिएको छ ।

सवारीको आवाजले ध्वनि प्रदुषणमा पार्ने नकारात्मक प्रभावलाई मध्यनजर राख्दै विश्व स्वास्थ्य संगठनले रोड ट्राफिकको ध्वनि ५३ डेसिबल भन्दा अधिक हँुदा नकारात्मक स्वास्थ्य परिणाम आउने भएकाले नेपाललाई तद्अनुरुप कानुनी व्यवस्था गर्न निर्देशन दिएको छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here